काठमाडौं ।
सूर्यको जगमग सुनौलो किरणलगायतले सुशोभित यस पृथ्वीमा गौरवमय, सृजनात्मक, अमूल्य शरीररुपी मानवजीवनको सुन्दर रचना ईश्वरीय वरदान हो।
विधाताको कृपादृष्टि र आशीर्वादविना मानव, पशुपक्षी एवं संसारको कुनै पनि अन्य जीवनको परिकल्पना गर्न सकिँदैन । सबैको जीवनदाता, पालनकर्ता एवं जीवन संरक्षक प्रकृितजगत् हो । विधाता जीवनको नियन्त्रक शक्ति हो भने समस्त ईश्वरीय रचनामा मानव नै सर्वश्रेष्ठ चेतनशील प्राणी हो।
पृथ्वीसँग सहकार्य गर्ने जल, वायु जमिन, अकाश र अग्नि तत्व हुन्। भक्तिमार्गमा पाँच तत्वहरुलाई पाञ्चायन देवता भनेर मानिन्छ। जगत् नियन्ता ईश्वरले प्रकृतिको यी पाँच तत्वरुपी आँचलभित्र आत्माहरुको जन्म, जीवन र मृत्युको सन्तुलन मिलाई प्रत्येक जीवनको लीला सञ्चालन गरिरहनुभएको रचनात्मक संसार एक सुन्दर सप्तरंगी रंगमञ्च हो।
धर्म जीवन जिउने एक प्रणाली हो, विधि हो, तरिका हो । यो एक पवित्र शब्द हो, जुन मानवको व्यक्तिगत र सामाजिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने निकाय हो । वास्तवमा यस सृष्टिरुपी वृक्षको अधार नै धर्म हो । धर्म भनेको कर्तव्य हा,े मानवीय दायित्व हो। धर्म जीवनशैली हो, मानवसृष्टिको मूल अधार हो । धर्ममा नै अपार शक्ति छ । पवित्रता नै धर्मको मूल अधार हो । सेवा नै धर्म हो र परोपकार नै पुण्य हो। धार्मिक रीतिरिवाज र चाडपर्वले व्यक्तिको उमंग, उत्साह, खुशी, कर्ममा कुशलता ल्याउनका लागि मार्गदर्शन गरिरहेको हुन्छ।
आत्माले शरीर धारण गरेको समयलाई जन्म भनिन्छ भने त्यही आत्माले शरीर छोडेको समयलाई मृत्यु भनिन्छ । आत्माले जीव अर्थात् शरीरमा रहेर कार्य गर्ने समयलाई जीवन भनिन्छ । मानवजीवन तीनवटा प्रमुख सत्य लिएर उत्पन्न अर्थात् आगमन भएको हुन्छ– जन्म, जीवन र मुत्यु। यी तिनै सत्यताको आधारमा मानवीय नवजीवनको शुभारम्भ भएको हुन्छ। यसमा प्रमुख कर्म हो। कर्म नै धर्म (पूजा) हो र कर्म नै खुशी हो। कर्म नै जीवनको आधार हो। जगत् एक कर्मभूमि अर्थात् कर्मक्षेत्र हो भने शरीर कर्मका लागि साधन हो । शरीर जलले पवित्र हुन्छ, मन सत्यले, बुद्धि ज्ञानले र आत्मा संस्कारले पवित्र हुन्छ।
जीवनलाई जगत्सँग परिचालित गर्ने एकमात्र प्रभावशाली शक्ति आत्मा हो। प्रत्येक प्राणीको आत्माले शरीररुपी जीवनलाई प्रभावकारीरुपमा परिचालन गरिरहेको हुन्छ । मानवमा विचारको उत्पत्तिको आधार आत्मा हो। आत्मा चैतन्य ज्योतिस्वरुप हो। आत्माका प्रमुख सात मौलिक गुणहरु– ज्ञान, पवित्रता, शान्ति, पे्रम, सुख, आनन्द र शक्ति हुन्। एक आत्मा स्वयंमा शान्तिको स्रोत हो। आत्मा अमर, अविनाशी शक्ति हो र शरीर विनाशी साधन हो । प्रकृति–ज्ञान र आत्म–ज्ञान जान्नेलाई आत्मज्ञानी भनिन्छ।
ज्ञान स्वयंमा शक्ति होइन तर जब विवेकद्वारा व्यावहारिक जीवनमा यसलाई उतारिन्छ तब ज्ञानले शक्तिको रुप लिन्छ। मानव आत्माभित्र अन्तरनिहित तीन शक्तिहरु– मन, बुद्धि र सस्ंकार रहेको हुन्छ। मानव आत्माका यी तीन शक्ति नै जीवनका पथप्रदर्शक हुन्। यी तीन शक्तिमध्ये मनको काम हो संकल्प, विचार र तर्कको उत्पत्ति गर्नु । बुद्धिको कार्य हो मनबाट उब्जेको संकल्प र विचारलाई विवेकको माध्यमबाट निर्णय दिनु। यसरी विवेकले दिएको निर्णय जब कर्म र व्यवहारमा उत्रन्छ त्यो नै मानिसको संस्कार बन्दछ।
मनुष्यको मधुरवचन ईश्वरीय उपहार हो । मधुरता सत्यताको तहमा पुग्ने कला हो । मधुरता त्यस्तो मनुष्यको गुण हो जसको जीवनले अनन्तलाई चुमेको हुन्छ। व्यक्तिको गुण नै उसको सुन्दरताको आधार हो। भाषा शरीरको यस्तो अदृश्य अंग हो, जसले व्यक्तिको सबै थोक दिखाइदिन्छ। जीवन पाउनु भाग्यको कुरा हो, मृत्यु हुनु समयको कुरा हो, परन्तु मृत्युपश्चात् व्यक्तिको स्मरणमा रहनु कर्मप्रधानको कुरा हो । तसर्थ कति बाँच्ने हो, यो भाग्य विधाताको हातमा रहन्छ। तर कसरी जीवन जिउने हो, यो त स्वयं व्यक्तिको हातमा नै रहन्छ। जीवनमा हरेक ठक्कर खसाल्नको लागि मात्रै लाग्दैन, केही ठक्कर मानिसलाई सुधार्न, सम्हाल्न र अनुभव गर्नको लागि पनि हुन्छ । किनकि अनुमान मनको कल्पना हो र अनुभव जीवनको सिकाइ हो । यसरी स्वयंको अनुभवले सत्यको दर्शन गराउँछ।
संसारमा प्रेम एउटा यस्तो चिज हो, जसले मनुष्य तथा जीवजन्तुुहरुलाई मिलेर बाँच्न सिकाउँछ । प्रेम एक चुम्बकीय शक्ति हो । यसको प्रयोगले पापी, अहंकारीलगायतको हृदय परिवर्तन गर्न सम्भव गराउँछ । प्रेमको शक्ति एक अद्भुत उदाहरण हो भने प्रेमले जीवनको महत्व बढाउँछ । यसरी प्रेमको अलग–अलग स्तर हुन्छ– भक्त र भगवान्को प्रेमलाई भक्ति कहलाइन्छ । गुरु र शिष्यको प्रेमलाई श्रद्धा कहलाइन्छ । आमा र बच्चाको प्रेमलाई ममता कहलाइन्छ । प्रेम एक यस्तो दिव्य औषधि पनि हो भनिन्छ। केवल रक्तसम्बन्धले नै कोही आफ्नो हुँदैन । प्रेम, सहयोग, विश्वास, इमानदारी, सुरक्षा, सहानुभूति र सम्मान, यो सबै यस्तो भाव हो जसले परायालाई पनि आफ्नो बनाइदिन्छ । जीवनमा रिलेसन यस्तो होस्, डायमण्ड अर्थात् हिराको जस्तो । हेर्नमा सानो परन्तु मूल्यवान् र अनमोल रहोस् । किनकि सुख र दुःखको संगम हो जिन्दगी, रिलेसन नाताविनाको अधुरो हो जिन्दगी ।
जगत्का सम्पूर्ण मानिसको आन्तरिक कामना लगभग एउटै रहन्छ । त्यो हो सुन्दर स्वस्थ जीवन, धनधान्य, सुख, शान्ति, सफलता, सम्मान, आनन्द, सुरक्षा, सहयोग इत्यादि । यसर्थ जीवनको तुलना कसैसँग गरेर निरास नहुनुपर्ने हो । किनकि सूर्य र चन्द्रमाको बीचमा केही तुलना छैन, जब जसको समय आउँछ तब चम्किलो रुप देखिन्छ। समय सबैभन्दा ठूलो न्यायाधीश मानिन्छ । समयको साथ परिवर्तन नै सुखमय जीवनको आधार हो। तसर्थ चार वेदको अर्थ नजान्नेलाई केही फरक पर्दैन, परन्तु समझदारी, जवाफदेही, मेहनती र इमानदारी यी चार शब्दको अर्थ बुझिन्छ भने जीवन सार्थक बन्न सक्छ । मानवीय संस्कारले सारा संसारको मन जित्न सकिन्छ । मनुष्यको कर्म नै उसका विचारहरुको सर्वश्रेष्ठ व्याख्या हो ।
संसारमा मानिस जति विद्वान्, धनवान्, साधनहरुले भरपूर भए पनि हिसाबकिताब त सिर्फ विश्वविधाता ईश्वरद्वारा नै सही हुन्छ, सबैलाई पठाउँदा खाली हात तथा फिर्ता बोलाउँदा खाली हात । यसर्थ मनुष्यलाई पृथ्वीको अतिथि हो भनिन्छ । किनकि परिवर्तन संसारको नियम हो ।
विश्वका लागि हामी सिर्फ निमित्त मात्र हौँ, संसारमा । सबै मनुष्यको आत्माले आ–आफ्नो पार्ट रोल प्ले गरिरहेको हुन्छ । जुन आत्माले आफ्नो पार्ट रोल निमित्त भावले प्ले गरिरहेको हुन्छ, त्यो आनन्दमा रहन्छ। यसरी प्रार्थनाले आत्मालाई, क्षमाले रिलेसनलाई र परोपकारले व्यक्तिको भाग्यलाई शुद्ध गरिदिन्छ। भाग्यले कर्मलाई बदल्दैन, परन्तु कर्मले भाग्य जरुर बदल्छ।
जीवन एक फूल हो, यस फूलरुपी जीवनमा काँढा धेरै हुन्छ तर सौन्दर्यको पनि कुनै कमी हुँदैन । जीवनमा समस्याहरु आउनु ‘पार्ट अफ लाइफ’ हो तर त्यसको समाधानबाट बाहिर निस्कनु ‘आर्ट अफ लाइफ’ हो। तसर्थ संसारको बोझ मनबाट हटाइदेऊ। सानो जिन्दगी छ, हाँसेर बिताइदेऊ। अनमोल जीवनको यो वसन्तमा अनन्त खुशी छाओस्। सुख, शान्ति, प्रेम र उत्साहले जीवनमा उमंग भरियोस्।
प्रतिक्रिया