हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

2.35k
Shares

काठमाडौँ। 

विभिन्न मितिमा हराएका २० ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मङ्गलवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ ओटा मोटरसाइकल र २ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २० ओटा सहित २ सय ८५ ओटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १७ ओटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका  प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए । चालु आर्थिक वर्षको हाल सम्म चोरीका २४ ओटा २ पाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ।