चितवनका टोल-टोलमा ‘जनतासँग एमाले’ अभियान 

154
Shares

चितवन ।

नेकपा (एमाले) चितवनले ‘जनतासँग एमाले’ अभियान सञ्चालन गरिरहेको छ। फागुन १५ गतेबाट सुरु भएको डेढ महिने अभियान चैत मसान्तसम्म चल्ने छ।

जिल्लाका सबै पालिका, वडा र टोलहरूमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू भइरहेका छन्। जसले चितवनमा एमाले लहर नै ल्याएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन्।

जिल्लाका ९८ वटै वडामा अभियानको वडा संयोजक र सह-संयोजकहरु तोकेर जिम्मेवारी प्रदान गरी जिल्ला पार्टी नेतृत्वले कार्यक्षेत्रमा खटाएको छ। उनीहरूले टोल-टोलमा पुगेर त्यहाँका नेतृत्वलाई कार्य विभाजन गराई अभियान चलाइरहेका छन्।

अध्यक्ष न्यौपानेका अनुसार जनतासँग एमाले अभियान अन्तर्गत जनप्रतिनिधि र पार्टीबीचको अन्तर सम्बन्धलाई मजबुत पार्ने खालका विभिन्न कार्यक्रम, एक वडा एक रचनात्मक कार्यक्रम सञ्चालन, पार्टी सदस्यता नवीकरण, नयाँ पार्टी सदस्यता वितरण, वडा स्तरमा प्रशिक्षण कार्यक्रम, टोल एवम् वडा कमिटीहरू गठन पुनः गठन गर्ने कामहरू भइरहेका छन्।

यसै गरी स्थानीय स्तरमा भइरहेका विकास निर्माणको अवस्थाका बारेमा जानकारी लिएर आइपरेका समस्याहरूको समाधानका लागि स्थानीय पार्टी कमिटीले पहलकदमी लिने, जनजीविकाका सवाललाई एमालेले उठाउने जस्ता विषयहरूका बारेमा अभियानका क्रममा जनतालाई सुसूचित गराउने, वार्ड स्तरमा रहेका सङ्घ संस्थाहरूको विवरण, रोजगारीको अवस्था, वैदेशिक रोजगारी लगायतका विषयमा जानकारी लिने काम अभियान अन्तर्गत भइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए।

यस अभियानले पार्टी सङ्गठनलाई मजबुत बनाउँदै लैजाने र पार्टी शुद्धीकरण एवम् सुदृढीकरणका लागि कोसेढुङ्गा साबित हुने विश्वास सिङ्गो पार्टी कमिटीले लिएको छ।

साथै यसले एमालेलाई वडा वडामा क्रियाशील गराएर जनतासँग जोड्न प्रभावकारी भूमिका खेल्ने पार्टी कमिटीको विश्वास छ।