ट्रान्स हिमालय एड्भेन्चर सुरु

112
Shares

काठमाडौं ।

ट्रान्स हिमालय एड्भेन्चर सोमबारबाट सुरु भएको छ। बाइकरहरुको र्‍याली सातदोबाटोस्थित खेलकुद परिसरबाट मुस्ताङका लागि निस्किएको हो।

सो र्‍याली पोखराको सराङकोट, कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्नेछ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरामा हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ ।

माउन्टेन स्पोर्ट्स फेस्टिभलअन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ। सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिनेछ।

जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजक नेपाल आटोमोबाइल्स् एसोसिएसन (नासा) ले जनाएको छ।

कार्यक्रमलाई राष्ट्रिय खेलकद परिषद् (राखेप), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (एफआइएम) तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनले सहयोग गरेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले यसको शुभारम्भ गरेका थिए।