राखेपको ६०औं वार्षिकोत्सवमा १८ अवार्ड प्रदान गरिने



काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६०औं वार्षिकोत्सवमा विभिन्न ६ विधामा १८ वटा अवार्ड प्रदान गरिने भएको छ ।

बुधवार हुने ६०औं वार्षिकोत्सव कार्यक्रममा सिनियर,जुनियर समान दुई–दुई गरी चार खेलाडी, आठ कर्मचारी (दुई करार कर्मचारीसहित), एक पारा खेलाडी र दुई खेल पत्रकारलाई अवार्डसहित नगदबाट पुरस्कृत गरिनेछ । त्यस्तै, खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत समान एक–एक स्थानीय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई पनि सम्मान गरिनेछ । सदस्य–सचिव टंकलाल घिसिङ राखेपको नेतृत्वमा आएदेखि वार्षिकोत्सवमा थप नयाँ विधाको अवार्ड थप गरिएको हो ।

खेलाडी अवार्ड, करार कर्मचारी अवार्ड र स्थानीय तह अवार्ड गत वर्ष ५९औं संस्करणदेखि थपिएको हो । कार्यक्रम राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा हुँदैछ ।

राखेपले आफ्नो ६०औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मनाउने कार्यक्रम रहेको छ । कार्यक्रममा वरिष्ठ हांस्य कलाकार हरिवंश आचार्य, लोकप्रिय गायक राजेशपायल राई र नृत्यकार सरोज प्रजा र विना रावतको आकर्षक प्रस्तुती रहनेछ ।

प्रतिक्रिया दिनुहोस्