उदयपुर ।
उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडवामा रहेको बहेडवा थारु सामुदायिक होमस्टे काठमाण्डौमा गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालद्वारा यस पटक पनि पुनः प्रमाणपत्र सहित पुरस्कृत भएको छ ।
बहेडवा थारु सामुदायिक होमस्टेका व्यवस्थापक प्रभा कुमारी चौधरीले दिएको जानकारी अनुसार गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालको आयोजनामा काठमाण्डौको ठमेलस्थित गोकर्ण हाउस रिसोर्टमा १७ गते शनिबार भएको सो संस्थाको २५ औ साधारण सभा तथा १२ अधिवेशनमा एक कार्यक्रमका बिच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालको हातबाट यस वर्षको उत्कृष्ट गाउँ गन्तव्य पुरस्कार प्राप्त भएको हो ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालका पूर्व अध्यक्ष तथा तारा गाउँ विकास समितिका सदस्य शिव लामिछानेको नेतृत्वको टोलीले स्थलगत रुपमा अध्ययन, अवलोकन, निरीक्षण, पश्चात् गरेको सिफारिसका आधारमा भिटोफ नेपालको कार्य समितिको बैठकको निर्णय अनुसार यस वर्षको उत्कृष्ट गाउँ गन्तव्य पुरस्कार त्रियुगा नगरपालिका वडा १३ को बहेडवामा रहेको बहेडवा थारु सामुदायिक होमस्टेलाई दिने निर्णय गरे अनुसार पुरस्कार प्राप्त भएको पुरस्कार लिएर फर्किएकी व्यवस्थापक प्रभा कुमारी चौधरीले बताइन ।
थारु कला, संस्कृति तथा बाजा, गाजा सहितको झाँकी व्यवस्थापक प्रभा चौधरीको नेतृत्वमा ५ जनाको होमस्टेटिम काठमाडौँ गएको र पुरस्कार लिने दिन थारु संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम समेत प्रदर्शन गरिएको जानकारी व्यवस्थापक चौधरीले दिएकी छिन ।
बहेडवा थारु सामुदायिक होमस्टेले २०७९ सालको उत्कृष्ट गाउँ गन्तव्य पुरस्कार पनि हात पारेको थियो भने यस पटक समेत गरी लगातार दोश्रो पटक सो पुरस्कार हात पारेको छ । अहिले उक्त होमस्टेमा दैनिक जसो विविध कार्यक्रमहरु भैरहने गरेको छ भने सांस्कृतिक भवन निर्माण गर्न केही दिन अघिमात्र बयलगाडा सफारी संचालन गरेको थियो । देशका विभिन्न भागबाट घुम्न आउने आन्तरिक पर्यटकहरुको सो होमस्टे आकर्षण र रोजाइमा पर्ने गरेको छ । यसको मूल कारण हो स्थानीय रहन सहन पूर्ण गाउँले वातावरण अर्ग्यानिक खाना स्थानीय उत्पादनबाट थारु संस्कार संस्कृति अनुसार तयार पारिएको स्वास्थ्य खाना हो होमस्टेका अध्यक्ष भगवानसिं चौधरीले बताए ।
होमस्टे सञ्चालनबाट पर्यटन प्रवर्द्धनात्मक भएको छैन समाजमा चेतनाको विकास, महिला सशक्तीकरणमा योगदान, सामाजिक परिवर्तन, आय आर्जन, आर्थिक सबलीकरण, थारु गाउँको पहिचान, नेतृत्व विकास, देशको समृद्धिमा योगदान, अन्य मानिसमा पनि गर्दा के हुँदैन भन्ने भावना र प्रतिविद्धताको विकास भएको होमस्टे सञ्चालक समितिकी सदस्य शशिकला चौधरीले बताइन ।
उनी भन्छिन् अल्छी गरेर बस्यो भने केही हुँदैन म यो काम गर्न सक्छु र गर्छु भनेर प्रतिविद्धताका साथ गर्दा सफलता पाइन्छ तर निरन्तरता दिनु पर्दछ र आत्म विश्वास गरेर काम सुरु गर्नु पर्दछ ।











प्रतिक्रिया