१० फिल्मकर्मी सम्मानित, समाचार सम्पादक गिरीलाई पत्रकारिता सम्मान



काठमाडौं ।

नेपाल चलचित्र संघको ४९औं साधारणसभाको अवसरमा शनिबार राजधानीमा आयोजित एक समारोहबीच फिल्म क्षेत्रका विभिन्न विधाका ११ व्यक्तित्व सम्मानित भएका छन्।

संघको ४९औं साधारणसभा एवं नेपाली फिल्मकर्मी सम्मान समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएबापत ११ व्यक्तित्वलाई सम्मान गरिएको हो।

सो अवसरमा नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरीलाई पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ। प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, संघका अध्यक्ष तथा समारोहका सभापति वीरेन्द्रनारायण श्रेष्ठ र विभिन्न विधाको सम्मान स्थापना गर्ने संघका पदाधिकारीले सम्मान प्रदान गरेका थिए।

सो अवसरमा शेरबहादुर पोखरेल श्रीविक्रम राणा स्मृति पत्रकारिता सम्मान नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरीलाई प्रदान गरिएको छ।

त्यस्तै, भूपेन्द्रविष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान २०७९ बाट निर्देशक ज्ञानेन्द्र देउजा, द्वारिकाप्रसाद उदय शिवशंकर मानन्धर अभिनेता सम्मान २०७९ बाट अभिनेता शिव श्रेष्ठ, गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मान २०७९ बाट अभिनेत्री गौरी मल्ल र भुवनेश्वर अमात्यनारायण गोपाल स्मृति संगीत सम्मान २०७९ बाट गायिका देविका बन्दनालाई सम्मानित गरिएको छ।

त्यसै गरी हरिबहादुर हीरादेवी श्रेष्ठ डायमन्ड शमशेर स्मृति लेखन सम्मान फिल्म लेखक मौनता श्रेष्ठ, क्वेस्ट इन्टरटेन्मेन्ट मधुकर बस्नेत स्मृति प्राविधिक सम्मानबाट फिल्म सम्पादक नरेन्द्र खड्का, मैयादेवी प्रधान गोपाल भुटानी स्मृति द्वन्द्व कलाकार सम्मानबाट द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठ, हरिप्रसाद द्वारा भगवानदास श्रेष्ठ स्मृति निर्माता सम्मानबाट निर्माता छविराज ओझा, नन्दबहादुर महर्जन वीरेन्द्र पाण्डे स्मृति प्रदर्शक सम्मानबाट प्रदर्शक तीर्थ प्रधान, र राजवीर कायस्थ वैकुण्ठ मास्के स्मृति छायांकार सम्मानबाट छायांकार मञ्जु श्रेष्ठलाई सम्मान गरिएको छ।

सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला र प्रमाणपत्रका साथमा जनही नगद १५ हजार पाँच सय ५५ रुपियाँ प्रदान गरिएको छ।

यी सम्मान संघका पदाधिकारीरूले आफ्ना पुर्खा र सन्ततीका नाममा फिल्मी र पत्रकारितका हस्तीस“ग नाम जोडेर अक्षय कोष स्थापना गरी त्यसको ब्याजबाट नगद प्रदान गर्ने गरिएको संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदयले जानकारी गराए।

समारोहमा संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले कोभिडपछि फिल्म क्षेत्र मृत्य शैयामा पुगेको बताए। श्रेष्ठले केही वर्षअघिसम्म नेपालभर सात सयभन्दा बढी सिनेमा हल सञ्चालनमा रहेकोमा हाल डेढ सयमा सिमित हुन पुगेको बताए। विभिन्न करका कारण हल सञ्चालक मारमा परेको उनको भनाइ छ।

उनले मूल्य अभिवृद्धि करबाहेक विकास शुल्कलगायत ३३ प्रतिशत कर खारेज गर्नुपर्ने माग पनि गरे। संघका उपमहासचिव ओम जैसीद्वारा सञ्चालित कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले फिल्म विधेयकको मस्यौदा तयार पारेर मन्त्रालयमा बुझाएको बाताए। मन्त्रालयले पास गरेर राखे पनि अगाडि नबढेकाले सबै मिले घच्घच्याउने पर्नेमा जोड उनले दिए।

सम्मानति व्यक्तित्वको तर्फबाट बोल्दै अभिनेत्री गौरी मल्लले सम्मान आफैंमा ओजस्पूर्ण रहेको चर्चा गर्दै ३५/३६ वर्षदेखि नेपालबाहिर वा नेपालमै, जहा बसे पनि फिल्म क्षेत्रबाहेक अन्य विषयमा सोच्न नसकेको बताइन्।

संघका पूर्वअध्यक्ष राजकुमार पोखरेलले फिल्म क्षेत्रलाई उद्योग बनाउन नसकिएको जनाउँदै यसका लागि सबै विधाका फिल्मकर्मी र संघ संगठन एक ठाउँमा आउन जरुरी भएको औंल्याए। विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकार, निर्माता, हल सञ्चालक एकअर्काका परिपूरक भएको चर्चा गर्दै संघले अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

आफू फिल्म क्षेत्रमा प्रवेश गर्दा काठमाडौंमा थोरै हल रहेको स्मरण गर्दै उनले भने, ‘हामीले फिल्ममा काम गर्ने बेलामा काठमाडौंमा केवल पाँचवट हल थिए। आज यति धेरै हलमा एकसाथ फिल्म प्रदर्शन हुन्छन्। चलचित्र संघले कुनैबेला शानदार अवार्ड कार्यक्रम गर्थ्यो। त्यसलाई निरन्तरता दिइयोस्, आवश्यक सहयोग बोर्डले गर्छ। हामी अहिले चालू आर्थिक वर्षको अन्त्यमा छौँ। अब आगामी आर्थिक वर्षका लागि थुप्रै योजना बनाउनुछ। केही हलमा अझै बक्स अफिस आएको छैन । बक्स अफिस ल्याउन आग्रह गर्दछु। मैले हलका धेरै समस्या बुझेको छ, आवश्यक सहयोग गर्नेछु।’

कार्यक्रममा प्रथम उपाध्यक्ष कुबेर शर्माले धन्यवाद ज्ञापन गरेका थिए। संघको नया“ कार्यसमिति चयनका लागि शनिबार राति निर्वाचन प्रक्रिया शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्