न्यून निजी लगानीमा पनि नेपालको अर्थतन्त्र सुधार

यस वर्ष ३.३ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण



काठमाडौं। 

सन् २०२४ मा नेपालको अर्थतन्त्र ३ दशमलव ३ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकद्वारा मंगलबार सार्वजनिक अर्धवार्षिक रिपोर्ट कन्ट्री डेलभपमेन्ट अपडेट’अनुसार पर्यटन पुनरुत्थान र जलविद्युत् निर्यातले अर्थतन्त्रलाई डो¥याउने छ ।

सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक वर्ष २०२५ मा थप ४ दशमलव ६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्यपि यो प्रक्षेपण बहुचुनौतिपूर्ण रहेको विश्व बैंकको भनाइ छ । भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धिका कारण विप्रेषण र पर्यटनमा गिरावट आउन सक्ने पनि उल्लेख गरिएको छ । व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी रहेको उल्लेख गरिएको छ ।

पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्त्वपूर्ण रहेको विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भने ।

नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रुपमा तयार गरिएको हो । जसमा दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र ती मुलुकहरुले व्यहोर्नुपरेका नीतिगत चुनौतिको विश्लेषण गरिएको  छ ।

उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको अप्रिल २०२४ को यस संस्करणले विश्वका कुनै पनि उदाउँदा बजार र विकासशील मुलुकमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ, जुन् सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५मा ६ दशमलव १ प्रतिशत हुने अनुमान गरिएको छ । तर प्रतिवेदनले यो अनुमान झुक्काउने खालको पनि हुन सक्ने जनाएको छ । धेरै मुलुकहरुको वृद्धि अझै पनि महाव्याधिपूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ ।

त्यस्तै दक्षिण एसियालीमुलुकहरुमा निजी लगानी वृद्धिमा सुस्तता आएको छ । यस क्षेत्रले तिव्र रुपमा बढ्दो काम गर्ने उमेरको जनसंख्याका लागि पर्याप्त जागिर सिर्जना गर्न सकेको छैन ।आफ्नो जनसांख्यिक लाभलाई पूर्ण रुपमा उपयोग गर्न दक्षिण एसिया अहिले असफल भएको छ । यो अवसर गुमेको छ’ दक्षिण एसियाका लागि विश्व बैंकका प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्न्सोर्जले भनिन्–’यदि यो क्षेत्रले अन्य उदाउँदा बजार र विकासशील अर्थतन्त्रहरुले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठूलो जनसंख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो ।’

 

प्रतिक्रिया दिनुहोस्