आँखा स्वास्थ्यमा सराहनीय कार्य

126
Shares

काठमाडौं ।

आँखा स्वास्थ्यका क्षेत्रमा नेपाल सरकारको छुट्टै अस्पताल छैन तर यहाँ एनजीओ, आईएनजीओ मातहतका अस्पतालले उत्कृष्ट सेवा सर्वसुलभरुपमा प्रदान गर्दै आएका छन्।

यसरी आँखा स्वास्थ्यमा सेवा प्रदान गरी नेपाल सरकारलाई सघाउ पुर्‍याउँदै आएको नेपालकै पुरानो नेपाल नेत्रज्योति संघले ४६ वर्षमा ४ करोड ३६ लाख मानिसको आँखा उपचार गरेको छ। यो अत्यन्तै सराहनीय काम हो।

नेपाल सरकारले देशको कानुनको अधीनमा रहेर मानवजातिको सेवामा जुट्ने यस्ता संस्थाहरुको मूल्यांकन गरी सहयोग गर्नुपर्छ।

नेपालमा आँखा सेवाका लागि नेपाल नेत्रज्योति संघ, त्रिपुरेश्वर आँखा अस्पताल, तीलगंगा आँखा प्रतिष्ठान, बीपी कोइराला आँखा प्रतिष्ठान, काभ्रेको रेयुकाई इको मासुनागा आँखा अस्पताललगायतले आ–आफ्नै पहलमा नागरिकको आँखा उपचारलाई सहज र सर्वसुलभ बनाउँदै आएका छन्।

यी संस्थाहरुले नेपाली नागरिकको आँखा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी गाउँ–गाउँसम्म निःशुल्क आँखा शिविर सञ्चालन गर्नेसहित स्क्रिनिङ गरेर आँखाको सामान्यदेखि जटिल शल्यक्रियालाई समेत निःशुल्क गर्दै आएका छन् । यस्ता सेवामा तल्लीन संस्थाहरुको नेपाल सरकारले उच्च मूल्यांकन गरी जिम्मेवारीलाई चुस्त–दुरुस्त बनाउन साथ र सहयोग गर्नुपर्छ ।

आँखा सेवाका क्षेत्रमा अनवरतरुपमा खट्दै आएको नेपाल नेत्रज्योति संघले आफ्नो ४६ औं स्थापना दिवसको अवसरमा हालसम्म भए, गरेका कामका बारेमा सार्वजनिक गरेको छ।

नेत्रज्योति दिवसका अवसरमा सार्वजनिक गरिएको तथ्यांकअनुसार संघको स्थापनादेखि हालसम्म संघको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

त्यसै गरी सन् २०२३ मा मात्र संघले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कुल ३३ लाख ६ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै २ लाख ६५ हजार ८ सय ८५ जनाको आँखाको शल्यक्रिया गरेको छ। त्यस्तै सन् २०२३ मा संघको सञ्जालमार्फत ८ लाख ५ हजार ३ सय १६ जना विदेशी नागरिकले आँखा उपचार गराएका छन् ।

नेपालमा आँखा सेवा लिने विदेशीमा विशेष गरी छिमेकी मुलुक भारतका नागरिक रहेका छन्। आँखा सेवामा दूरदृष्टि राख्ने प्रा.डा. रामप्रसाद पोखरेल (आँखाबा) को पहलमा वि.सं. २०३५ चैत्र १३ गते नेपाली जनतालाई सस्तो, सुलभ र गुणस्तरीय आँखा उपचार सेवा जनताको घर–आँगनमै पुर्‍याउँदै नेपालको अन्धोपन न्यूनीकरण गर्ने प्रमुख उद्देश्यसहित मुनाफारहित, गैरसरकारी संस्थाका रुपमा नेपाल नेत्रज्योति संघको स्थापना भएको हो।

संघले देशैभरि रहेका २८ आँखा अस्पतालहरु, १ सय ५६ आँखा उपचार केन्द्रहरु तथा ४३ जिल्ला शाखाहरुमा ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मूल नारासहित ४६ औं नेत्रज्योति दिवस मनायो।

नेपालमा भन्दा भारतमा आँखा उपचार सेवा महँगो र समय कुर्नुपर्ने भएकाले भारतीय नागरिक नेपालमा आँखा उपचारका लागि आउने गरेका हुन्।

स्वास्थ्य सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै नेपाललाई मेडिकल पर्यटन हबका रुपमा विकास गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर नेपाल सरकारले अध्ययन–अनुगमन गरी सेवा विस्तारमा जोड दिनु उपयुक्त हुन्छ।

यस्ता अवसरलाई सरकारले ध्यान दिई स्वास्थ्य सेवाको गुणस्तर र आर्थिक विकासमा टेवा पुग्ने काममा लगानी गर्ने वातावरण बनाउनु जरुरी छ।