हेटौँडाको गुन्द्रुकलाई सरकारी गुणस्तर



हेटौंडा ।

 हेटौंडामा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यताप्राप्त गरेको छ । हेटौंडा–१२, घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघुउद्यम उद्योगले उत्पादन थालेको अर्ग्यानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यताप्राप्त गरेको हो ।

लघुउद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको सोमबार उपमहानगरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तर मान्यताप्राप्त गरेको छ ।

मान्यताप्राप्त गरेसंगै  मकवानपुरभित्र र बाहिरी शहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब ४ महिना लामो परीक्षण र निगरानीपश्चात् खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको उपमहानगर उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।

उपमहानगरपालिकाको १ लाख रुपियाँ  सहयोगबाट अर्ग्यानिक साग उत्पादन गरी बनाइएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृति पाउँदा  निकै खुसी लागेको उद्यमी समूह अध्यक्ष चिनीमाया गुरुङले बताइन् ।

‘गाउँमा आयआर्जनका लागि प्रतीक्षामा बसेका हामीलाई उपमहानगरले कामका लागि दिएको हौसलाले हालको अवस्था आएको हो,’ उनले भनिन् –कामका लागि लगानी गरिदिने नगर प्रमुखले भनेपछि गुन्द्रुकको काम थालेका हौं । नगरको सहयोग र सहकारीको ८० हजार रुपियाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाएर गुन्द्रुक उत्पादनमा लागेको उनले जानकारी दिइन् ।अनुज्ञापत्र नहुँदा  बजारमा लैजान नपाएर करिब ३ लाख रुपियाँ बराबरको गुन्द्रुक घरमै राखिएको उनको गुनासो छ । ‘अब बजारीकरणको बाटो खुलेको छ । समूहमा रहेका १२ जनाले गरेको कामले सार्थकता पाउने छ,’ उहाँ खुसी हुनुहुन्छ । असोजमा कामका लागि सम्झौता गरेसंगै  समूहले मङ्सिरबाट गुन्द्रुक उत्पादन थालेको थियो । उद्योग शाखाको तथ्यांकअनुसार उपमहानगरले ८ सय भन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिए पनि हाल २ सय ६८ जना उद्यममा जोडिएका छन् ।

हेटौंडामा उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख मीनाकुमारी लामाले बताइन्  । उद्यमी समूहलाई अनुज्ञापत्र हस्तान्तरण गर्दै उनले हेटौंडा बजारसहित सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन ।

उनले पहिलो चरणमा हेटौंडामा रहेका साना तथा ठूला होटलमा यहाँको उत्पादन प्रयोग गर्न पहल गरी बाह्य जिल्लामा बिक्रीका लागि पनि पहल गरिने विश्वास दिलाइन् । उपमहानगरपालिकाले लगानी गरेर धेरै तालिम तथा अन्तत्र्रिmया गरे पनि सानो लगानीले यहाँका महिलालाई उद्यमी बनाउन मद्धत पुगेको भन्दै उनले उपमहानगरको लगानीमा हेटौंडामा सञ्चालन भएको कोसेली घरमार्फत स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरिरहेको बताइन् ।

स्थानीय उत्पादन बजारीकरण गर्ने तयारीअनुसार नगर प्रमुख लामाले मकवानपुरका होटल व्यवसायीसँग  छलफल गरेका छन्  । छलफलमा होटल व्यवसायी संघ मकवानपुर अध्यक्ष दिलिशगोबिन्द जोशीले मासिक १ हजार २ सय किलो गुन्द्रुक जिल्लामा खपत हुने गरेको बताए । उनले  बाह्य ठाउँबाट आयात गरिएका गुन्द्रुक भन्दा यहाँको उत्पादन प्रयोगको पहल गरिने प्रतिबद्धता जनाए ।

‘प्रयोगका लागि गुणस्तरको कुरा हो । सरकारी मान्यताप्राप्त भएपछि प्रयोगमा समस्या छैन । सस्थागतरुपमै नगरको उत्पादन प्रयोगमा पहल गरिनेछ,’ उनले भने । यहाँ  उत्पादन भएका सामग्री होटलको मेन्युमा राखेर बिक्री गर्न समस्या नभएको भन्दै उनले संघको बैठकबाट निर्णय गरेर अघि बढ्न तयार रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्