आगलागीको त्रास

70
Shares

काठमाडौं ।

यतिखेर सुख्खा र हावाहुरी चल्ने मौसम हो। त्यसैले देशभर आगलागीका घटना वृद्धि हुन थालेका छन्। आगलागीका घटना न्यूनीकरण गर्ने पूर्वयोजना र आगलागीपश्चात् पनि तत्काल नियन्त्रणको पूर्वतयारी नहुँदा यस्ता घटनाबाट धेरै क्षति हुने गरेको बताइन्छ।

पछिल्लो समयको कुरा गर्ने हो भने सोमबार सशस्त्र प्रहरी बलको साइट गोदाम हलचोकमा भीषण आगलागी हुँदा करोडौंको सामान जलेर नष्ट भएको छ। विभिन्न निकायसँग समन्वय गर्दा पनि सो आगो नियन्त्रण गर्न आठवटा दमकललाई ४ घण्टाभन्दा बढी समय लागेको थियो । सशस्त्र प्रहरी बलका लागि चाहिने पोशाक, विपद् व्यवस्थापनका सामान, भीड नियन्त्रणका लागि प्रयोग गरिने सामग्रीलगायतका सामान त्यहाँ राखिएको थियो । त्यसैले अब तत्काल त्यस्ता सामान आवश्यक परेमा कसरी व्यवस्थापन गर्ने भन्ने सवाल महत्वपूर्ण बनेको छ।

यसै गरी महोत्तरीको मटिहानी बजारमा सञ्चालित भरत फर्निचर उद्योगमा सोमबार राति १० बजे आगलागी हुँदा ३५ लाख रुपियाँभन्दा बढीको धनमाल नष्ट भएको समाचार छ। सो आगलागीबाट तयारी फर्निचर र फर्निचर उद्योगका लागि राखिएका कच्चा पदार्थको क्षति भएको छ। यस्तै रौतहटको ईशनाथ नगरपालिकास्थित मंसरी टोलमा आइतबार राति भएको आगलागीबाट तीन घर–गोठ जलेर नष्ट भएको छ।

सो आगलागीमा परी सातवटा चौपाया मर्नुका साथै घरको सम्पूर्ण सामान जलेर नष्ट भएको खबर छ। यी त प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता घटना हिउँदको याममा प्रशस्त हुने गरेको गतवर्षहरुको अनुभव छ । त्यसैले घटना भएपछि पछुताउनुभन्दा बेलैमा पूर्वसावधानी अपनाउनु बेस हुन्छ । आवश्यक साधन–स्रोत र चेतनाको अभावले पनि चाँडै आगो नियन्त्रण गर्न नसक्दा आगलागीबाट बढी क्षति हुने गरेको छ ।

चैत–वैशाख महिना हावाहुरीको मौसम भएकाले पनि आगलागीले थप सम्भावित जोखिम बढाएको छ । यस मौसममा प्रायः ग्रामीण भेगमा आगलागीका घटना बढी हुने गरेको पाइन्छ । वनक्षेत्रमा बढ्दो आगलागीले वन पैदावरसँगै बहुमूल्य जडीबुटी, पशुपक्षीहरुमा समेत ठूलो असर पर्ने हुन्छ।

शहरी क्षेत्रमा धेरैजसो विद्युतीय सामग्री एवम् खाना पकाउने ग्यासको प्रयोगमा हुने असावधानीले आगलागी हुने गरेको देखिन्छ । साथै हिटर, इन्डक्सन चुलोलगायतका विद्युतीय सामग्री सही तरिकाले प्रयोग गर्न नजान्दा, खाना पकाइसकेपछि राम्ररी आगो ननिभाउँदा र कोठामा इन्धन सञ्चित गर्दा पनि आगलागीका घटना बढेको पाइन्छ।

यस मौसममा चल्ने हावाहुरीका कारण सामान्य आगोले पनि भयावह रुप लिन सक्छ। अतः आगलागी न्यूनीकरण र यसको नियन्त्रणका लागि सम्बन्धित पक्ष बेलैमा सचेत हुनु जरुरी छ।

आगो नियन्त्रण गर्ने स्रोत–साधनको व्यवस्थापनसहित सतर्कता अपनाउनु अहिलेको आवश्यकता हो। आगलागी हुन नदिने पूर्वयोजना अवलम्बन गर्नुका साथै आगलागी भइहाल्यो भने पनि नियन्त्रणका लागि तयारी अवस्थामा रहनु अपरिहार्य छ।