साइबर हिंसाबाट किशोर-किशोरीलाई जोगाऊँ



काठमाडौँ ।

उन्नाइस वर्ष मुनीका किशोर किशोरीहरु साइबर हिंसाको उच्च जोखिम रहेको पाइएको छ  । इन्टरनेटको माध्यमबाट चल्ने सामाजिक सञ्जालसहितका अन्य विभिन्न माध्यमबाट किशोरकिशोरीहरु साइबर हिंसाको सिकार हुने गरेको पाइएको हो ।

महिला पत्रकारहरुको संस्था संवाहिका समाज नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको साइबर हिंसा नियन्त्रण सम्बन्धी कार्यशालामा आफूले भोगिरहेका साइबर हिंसाका अनुभव किशोरकिशोरीहरुले साटेका हुन् ।

मनिता(नाम परिवर्तन)ले आफूलाई अनावश्यक म्यासेज आएर हैरानी भइरहेको बताइन् । त्यसबाट बच्नका लागि कसरी अगाडि बढ्ने भन्ने जिज्ञासा उनले राखिन । त्यस्तै सनिला(नाम परिवर्तन)ले पनि आफ्नो सामाजिक सञ्जाल अरुले नै चलाउने गरेको दुखेसो पोखिन । किशोरहरु पनि अनावश्यक म्यासेज आएर कहिले ब्यालेन्स माग्ने, कहिले आर्थिक सहयोग माग्ने खालका समस्याबाट पीडित हुने गरेको सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धि गणेश उच्चमाविका प्राचार्य केशव भण्डारीले हातहातमा पुगेको स्मार्ट फोनले सुविधासँगै साइबर हिंसाको पीडा किशोर किशोरीहरुलाई दिने गरेको बताए । उनले उमेरका हिसाबले पनि चन्चल हुने भएकाले सहजै सामाजिक सञ्जाल र अनलाइनमाध्यमबाट आएका कुरामा आकर्षित हुँदा हिंसाको सिकार हुने उच्च जोखिम रहेको स्पष्ट पारेका हुन् ।

कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दिपककुमार बस्तीले साइबर हिंसा र त्यसबाट जोगिने उपायका बारेमा किशोर किशोरीलाई सचेत गराए । सकेसम्म कसैले पठाएका अनलाइन लिंकहरुमा क्लिक नगर्न र अपरिचितले पठाएका कुनै पनि सन्देशहरुको जवाफ नदिन सुझाव दिए । जोखिमयुक्त उमेर समूहका किशोर वा किशोरी दुबैथरीलाई अचेल पहिले गफ गर्ने, त्यसपछि प्रेम जालमा पारेर आर्थिक र शारिरीक हिंसामा पार्ने गरिएको प्रहरीको अनुसन्धानले देखाएको बस्तीले जानकारी गराए । कथमकदाचित त्यस्ता हिंसामा परिहालेको खण्डमा घरपरिवारका सदस्यलाई डर र अप्ठेरो नमानीकन बताउन पनि उनले आग्रह गरे । घरमा भन्न नसकेमा आफ्ना सहपाठी तथा विश्वास लाग्ने शिक्षक वा शिक्षिकालाई भन्नुपर्ने उपाय पनि सिकाए । जसले किशोर किशोरीमा त्यस्ता घटनाले दिने मानसिक तनाव कम हुने र कानुनी उपचारको बाटोमा जान सहज हुने बस्तीले प्रस्ट पारे ।

संवाहिका समाज नेपालकी अध्यक्ष चाँदनी हमालले किशोरकिशोरी भविष्यका कर्णधार भएकाले उनीहरुलाई नयाँ मिडियाका रुपमा आएको साइबर सञ्जालको हिंसाबाट पर राख्न सघाउने उदेश्यले कार्यशालाको आयोजना गरेको बताइन् ।

बाढीजस्तो जथाभाबी आएको सूचनाको छनौट गरेर सही सूचनाको उपयोग गर्ने र भाइरल सूचनाको पछि नलाग्न सुझाउँदै त्यस्ता पोष्टहरुमा लाइक तथा कमेन्ट गर्दा हुने हानीका बारेमा चर्चा गरिन ।  उच्च माविका सहप्रधानाध्यापक बुद्धिबहादुर विकले अनुशासित जीवन बिताउन सामाजिक सञ्जालको सदुपयोगमा ध्यान दिनुपर्नेमा जोड दिए ।

समाजका महासचिव शिवा तामाङ, सचिव कविता थापा, कोषाध्यक्ष बिनु श्रेष्ठ, सदस्यद्वय मेनुका कार्की र सावित्री बस्नेतले प्रशिक्षणमा समन्वयात्मक भूमिका निर्वाह गरेका थिए ।

आर्थिक वर्षमा पाँच हजारभन्दा बढीको साइबर हिंसाका उजुरी ब्युरोमा परेको थियो । जसलाई विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएर कारबाही गरिएको ब्युरोले जनाएको छ । कतिपय संगठित अपराधहरु साइबर अपराधका रुपमा अघि आउने गरेकाले त्यसबाट जोगिने उपायका लागि विद्यालयस्तरदेखि नै सचेतनाका कार्यक्रमहरु निरन्तर चलाउनुपर्नेमा ब्युरोले जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्