जुरिज किण्डरगार्टेनको ग्र्याजुएसन तथा अभिभावक दिवस

‘सञ्चार जगत् आलोचक मात्र नभई रचनात्मक बन्नुपर्छ ’



भक्तपुर।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार जगत् आलोचक मात्र नभई रचनात्मक बन्नुपर्ने बताएका छन् ।
सूर्यबिनायक नगरपालिका ३ बालकोटस्थित नयाँबस्तीमा रहेको जुरिज किण्डरगार्टेनको ग्र्याजुएसन तथा अभिभावक दिवसमा आज बोल्दै अध्यक्ष बस्नेतले पत्रकारले देश र समाजमा भएका असल अभ्यासहरुलाई उजागर गर्नुपर्ने बताए  ।

उनले देशमा आधारभूत तहदेखि कक्षा १२ सम्मको शिक्षा दिने संस्थाहरुले उत्कृष्ट शिक्षा दिए पनि १२ कक्षा पछि युवाहरु बिदेशिने कारण खोज्नुपर्ने बेला आएको बताए  ।विद्यमान शिक्षा नीतिमा सुधार गरी युवा विद्यार्थीलाई देशमै टिकाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाई थियो । अध्यक्ष बस्नेतले नेपाली विद्यार्थी विदेश जाने क्रम रोक्न स्वदेशमै गरिखाने शिक्षा दिने नीति बनाउनु पर्ने बताए ।

विद्यालयका संस्थापक समेत रहेका बस्नेतले दोलखाको जिरीलाई स्वीजरल्याण्डको जुरिचको नामले चिनिने भएकाले त्यही नामबाट विद्यालय सुरु गरेको बताए ।

कार्यक्रममा पत्रकार महसंघका केन्द्रीय सचिव गोविन्द चौलागाई ,एसओएस हर्मन माईनर बिद्यालयका शिक्षक प्रतिनिधि कृष्णप्रसाद गौतम,ब्रम्हनगर टोल सुधार समितिका अध्यक्ष मिना कार्की लगायते विद्यालयले बालबालिकाको मनोविज्ञानलाई बुझेर स्तरीय शिक्षा प्रदान गरिरहेको बताए ।

जुरिचका प्रिन्सिपल अमृत राउतले बिद्यालय ब्यबस्थपान समुदायमा बिद्यालय प्रतिको भरोसा बढाउनका साथै शैक्षिक र समाजिक कार्यमा समेत सकृय रहेको बताए । विद्यालयले संस्कारयुक्त शिक्षाको साथै उचित स्याहार दिएर अभिभावकको मन जितिरहेको प्रिन्सिपल अमृत राउतले बताए ।


कार्यक्रममा बिद्यार्थीले सांस्कृतिक कार्यक्रम ,योग र जुम्माको उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सो अवसरमा उत्कृष्ट शिक्षक तथा शैक्षिक र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा पूर्व संघीय सांसद केदार संजेल,शंकर स्कुलका प्रिन्सिपल शरण चौलागाईं र पत्रकारहरु पुष्करराज बुढाथोकी,रमेश गिरी,मकर श्रेष्ठ र हेमराज ढकाल लगायत समाजका अगुवा र अभिभावकको सहभागिता रहेको थियो ।

विद्यालय स्थापना भएको सातौँ वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रममा युकेजी पुरा गरेका विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्