डा. न्यौपानेसहित तीन जनालाई ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ 



काठमाडौँ। 

नेपालका वरिष्ठ छाती तथा क्यान्सररोग विशेषज्ञ डा.मदन कुमार पियाले आफ्नी स्वर्गीय माता चमेलीदेवी पियाको नाउँमा स्थापना गरेको ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ पहिलो पटक नेपाली मूलका अमेरिकी प्राध्यापक डा.प्रकाशचन्द्र न्यौपानेसहित तीन जनालाई प्रदान गरिएको छ ।

नेपालमा क्यान्सरका बिरामीको उपचारमा लामो समय काम गरी  हाल सेवा निवृत्त भएकी वरिष्ठ नर्स दयालक्ष्मी वैद्य र क्यान्सरसम्वन्धि काम गर्दै आएको अमेरिकी अन्तर्राष्ट्रिय संस्था अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी (एस्को) लाई पनि सो पुरस्कार प्रदान गरिएको छ ।

नेपालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा लामो समयदेखि सक्रिय रही विशिष्ट योगदान गरेबापत उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

राजधानीमा आयोजित दुईदिने नेशनल हस्पिटल एन्ड क्यान्सर सेन्टरको छैटौँ सम्मेलन तथा अमेरिकी सोसाइटी अफ क्लिनिकल अंकोलोजी ‘एस्को’ को वहुआयामिक क्यान्सर व्यवस्थापन कोर्सका अवसरमा उनीहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कारका संस्थापक समेत रहेका नेशनल हस्पिटल एन्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा.पिया र नेपालकै जेष्ठ होटल व्यवसायी, द्वारिकाज होटल एन्ड रिसोर्टकी अध्यक्ष ९३ वर्षिया अम्बिका श्रेष्ठले प्राध्यापक न्यौपाने, वरिष्ठ नर्स वैद्य तथा ‘एस्को’ संस्थालाई १५ तोला शुद्ध चाँदीमा कुँदिएको सो पुरस्कार प्रदान गरेका थिए ।

नेपालमा क्यान्सर रोगको निदान, उपचार, जनचेतना फैलाउने र अनुसन्धानको क्षेत्रमा विशिष्ट योगदान गर्ने स्वदेशी या विदेशी व्यक्ति र संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले ‘चमेली पिया विशिष्ट क्यान्सर पुरस्कार’ स्थापना गरिएको पुरस्कार कोषका अध्यक्ष डा.पियाले बताए । डा.पियाकी माता चमेलीदेवी पियाको २३ वर्षअघि निधन भएको थियो ।

पुरस्कार वितरण समारोहमा स्वर्गीय चमेलीदेवी पियाका जेठा छोरा डा.मदनकुमार पिया र कान्छा छोरा ईन्जिनियर सुनिलकुमार पियाको साथै ६ जना छोरीहरु तारा प्रधान, मिनु प्रधान, लक्ष्मी जोशी, कल्पना श्रेष्ठ, डा.अनारकली श्रेष्ठ र डा.सपना मल्लको उपस्थिति थियो ।

सोही कार्यक्रममा नेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर र क्यान्सर केयर नेपालमार्फत क्यान्सरका विरामीहरुको उपचारमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने विभिन्न व्यक्ति र संघ संस्थालाई पनि ‘मायाको चिनो’ प्रदान गरी सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुने व्यक्ति तथा संस्थाहरुमा सेन्ट मेरीजका पुर्व विद्यार्थीहरुको संस्था ‘आस्मान’ काठमाण्डौ, जोन्टा क्लव पोखरा, मिङ्गमा दोर्जी शेर्पा, चोलेन्द्र राज्यलक्ष्मी सिंह, कुविजा न्यौपाने, रमा जोशी सिंह, जागरुक महिला समूह, काल्देन जेवन्त श्रेष्ठ र पिंक वाक टिम रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्