यस्तो छ कर्णालीका मुख्यमन्त्री  कँडेलको  राजनीतिक पृष्ठभूमि



सुर्खेत ।

  कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबार  एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भए  । प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यस अघि आजै नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको थियो ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५: ५० बजेभित्र समय दिएका थिए ।

राजनीतिक पृष्ठभूमि

२५ कार्तिक २०१८ सालमा दैलेखको साबिक सेरी गाविसमा बुवा मनिराम कँडेल र आमा भगीरथी कँडेलको कोखबाट जन्मिएका कँडेल राजनीतिमा आउनु पूर्व शिक्षक थिए।

२०३६ सालमा सुर्खेतको दशरथपुरमा किसान आन्दोलनको साक्षी थिए कँडेल। चारजनाले सहादत प्राप्त गरेको उक्त आन्दोलनमा सहभागी भएर कँडेलको राजनीतिक यात्रा शुरु भएको थियो। उनी त्यति वेला शिखर मावि दशरथपुरमा शिक्षक थिए।

उनी २०४० सालमा काठमाडौँस्थित शंकरदेव क्याम्पसमा अनेरास्ववियूका स्ववियू सभापतिका उम्मेदवार थिए। उनी २०४०-२०४६ सम्म पार्टीको काठमाडौँ उपत्यकाको विद्यार्थी राजनीतिमा संलग्न थिए। २०४२-४३ सालमा झण्डै ९ महिना कँडेलले बन्दी जीवन बिताएका थिए।

उनी २०४९ सालमा एमाले सुर्खेत जिल्लाका सचिव बने र सोही वर्ष वीरेन्द्रनगरको मेयर निर्वाचित भए। २०५१ सालमा मेयरबाट राजीनामा दिई मध्यावधि निर्वाचन लडेका उनी सांसद बने।

२०५१ सालमा एमालेको भेरी अञ्चल सचिव भएका कँडेल २०५४ सालमा नेकपा मालेमा आबद्ध भएका थिए। माले पार्टीमा आबद्ध भएलगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कँडेल पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने।

२०६४ मा उनी एमालेका तर्फबाट सुर्खेत २ बाट संविधानसभा सदस्य निर्वाचित भए। यस्तै २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा सुर्खेत २ (क) बाट प्रत्यक्ष निर्वाचित भए।

कँडेल केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७८ मा पार्टीको दशौँ महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य छन्। कँडेल व्यवस्थापन विषयमा स्नातकोत्तर हुन्।

प्रतिक्रिया दिनुहोस्