जिल्ला रेडक्रस जिन्सी सामानबारे आफै बेखबर, रक्तत्वमा पालिकाबाट असुलेको रकमको हिसाब सार्वजनिक भएन



धादिङ । 

नेपाल रेडक्रस सोसाइटी धादिङको कार्यालयमा जिन्सी सामानको खात असङ्ख्य छ । कुर्ची टेबल, सोफा, कम्प्युटर, पर्दा, ग्यास, भाडा तथा अन्य थुप्रै सामाग्री रहेको तथ्य आँखाले देखिन्छ । अधिकांश सामग्री  विभिन्न मितिमा खरिद गरिएको छ भने केही सामाग्री दाताहरूले सहयोग उपलब्ध गराएका हुन् ।

रेडक्रस जिल्ला शाखामा जिन्सी सामाग्री कार्यालय भित्र र बाहिर यत्रतत्र छरिएर रहेको देखिने भएपनि कार्यालयमा जिन्सी खाता नै रहेको छ ।
जिल्ला शाखाको ३७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न हुँदा साधारण सभामा पेस भएको प्रतिवेदनमा अहिलेसम्म पनि जिन्सी खाता राख्न सुझाव दिएपनि कार्यान्वयन नभएको उलेख छ ।

रजिष्टर्ड लेखापरिक्षकले सुझाव दिँदै पहिले दिएको सुझाव कार्यान्वयन नभएकोले पुनः जिन्सी खाता राख्न सुझाव दिएको जिल्ला शाखाका कोषाध्यक्ष नारायणकुमार श्रेष्ठले बताए ।

गत वर्ष लेखा परीक्षणको समयमा र यस वर्ष लेखापरिक्षण गर्दा खरिद गरिएका जिन्सी सामान सोफा कुर्ची लगायतकाे सामाग्रीकाे जिन्सी खातामा नराखिएको र पछि जिन्सी खाता बनाइएको कार्यालय प्रमुख आगमन खतिवडाले बताए ।

जिन्सी खाता नहुँदा रेडक्रसका कति सामाग्री कुन अवस्थामा रहेको भन्ने समेत जानकारी हुँदैन । शुसासनयुक्त भनिएकाे संस्थाकाे पारदर्शितामा ठेस लाग्दै आएको छ । रेडक्रसले नागरिकलाई रगत र रक्तत्व  नि:शुल्क दिँदै आएको भनेर गरिएको प्रचार पनि विवादमा परेको।

स्थानीय गाउँ पालिका र नगरपालिकाबाट रगत उपलब्ध गराउन ठुलाे मात्रामा रकम लिएको लेखापरीक्षणमा देखिएको छ । स्थानीय सरकारले रकम अनुदान दिएको अवस्थामा धादिङ स्वास्थ्य कार्यालयले समेत ठुलाे मात्रामा यसकै लागि अनुदान दिएको देखिन्छ । धादिङ स्वास्थ्य कार्यालयले यश वर्षकाे अन्त्यसम्म४ लाख ९४ हजार उपलब्ध गराएको छ । धादिङ अस्पतालबाट दिइने रगतमात्र बागमती  प्रदेश सरकारले अनुदान दिएको साे रकम भएको धादिङ कार्यालय प्रमुख खतिवडाको भनाई छ ।

रेडक्रसले स्पष्ट हिसाब सार्वजनिक  गर्न नसकेको अवस्थामा भएको साधारण सभामा पूर्व सभापति ईश्वरीप्रसाद अधिकारीले अनियमितता भएको बताएका छन् ।

जिल्लाका आफ्ना नागरिकलाई नि:शुल्क रगत उपलब्ध गराउन आव  २०७८/०७९ मा खनियाबास गाउँ पालिकाले २ लाख ४५ हजार, गंगाजमुना गाउँ पालिकाले एक लाख, त्रिपुरा सुन्दरी गाउँ पालिकाले १ लाख ५० हजार, ज्वालामुखी गाउँ पालिकाले ३ लाख, बेनिघाट राेराङ गाउँ पालिकाले ७ लाख गजुरी गाउँ पालिकाले ३ लाख, गल्छी गाउँ पालिकाले २ लाख, धुनीबेसि नगरपालिकाले ३ लाख अनुदान दिएको छ ।

यसैगरि अाव २०७९/०८० मा नीलकण्ठ नगरपालिकाले ४ लाख ९२ हजार, सिद्धलेक गाउँ पालिकाले २ लाख ७१ हजार ६ सय ६६ रुपैयाँ, बेनिघनट राेराङ गाउँ पालिकाले १८ हजार छ सय, थाँक्रे गाउँपालिकाले ३ लाख, गल्छी गाउँ पालिकाले २ लाख ५० हजार, त्रिपुरा सुन्दरी गाउँ पालिकाले १ लाख ३४ हजार, ५ सय ६१, ज्वालामुखी गाउँ पालिकाले ५ लाख, गजुरी गाउँ पालिकाले ४६ हजार ७ सय, गंगाजमुना गाउँ पालिकाले १ लाख ९७ हजार र रुबिभ्याली गाउँ पालिकाले १ लाख ९७ हजार अनुदान उपलब्ध गराएको लेखापरिक्षण प्रतिवेदनमा देखाइएको छ ।

नि:शुल्क रगत उपलब्ध गराउन पालिकाहरुले दिएको अनुदान रकम काे – काे मानिसलाई कुन अस्पतालमा रगत उपलब्ध गराएको तथ्यांक भने रेडक्रसले सार्वजनिक गरेको छैन । सबै कार्यक्रममा एकपक्षीय भयो भन्ने आरोप खेपिरहेको रेडक्रस धादिङ शाखाले सीमित नागरिकका सामु एउटा प्रतिवेदन सार्वजनिक गर्ने गर्दा झनै विवादमा परेको छ ।

वार्षिक साधारण सभाले वर्षभरिका सेवा र उपलब्धिहरूको  समीक्षा गर्दै भावी कार्यदिशा तय गरेको छ ।

धादिङका युवाहरू जम्मा भई तत्कालीन ढोला गाविसका शिवराज अधिकारीको नेतृत्वमा सुरु भएको रेडक्रस धादिङ जिल्ला शाखा अन्तर्गत १३ वटा स्थानीय तहमा २९ वटा उपशाखाहरू, १ सय ५० विद्यालयहरूमा जुरेस/युरेस क्रियाशील छन् । यशस्कर सदस्य २४, विशिष्ट सदस्य ४, संस्थागत सदस्य १ र आजीवन सदस्य ४ हजार १ सय सदस्य छन् ।

रेडक्रसका ७ सिद्धान्तमा रही धादिङ जिल्लाभित्र विभिन्न विपत्तिहरूमा सरकारको सहयोगी हातको रूपमा काम गरिरहेको रेडक्रस धादिङका सभापति दुर्लभ तामाङले बताए । २०७२ सालको भूकम्प, कोरोना भाइरस, डेंगी, सडक दुर्घटना, बाढीपहिरो, आगलागी, हुरी बतास, हिमपातका साथै विकास निर्माण कार्यहरूमा समेत सहयोग गर्दै आएको छ । प्राकृतिक प्रकोप र विपद प्रभावित ३ सय ७३ परिवारलाई यो वर्ष राहत वितरण गरिएको तामाङले जानकारी दिए ।
जिल्लामा उल्लेख्य रुपमा स्वयंसेवकको  भूमिका निर्वाह गर्ने मैदीका राजु विश्वकर्मालाई सम्मानित गरेको छ ।

साधारण सभाले उत्कृष्ट उपशाखाको रुपमा नलाङ उपशाखा र कृत्रिम घटना अभ्यास प्रशिक्षक कृष्ण प्रसाद अधिकारीलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्