चर्च ब्वाइजले जित्यो इटहरी गोल्डकपको उपाधि

392
Shares

धरान ।

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौंको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ। शनिबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो।

चर्च ब्वाइजले उपाधिसँगै नगद रु १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आर्मी क्लबले रु पाँच हात पारेको छ। चर्च ब्वाइजलाई च्याम्पियन बनाउन राजेश परियारले निर्णायक गोल गरेका थिए।

उनले खेल प्रारम्भ भएको चौथो मिनेटमा गोल गरेका हुन्। प्रतियोगिताका नायक राजेश नै म्यान अफ दि म्याच घोषित भएर नगद १० हजार पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक राष्ट्रिय जागृति क्लबका प्रवेश दनुवार घोषित भएर नगद रु एक लाख पाएभने उत्कृष्ट डिफेण्डर आर्मीका जितेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका दीप कार्की, उत्कृष्ट फरवार्ड आर्मीका नवयुग श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका सुरजज्यु ठकुरी, उत्कृष्ट प्रशिक्षक सोही क्लबका दर्शन भत्तराज घोषित भएका थिए।

उनीहरूले पुरस्कारस्वरुप जनही रु २० हजार प्राप्त गरेका छन्। प्रतियोगितामा सर्वाधिक गोल गरेका डिफेन्डिङ च्याम्पियन सगरमाथा युथ क्लब मोरङका विमल घर्ती मगर बने।

आयोजक राष्ट्रिय जागृति क्लबका सुमित चौधरी उदयीमान खेलाडी घोषित भए। उनले फुटबल बुट र मेडल प्राप्त गरे। यही चैत १० गतेदेखि सुरु भएको प्रतियोगितामा एक भारतीयसहित स्वदेशी आठ समूहले भाग लिएका थिए।