घण्टी बन्यो ठूला दलको चुनौती



 इलाम ।

उपनिर्वाचन नजिकिँदै जाँदा इलामको माहोल निकै तातिन थालेको छ। आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदै छ। संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचनका लागि विभिन्न पार्टीबाट उठेका उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्।

विशेष गरेर अहिले उम्मेदवारी घोषणा गरेका नेता र दलका कार्यकर्ताले चुनावी माहोललाई बढाएका छन्। केही ठूला दलले उम्मेदवारी घोषणा गर्न बाँकी रहँदा उम्मेदवारी घोषणा गरेका उम्मेदवार भने मतदाताको घरदैलोमा पुग्न थालिसकेका छन्। अहिलेसम्म उम्मेदवारी घोषणा गरेकाहरु ऋधिकांश युवा छन्।

उम्मेदवार टुंगो लागिसकेका नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रको मतदातासमक्ष घरदैलोमा पुग्न थालेका हुन्।

एमालेले स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ भने रास्वपाले मिलन लिम्बु, राप्रपाले लक्ष्मी गुरुङ र नेकपा एसले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ। नेता सुवासचन्द्र नेम्वाङको निधनपछि सोही विरासत थाम्न भन्दै एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार बनाएको हो।

एमालेले उनलाई उम्मेदवार बनाएपछि पार्टीका कतिपय नेता/कार्यकर्ताले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पनि जनाएका थिए। पार्टीभित्रै असन्तुष्टि व्यक्त हुन थालेपछि उनलाई बुबाको विरासत जोगाउन निकै हम्मे पर्ने देखिएको कतिपयको बुझाइ छ।

माओवादी राजनीतिबाट उदाएका तथा पत्रकारिता क्षेत्रबाट आफ्नो परिचय बनाएका मिलन लिम्बु पनि चुनावी मैदानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो दलको आधिकारिक घोषणा गरेपछि उनी पनि चुनावी मैदानमा सक्रिय ढंगले लागेका छन्। शुरुमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उहाँ पछि रास्वपाबाट उम्मेदवार बन्नुभएको हो।

मिलनले आफूलाई इलामको ‘अर्ग्यानिक’ उम्मेदवार भएको बताउँदै आउनुभएको छ। राष्ट्रिय राजनीतिमा उदाउँदै गरेको रास्वपालाई पनि निकै बलियो दाबेदारीका रूपमा हेरिएको छ।

मुख्य प्रतिस्पर्धा कांग्रेस–एमालेबीचमै हुने भनिए पनि रास्वपाको उम्मेदवारीले यी दुवै दललाई टाउको दुखाइको विषय बनेको छ। अहिले रास्वपा घरदैलोमा जुटिसकेको छ।

गत निर्वाचनमा एमालेका नेता सुवास नेम्वाङले जितेको यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का १ सय १४ मतको झीनो मतान्तरले पराजित हुनुभएको थियो ।

यसअघिको निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो भने अहिले अवस्था फरक छ। सबै दलका उम्मेदवार एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन्। राप्रपाले युवा नेता लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ।

रास्वपाका उम्मेदवार लिम्बुले एमाले र कांग्रेसको मत काट्ने स्थिति रहेको भन्दै राप्रपाले जित हासिल गर्ने भन्दै हौसिएका छन्। उता, कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ। विभिन्न ४१ संस्थाको साझा उम्मेदवार भनिएका थेगिम पनि अहिले चुनावी अभियानमा गाउँ केन्द्रित छन् ।

एमाले र कांग्रेसको मतभार धेरै रहेको यस क्षेत्रमा थेगिमले पनि एमाले र कांग्रेसकै मत काट्ने आँकलन गरिएको छ। सत्ता गठनबन्धनमा रहेर सरकारको नेतृत्व गरीरहेको नेकपा माओवादी केन्द्रले धिरेन्द्र शर्मा रमणको एकल नाम प्रदेश र केन्द्र कमिटीमा सिफारिस भएकाले पनि माओवादीबाटै रमण उम्मेदवार हुने निश्चित छ।

एकल नाम सिफारिस भएपछि उहाँ पनि चुनावको तयारीमा जुट्नुभएको छ । रमण २०७४ सालको निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा ‘ख’ बाट निर्वाचित हुनुभएको थियो ।

यता चुनावमा मुख्य प्रतिस्पर्धी मानिएको संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले भने हालसम्म उम्मेदवार टुङ्ग्याउन सकेको छैन। उम्मेदवार नै टुंगो हुन नसक्दा कांग्रेस मतदातासँग खासै छैन।

उम्मेदवारका आकांक्षीमध्ये केही अहिले पनि काठमाडौंमै छन्। उम्मेदवार टुंगो नलागी चुनावी अभियानमा जान निकै सकसपूर्ण हुने जिल्ला तहका एक नेता बताउँछन्। जिल्लाबाट पार्टी सभापति डम्बर खड्कासहित भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, शान्तिकला तामाङ र चन्द्रमाया लिम्बुको नाम उम्मेदवारका लागि सिफारिस भएको छ ।

२०७९ सालको निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङले यस क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो । यस्तै, रास्वपाका प्रकाश सापकोटाले १३ सय ८०, मत ल्याउनु भएको थियो।

समानुपातिकतर्फ एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादीले ५ हजार १ सय ३५ सय ५३ र रास्वपाले ४ हजार ६ सय ३८ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्