पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्छौ: मन्त्री राई

112
Shares

धनकुटा ।

खानेपानी मन्त्री राजेन्द्र राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताएका छन्।

आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नाम्जेस्थित नाम्जे विद्यालय समुदाय सिँचाइ योजनाको भवन उद्घाटन गर्दै मन्त्री राईले यस्तो बताएका हुन्।

अहिले पनि खानेपानी ओसार्नका लागि आमा दिदीबहिनीहरूले धेरै दुख गर्नु परिरहेको भन्दै उनले अब यो अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताए।

‘आमा, दिदीबहिनीहरूले पानी ओसार्नका लागि अहिले पनि धेरै दुख गर्नु परिरहेको छ, देशभरका धेरै ठाउँमा यस्तो समस्या छ,’ मन्त्री राईले भने, ‘अब दिदीबहिनीहरूले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो बोक्नु पर्ने र कम्मरमा गाग्री बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्छौ।’

देशभरको खानेपानी समस्या समाधानका लागि द्रुत गतिमा काम गर्ने उनको भनाई छ। खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै मन्त्री राईले यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने उल्लेख गरे । अहिले गाउँ-गाउँमा विकासले गति लिँदै गएको उनको भनाई छ। तीव्र गतिमा विकास गर्न सरकार लागिपरेको भन्दै मन्त्री राईले विकासलाई गति दिन सरकार मात्र नभएर जनताहरू पनि लागिपर्नुपर्ने धारणा राखे।

आफ्नो गृह जिल्ला भएकाले धनकुटालाई प्राथमिकतामा राखेर काम गर्ने मन्त्री राईले बताए । खानेपानीको समस्या क्रमशः हल गर्दै जाने भन्दै उनले धनकुटामा खाने पानीमा मात्र नभएर सडक स्तरोन्नति लगायत अन्य विकास निर्माणका काममा पनि पहल गर्ने बचन दिएका छन्।

आफू शासक नभई जनताको सेवक भएको तर्क गर्दै उनले जनताले आफूलाई दिएको मत कहिल्यै खेर जान नदिने दाबी गरेका छन्। विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री राई आइतबार काठमाडौं फर्किएका छन्।