विद्युतीय सुरक्षा प्राधिकरणको पहिलो प्राथमिकता

नांगो तार र काठको पोल पूर्ण रुपमा हटाइँदै



काठमाडौं। 

नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर नांगो तारको प्रयोग पूर्ण रुपमा हटाएको र जोखिमपूर्ण अवस्थामा रहेका जीर्ण पोल, तार र प्रसारण लाइनलाई क्रमशः हटाउँदै लगेको बताएको छ ।

चैत २६ गते विद्युतीय सुरक्षा दिवस मनाउन सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स एसोसियसन नेपाल (सीन) ले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नांगो तारलाई पूर्ण रुपमा हटाएर प्राधिकरणले अहिले कभर कन्डक्टरहरु मात्र प्रयोगमा ल्याइएको जानकारी दिए । उनले भने–“नागो तार हटाउन झन्डै डेढ गुणा ठूलो लगानी लागेको छ । तर हामीले सुरक्षालाई प्राथमिकतामा राखेका छौँ ।”

प्राधिकरणभित्र एउटा छुट्टै सुरक्षा व्यवस्थापन विभागको गठन पनि गरिएको जानकारी दिँदै उनले भने –“गाउँगाउँमा नांगो तार र काठको पोल हटाउने कामलाई हामीले प्राथमिकतामा राखेका छौँ । पहिला पहिला हरेक गाउँका जनप्रतिनिधिले विद्युत् लाइनका लागि दबाब दिने गर्थे तर अब उहाँहरुले पनि नांगो तार र काठको पोल हटाउन दबाब दिन थाल्नुभएको छ । यो विद्युतीय सुरक्षामा आएको जनचेतनाले गर्दा नै भएको हो । हामीले अहिले विद्युत् वितरण प्रणालीमा कार्यरत जनशक्तिका साथै उपभोक्ताहरुलाई पनि विद्युतीय सुरक्षाको महत्व बुझाउन, सुरक्षात्मक उपकरणको प्रयोग गर्न, गुणस्तरिय केवलहरुको प्रयोग गर्न र विद्युतीय दुर्घटनाबाट बच्ने उपायहरुका बारेमा जनचेतना जगाउने कार्य पनि गर्दै आएका छौँ । यसमा सीनको भूमिका पनि निकै महत्त्वपूर्ण रहेको छ ।”

यसअघि नै प्राधिकरणले विद्युतीय सुरक्षा मापदण्डको पालनामा कडाइ गर्दै विद्युतको पोलमा चढ्ने कर्मचारी तथा विद्युत् मर्मतसम्भारमा अग्रपंतिमा खटिने कर्मचारीहरुका लागि हेलमेट, पोशाकलगायत सुरक्षा उपकरणहरुको प्रयोग अनिवार्य गरिसकेको छ । त्यसैगरी शहरी क्षेत्रमा विद्युत् तारहरुलाई भूमिगत गर्ने कार्य पनि भइरहेको छ।

कार्यक्रममा सीनका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले विद्युतीय दुर्घटना हुन नदिन भवन निर्माणमा पनि राष्ट्रिय इलेक्ट्रिक कोड लागु गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय इलेक्ट्रिक कोड निर्माणमा प्राधिकरणलाई सघाउन सीन तत्पर रहेको बताए ।

सीनका उपाध्यक्ष ई. तीर्थमान शाक्यले विद्युतीय सुरक्षा मापदण्डहरु कडाईका साथ पालना हुन नसकेका कारण अझै पनि थुप्रै विद्युतीय दुर्घटनाहरु हुने गरेको जिकिर गर्दै सुरक्षा मापदण्ड पालनामा कडाइ गर्नुका साथै जनचेतना अभिबृद्धिमा पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । उनले विद्युतीय सुरक्षा व्यवस्थापन विभाग प्राधिकरणको केन्द्रिय कार्यालयमा मात्रै नभई प्रत्येक प्रदेश कार्यालयहरुमा पनि राखिनुपर्ने धारणा पनि व्यक्त गरे ।

कार्यक्रममा प्राधिकरणका एसिस्टेन्ट म्यानेजर जयनन्द झाले ‘व्यवसायिक सुरक्षा र स्वास्थ्य’ दीगो कम्पनीका इलेक्ट्रिकल म्यानेजर गौरबराज पाण्डेले ;इभी र चार्जरहरुको सुरक्षित’ प्रयोगबारे कार्यपत्र प्रस्तुत गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्