नामर्द



तपाईं ‘नामर्द’ त हो नि । युवावयका ऊर्जाशील समय पार्टीमा बिताउनुभयो । के के न गर्छु, देश दुनियाँ बदल्छु भनेर भूमिगत हुनुभयो । मलाई जीवनभर रुनको रुन, दुःखको दुःख । छोराछोरी हुर्काउन कम्ती सास्ती बेहर्नुपरेन । आतङ्ककारीकी स्वास्नी भनेर राज्यका सिपाहीले कहिल्यै चैनले बस्न, खान, निदाउन दिएनन् । समाजले त्यसरी नै हे¥यो । मरेर जानेहरू सहिद बने,  अमर भए तर बाँचेका कतिपयले भूमिगतकामा पनि आफ्नो जोहो गरे । दायाँबायाँ गर्न सक्ने, जान्नेले आफ्नो व्यवस्था मिलाए । परिवारको ख्याल गरे ।

तपाईँ त सोझो पनि हदै सोझो । गोज्याङ्ग्रो क्या ! तलमाथि केही गर्न नसक्ने, नमान्ने । राजनीतिक जीवन नै मोड्नुभयो । झन्डै बुढेसकालमा जागीरमा छिर्नुभयो । एउटै विचार, लाइन, सिद्धान्त, उद्देश्य भएको पार्टीमा त केही गर्न नसक्नेले यो अझै सामन्तवादी चिन्तनले डेरा जमाएको कर्मचारीतन्त्रमा झन् के गर्न सक्नुहुन्थ्यो र ? पार्टीमा त बरु कामको मूल्याङ्कन हुँदो हो । भित्रभित्र कैँची लगाए पनि बाहिर त विरोध गर्न सक्थेनन् होला तपाईँको लगाव र इमान्दारिताको । घुस्याहा र भ्रष्टहरूकै बोलवाला भएको कर्मचारीतन्त्रमा बढी खुट्टा तान्ने पो होलान् । काले काले मिलेर खाऔँ भाले पो हुँदो हो । बहुमत नै चोर, डाँका भएपछि तपाईँजस्ताको के लाग्छ र ?

तपाईं  त एक सुको पनि तलमाथि पार्नहुन्न भन्ने आदर्शवादी मान्छे फेरि । तलबले मात्र के हुन्छ र ? हिजो गाउँमा हुँदा त बरु सकी नसकी दश नङ्ग्रा खियाएर रुखोसुखो खाइएको थियो । बच्चाबच्चीलाई झुत्रो झाम्रो लगाएर भए पनि हुर्काइएको थियो । जागिर खानुभयो । सँगै बसौँ भनेर सहरमा ल्याउनुभयो । यहाँ त झन् आपत् । न खान पुग्छ न केही गर्न । घरबेटीले वर्षैपिच्छे भाडा बढाउँछ । न यसको कुनै मापदण्ड, कानुन छ । न भनेजस्तो सुविधा हुन्छ । न राज्यलाई बहाल कर नै तिरेको देखिन्छ । कोठाभाडा ति¥यो । पानी, बत्ती, फोहोर, यातायात, यता सरसापट, उता सहयोग ग¥यो ठिक्क । तपाईंलाई त फेरि सबैको राम्रो हुनुपर्छ । नाइँ भन्न कसैलाई सक्ने होइन । जसले सरसापट मागे पनि आफू नाङ्गिएर भए पनि दिनुपर्ने । फिर्ता कसैले दिने होइन फेरि । तपाईँले चाहेजस्तो छ र समाज ? तपाईँले ल्याउने भनेको समाजवाद, साम्यवाद, कम्युन छ र यो निष्ठुरी स्वार्थी, समाज, पार्टीमा ? अनि तपाईँलाई चाहिँ आफ्नो घरपरिवारलाई वास्ताव्यस्ता, चिन्ता नगरेर दुनियाँको साखुल्ले बन्नुपर्ने ? मलाई कतै काममा लगाइदिएको भा पनि त केही  राहत हुन्थ्यो । ‘फस्ट क्लास’ भएपछि कहीँ न कहीँ त लगाउन सक्नुहुन्थ्यो होला । त्यो पनि हुन्न रे । कस्तो कस्तो सोचको मान्छे ?

ऊ बेलामा बाआमाले खोजिदिएको घरठाउँको मान्छे भनेर हुन्छ भनिहालियो । सोझो छ,  इमान्दार छ, पढाइमा तगडा छ, राम्रो इलम गर्छ, कमाउँछ भनेर बाआमाले भनेपछि हुन्न भन्न सकिएन । अहिलेजस्तो अवस्था थिएन त्यो बेला । आफैँले खोज्ने कुरा भएन । कि घरपरिवारै छोड्न पर्दथ्यो । तपाईँ भने, कहिल्यै घुमाउन पनि लानुहुन्न । आफ्नो काममा लाग्यो, भयो । लेख्या छ पढ्या छ । लेखेर, पढेर केही भा’छ यो देशाँ, के लेख्ने पढ्नेको कदर छ ? त्यही एउटा जागिर खाने प्रमाणपत्र सम्म भा’छ । अरु के दिएको छ र ? पढ्नेलाई यो राज्यले । नपढे पनि गाँठ हुनेको कति सम्मान छ, कति महिमा छ ? तपार्इँले पिएचडी नै गरेर पनि के अर्थ त, खोइ ? आखिर पैसा नभई व्यवहार नचल्ने रहेछ क्यारे !

भूमिगत हुँदा मर्ने, बाँच्ने थाहा थिएन, ठिकै हो भनौँ । यसै भनेर चित्त बुझाऔँ भने पनि, हेर्नु न शान्ति प्रक्रियापछि आजसम्म प्रायःले आफ्नो सुरक्षा गरिसके । घर व्यवस्था मिलाइसके । सेटल भइसके । काठमाडौँ र यस्तै सहरमा घर लिइसके । घडेरी किनिसके । छोराछोरीलाई काठमाडौँ उपत्यकाका सिद्धार्थ वनस्थली, लिटिल एन्जेल्स, बुढानीलकण्ठ, सेन्ट जेभियर्स, सेन्ट म्यारिज, रोजवर्ड, जेम्स, पाठशाला, रातो बंगालाजस्ता राम्रा स्कुलमा पढाएका छन् ।

चित्त बुझाउने ठाउँ कहीँ छैन । ठुला नेता, सिडिओ, प्रिन्सिपललाई भनेर यस्ता स्कुलमा छोराछोरी भर्ना गरेको भा’पनि त सन्तोष मान्ने ठाउँ हुन्थ्यो । सिडिओ तपाईंको मर्यादा बराबरको मान्छे  होइन र ? कति त तपाईँका साथी नै होलान् । आफ्नो जिन्दगी जसरी कटे पनि छोराछोरीको भविष्य त उज्ज्वल हुँदैछ भनेर मन बुझाउन हुन्थ्यो । त्यति पनि गर्न सक्नुभएन । तपाईँ पछिकाले तपार्इँको भन्दा दोब्बर तेब्बर प्रगति गरिसके । अस्ति भर्खर समान भन्ने कमरेडले घर किनेछन् । कुन नेतालाई हो भनेर छोरालाई जेन्ट जेभियर्समा भर्ना गरेछन् । उनी त भूमिगत पनि भएका थिएनन् । शान्ति प्रक्रियापछि हो माओवादी हुँ भन्दै हिँडेको । पहिले त राजावादी हुँ भन्दै माओवादीलाई गर्नुसम्म गाली गर्दथे । त्यागेन्द्रले नयाँबानेश्वरमै ८ आना जग्गा किनेछन् । दातारामले इलेक्ट्रिक गाडी लिएछन् । हैन पैसा पनि कहाँबाट आउँछ हो ती चल्लाहरूलाई ? व्यापार, व्यवसाय, जागिर केही गरेको पाइन्न । त्यस्तो व्यस्त पनि भएको देखिन्न । तपाईँको त के हो के हो पारा ? नेता, हुनेखानेलाई अनावश्यक रूपमा भेट्न हुन्न भन्नुहुन्छ । राष्ट्रसेवक सहसचिव भएर डिभी भर्न हुन्न भन्नुहुन्छ । दुनियाँले भरेका छन् । टाउके नेता, ठुला कर्मचारीले नै छोराछोरी, नातिनातिना, आफन्त जति सप्पै विदेश पठाएका छन् । डिभी परेर गा’का छन्, कोही ग्रिनकार्ड लिएर बसेका छन् । तपाईँलाई चाहिँ खूब राष्ट्रवादी हुनुपर्छ । नेपालको माटो कोपरेर बस्नुस् अब ।

कति इमान्दारिता देखाउन परेको ? एक रुपियाँ खानहुन्न रे ! आफ्नो भागमा पनि केही पर्छ भने मन्त्री, हाकिमले भनेको मानिदिए भइहाल्यो । कार्यालयमा यसो गरौँ उसो गरौँ भनेको मान्नुहुन्न रे ! केही गर्ने आँट नभएको नामर्द भन्छन् रे साथीभाइ सबैले पनि तपाईंलाई, मैले थाहा पाएको ! यसरी खाँदा जनताले तिरेको करको पाप लाग्छ रे ? तपाईं मात्रै इमान्दार भ‘र देश बन्ने हो र ? यसको कुनै मूल्य, मूल्याङ्कन छ यो भ्रष्ट समाजमा ? मलाई त डिप्रेसन होलाजस्तो भइसक्यो । कहिले त मरूँ मरूँ जस्तो लाग्छ ।

शान्ताको अशान्त भाषण सुनेर आदर्श दङ्ग पर्छ । शान्ताले आजका दिनसम्म कहिल्यै यस्तरी भनेकी थिइनन् । मेरी प्राणप्यारी श्रीमतीको मुखबाट आएको शब्दवर्षा नै होइन यो । सधैँ चुपचाप हुन्थिन् । पार्टीलाई भजाएर खान नसक्ने, नहुने स्कुलिङले आदर्शलाई तस्कर, माफिया, सन्दिग्ध व्यापारीसँग सङ्गत गर्नै दिएन । पत्रकारिता-मिसन पत्रकारितामा लागेर पनि पत्रकार आचारसंहिता विपरीत मोलाहिजा गर्न सकेन । पत्रकारको पारिश्रमिक कति नै हुन्थ्यो र ? विज्ञापन र समाचार फरक फरक भनेर पढेको । समाचार लेख्नेले विज्ञापनका लागि बार्गेनिङ गर्नहुन्न भनेर जानेको । त्यसैले विज्ञापन पनि मागेर, उठाएर कमिसन लिन सकेन उसले । आफ्नै स्वाभिमानले बाँच्न पाइन्छ, कसैसँग सम्बन्ध राख्न पर्दैन, अनावश्यक वादविवाद गर्नपर्दैन भनेर शान्तासँग सल्लाह गरेरै ३३ वर्षको उमेरमा लोकसेवा छिरेको हो आदर्श । शाखा अधिकृत हुँदै सहसचिव पनि त भयो । यही बिचमा ‘नेपालमा भ्रष्ट्राचार: कारण र करणी’ विषयमा पिएचडी ग¥यो । हो, पहिले खरदार, सुब्बाको जागिरले राम्रै घरव्यवहार चल्थ्यो ।  अहिले फस्ट क्लासका लाई पनि धौधौ छ चल्न ।

आदर्शले झन् प्रत्यक्ष प्रस्ट देख्यो यो कर्मचारीतन्त्रभित्र झन् कति भ्रष्टहरू रहेछ भनेर ? कति राजनीति, कूटनीति, फुटाऊनीति चल्दो रहेछ भनेर । माक्र्सले भन्ने गरेका थिए नि ! यो दलाल पूँजीवादीतन्त्रले यस्तै गर्छ भनेर । वास्तवमा त्यही रहेछ । इमान्दार ढङ्गले काम गर्नैलाई निकै गाह्रो छ । स्वार्थअनुकूल भएन भने सचिवले पनि हप्काउँछ । मन्त्रीलाई कुरा लाउँछ । आदर्शकहाँ आउनुपर्ने फाइल छलाएर पारित गर्छ । हिजो राम्रैका लागि लड्यो । गणतन्त्रका लागि लेख्यो । जेल बस्यो । सेना, प्रहरीको चरम यातना भोग्यो । अहिले पनि ज्यानमा दर्द हुन्छ ।

आदर्श सम्झन्छ ः जागिरमा त झन् त्यो भन्दा बढी मानसिक यातना हुँदोरहेछ । शारीरिक यातना बिर्सन सजिलो, मानसिक यातना बिर्सनै गाह्रो । जागिर खाएपछि काम नगरी नहुने, गरौँ मन नपर्ने काम पनि गर्नपर्नै । कि राजीनामा नै दिनुपर्‍यो, तत्काल त्यस्तो अवस्था पनि छैन । मन्त्री, सचिव नै गुट बनाउँदारहेछन् नेताले जस्तै । आफ्ना लागि हरेक विषयमा कागज मिलाउन सिपालु । चेन अफ कमान्ड पनि तोड्ने आफूलाई पर्दा । दुईचारजनाको गुट मिलेपछि सबै हुने । राजनीतिक पार्टीको प्रभाव ठ्याक्कै कर्मचारीतन्त्रमा पनि फोटोकपी । जेहोस् आदर्श कानुनभन्दा विपरीत गएर केही गर्नैवाला छैन । जे गुमाउन परे पनि परोस् । मर्नै परे पनि परोस् ।

हुनत आदर्शलाई यस्ता कुराले कहिल्यै छुँदैन । यस्तो कुरामा बाल मतलब नदिने मान्छे हो । तर कहिल्यै कुरा नकाट्ने, वचन नलगाउने, आलोचना, अपमान नगर्ने शान्ताको शब्दवाण सँगैका केही यथार्थको समीक्षा गर्दा उसलाई भित्र कता कता खिन्नता लागे झैँ हुन्छ । आँखा बन्द गरेर तीन चारचोटी लामो सास तान्दै फाल्दै गर्छ । एकछिन ध्यान बस्छ । तर पनि तीनछक पर्छ, शान्ताको त्यो गुनासो सुनेर । किन शान्तामा एक्कासि अशान्ति पैदा भयो भनेर । छ्या ! कस्तो नराम्रो शब्द प्रयोग गरेकी ? नामर्द रे ! शान्ता हिजोआज युट्युबमा निकै झुम्मिन्छिन् । अस्ति भर्खर टिकटकमा पनि निकै लगाव थियो । कतै त्यहीँका नकारात्मक कुरा सुनेर, हेरेर त होइन ? सँगै भूमिगत भएका आफ्नै साढुदाइको समृद्ध अवस्था देखेर पनि हो कि ? साढुदाइ दुई तीनचोटी मन्त्री भइसके । राम्रै छ क्यारे बैँक ब्यालेन्स । जेठानी दिदीले पनि मेरैमा आइजे, तेरोमा आउन्न । धेरै जना बसेर कुरा गर्ने ठाउँ छैन । ज्वाइँले केही गर्न सक्नुभएन, भनेको मान्नुभएन भनेर त अस्ति सालाको बिहेमा भनेको मेरै कानले सुनेको हो ।

कम्युनिस्ट भन्ने त नाम मात्रै रह्यो अब । आदर्श, मूल्य, मान्यता त मरि नै सक्यो । ७६ वर्षदेखिको त्यत्रो आन्दोलन, सातसाले क्रान्ति, १७ साल, २८ साल, ०४६ साल, ०५२ साल, ०६२।०६३, स्टिल क्यामेराको रिल झैँ वर्तमानमा स्मरण बनेर घुमिरहन्छ । त्यत्रो आन्दोलन, सङ्घर्ष, कसरी धूलीसात भयो है आज ? कसरी साम्राज्यवाद, पूँजीवादले सिध्यायो है आज ः क्रान्तिकारी पार्टी र नेतालाई, नेपालको कम्युनिस्ट क्रान्तिलाई, विश्व सर्वहारा क्रान्तिलाई ? जताततै दलालतन्त्र र उपभोक्तावादी संस्कारले घेरेको देख्दा डाँको छोडेर रुन मन लाग्छ आदर्शलाई । तर सम्हालिन्छ । विचारक, क्रान्तिकारी, यथार्थवादी, मार्क्सवादी, भएर हरेस खानहुन्न । भोलिको पुस्ताले इतिहास पढेर केही न केही त गर्न सक्ला नि ? हामीले त जनयुद्धमा लागेर पनि केही बदल्न सकिएन ।

एउटा लोकतान्त्रिक गणतन्त्रसम्म आयो । त्यसमाथि पनि चौतर्फी प्रहार भइरहेको छ । आफैँले लडेर ल्याएको गणतन्त्रमा अरुले जनयुद्धको विदू्रपीकरण गरिरहेका छन् । हामीले जनयुद्ध भन्न पनि डराउनुपर्ने अवस्था छ । सम्झौताको एक थान संविधान त आयो । त्यो पनि कक्टेल जस्तो छ । राजावादी र गणतन्त्रवादी सँगै बस्ने घरजस्तो छ । राजावादीहरू पछाडि फर्कन पर्छ भन्दैछन् । हामीहरू भने अगाडि बढ्ने कुरै छैन । दिशा नै निर्दिष्ट छैन । यसरी गोलचक्करमा फस्दा त यस्तो हालत भयो नि!

शान्ताको शब्द बिर्सन नसके पनि उनीप्रति बिन्दु बराबर पनि रीसराग छैन आदर्शमा । अति नै चोखो माया गर्छ शान्तालाई । कतिले शान्ति प्रक्रियामा आएपछि भूमिगतकालमा गरेको जनवादी, अन्तरजातीय बिहे बदर गरे, श्रीमतीसँग स्तर मिलेन भनेर अर्को बिहे गरे तर आदर्शले कहिल्यै त्यस्तो सोचेन । गाउँकी सामान्य नारी शान्तालाई आफूसँगै सहरमा ल्यायो । दुईचार कुरा सिकायो । शान्ति प्रक्रियामा आएपछि नै एसएलसी गरायो । शान्ताले पनि आदर्शलाई माया, आदर, सम्मान गर्थिन् ।

यही भएर त यो लालजोडी आजसम्म टिकेको हो । आदर्शको दिमागमा ती पुराना दिनका सम्झनाहरूको नाराजुलुस नै लाग्छ । आफू भूमिगत हुँदा शान्ताले जान नदिएको भए, घर नसम्हालेको भए हालत आज झन् कस्तो हुन्थ्यो होला ? छोराछोरीको अवस्था यत्तिको पनि हुन्थेन होला । बाआमाले पाउनु सास्ती पाउनुहुन्थ्यो । उनैले परिवर्तनका लागि जानु भनेकाले त म जान पाएको हो नि ! उनलाई पनि सँगै भूमिगत बनाउन खोज्दा खोज्दै पार्टी शान्ति वार्तामा आउने भएकाले त्यो अवस्था आएन । पढाइमा राम्रो र पढ्न, लेख्न सक्ने भएकाले गणतन्त्र आएपछि लोकसेवा दिइयो । नाम पनि निस्कियो । किनकि अन्त जाने ठाउँ  थिएन । पार्टी, सिद्धान्त, नीतिबाहेक कसैको पछि नलाग्ने भएपछि आफैँ स्वरोजगार हुनुको विकल्प थिएन । व्यापार, व्यवसाय गर्ने बजेट थिएन । ऋण कसैले पत्याउँथेन । सहयोग गर्न पार्टीमा आफ्ना नातापाता, नेता, नजिकका नेता थिएनन् न त घरको अवस्था नै दरो थियो । धनाढ्य व्यापारीसँग सङ्गत हुने कुरै भएन । विदेश जान पनि मन लागेन त्यतिबेला । राष्ट्रवादको अम्मलले खूबै लठ्ठ बनायो ।

अन्तर्मुखी स्वभावको मानिस हो आदर्श । नेतासँग कमरेड्ली र व्यावहारिक सम्बन्ध राख्ने बाहेक अरु गिभ एण्ड टेक गर्न, घ्यू, तेल लगाउन, अत्तर घस्न जान्थेन ऊ । कुन्द्रे मुन्द्रेले झैँ टेबल ठोक्न पनि सक्थेन किनकि उसले स्कुले जीवनदेखि नै सिकेको थियो, कम्युनिस्टहरू अनुशासित, आत्मअनुशासित बन्नुपर्छ, पार्टीको इमान्दार सिपाही हुनुपर्छ, पद, प्रतिष्ठाको पछि लाग्नुहुन्न, पार्टीमा मरेर योगदान गर्नुपर्छ भनेर । यही स्कुलिङले त आज यो ठाउँमा छ नि आदर्श ।

शान्त हुन खोज्छ सक्दैन । जागिरमा रहेपछिका दिनको याद बारम्बार आइरहन्छ । शाखा अधिकृतमा नाम निकाल्ने बित्तिकै अन्तर्राष्ट्रिय विमानस्थलमा उसको पोस्टिङ भयो । त्यहाँको जालोबारे राम्ररी थाहा थिएन । हुने कुरा पनि भएन । सोझो मान्छे, भूमिगत भएर राजनीति, पत्रकारिता बुझे पनि कर्मचारीतन्त्रको जालोबारे अनविज्ञ थियो । जालोको गिरोहले सुन तस्करीमा सघाउन राखेको प्रस्ताव नमान्दा उल्टै अख्तियारमा उसकै विरुद्ध मुद्दा दर्ता गराएछ । अचम्मै, कस्तो जमना ? सनातन शास्त्रमा लेखिएको कलियुग भनेको यही त होला ? नखाएको पनि विष लाग्ने ? कस्तो हो माफियातन्त्रको जालो ? कसरी जकडिएको पुँजीवादको जरा ? कस्तरी जेलिएको दलालीतन्त्रको तार ? उफ् ! कसरी हो तोड्ने ? त्यत्रो मुक्तियुद्ध, झापा विद्रोह, जनयुद्ध, जनआन्दोलनले त छिनाउन सकेन ।

म एउटा जागिरेले के गर्नसक्छु र ? केही नगर्दा त अख्तियारमा मुद्दा हाल्ने दलाल र भ्रष्टतन्त्रले खाएको भए ज्यानै लिँदो हो । हिजो सँगै लड्न, मर्न हिँडेका साथीहरू त दलालतन्त्रकै गोठमा छिरेर हामीविरुद्ध मुद्दा हाल्छन् भने जागिरबाट समाज, देश बदल्छु, केही सुधार गर्छु भन्नु दिवासपना मात्रै हो । नकराइकन जागिर खाएर बसे पनि हुने हो तर के गर्नु ‘नोस्टाल्जिया’ ले सताइहाल्छ । तैपनि अब सकेसम्म नराम्रो नगरी टिक्न सक्नु नै सबैभन्दा उत्तम विकल्प हो । अहिले सोच्ने र गर्ने यत्ति हो । भोलि अवकाशपछि के हुन्छ, के गरिन्छ, त्यो त्यतिबेला नै निक्र्याैल होला ।

आदर्शलाई ठ्याक्कै तीन वर्ष लागेछ, अख्तियारबाट सफाइ पाउन । न क्षतिपूर्ति न झूटो मुद्दा दायर गर्नेलाई दण्डको नै व्यवस्था । माफियातन्त्रको यो जालोले दिएको मानसिक तनावको लेखाजोखा गरिसाध्ये नै छैन । ऊ यति माया गर्छ कि शान्तालाई ? बाहिर भएका पिर, पिडाबारे शान्तालाई केही भन्दैन मन दुखाउलिन् भनेर । अख्तियारमा मुद्दा परेको कुरा थाहा पाएको भए शान्ता झन् कति दुख्दी हुन् ? आदर्शको आँखा अगाडि कार्यालयको दृश्य झल्झली आउँछ । सचिवले आफूभन्दा कनिष्ठलाई लिएर काम गर्ने गरेको । आफू सचिवपछि वरिष्ठ रोलक्रमको सहसचिव भए पनि सल्लाह नगरी काम गर्ने, निर्णय लिने गरेको, आफूलाई जसरी पनि त्यो काम गर्न धम्की दिएको । ऐन, कानुनमा अडिएर काममा अझ बढी प्रोएक्टिभ हुनखोज्दा अरु कर्मचारी, सेवाग्रहीसँग उल्टै राजनीति गर्छ, केही गर्न जान्दैन, मान्दैन भनेर आफ्नाविरुद्ध नकारात्मक र भ्रामक कुरा गरेको ।

मन्त्रीको ठाडो आदेशमा हो वा सचिवकै मति बिग्रेको हो ऊ केही बुझ्न सक्दैन । तैपनि ऊ दिक्क मान्दैन । कहिलेकाहीँ पीडा महसुस भएजस्तै भए पनि भन्छ, देखाजायगा ! यिनीहरूले मलाई चिनेकै छैनन्, म इस्पात हुँ भनेर । मर्न तयार छु, झुक्न तयार छैन । सिध्दिन तयार छु यिनीहरूको गलत बाटोमा हिँड्न सच्चिन तयार छैन । मिडियामा दिनहुँ आइरहेका भ्रष्ट्राचारसम्बन्धी समाचारका शीर्षक पढ्दा एक्लै खुसी हुँदै दङ्ग पनि पर्छ, आफूसँगै भूमिगत भएर सांसद, मन्त्री भइसकेका, जागिरमा छिरेका साथी र लामो समयदेखि जागिरका नाममा लुट्दै आएका पुरानो सत्ताका साथीसँगको साँठगाँठ देखेर । अख्तियारले उनीहरूलाई एकैसाथ पक्रेर मुद्दा चलाएको समाचार पढ्दै अठोट गर्छ, दुवै छाक खान नपाइएला, छोराछोरीलाई राम्रो शिक्षादीक्षा नदिइएला, घर, गाडी किन्न नसकिएला, तर म आफ्नो अडान छोड्दिन । बरु सामान्य कोठामै बसौँला, रुखैसुखै खाउँला । बाबूनानीलाई सरकारी विद्यालय, क्याम्पसमै पढाउँला । यस्ता समाचारमा शान्ता र छोराछोरीको पनि आँखा परोस् भनेर कहिलेकाहीँ पत्रिका किचनमा राखिदिन्छ ।

जाँडरक्सी, चुरोट, खैनी जस्ता अम्मलबाट सधैँ टाढा रहने आदर्शको नराम्रो साथीसङ्गत छैन । त्यसैले ऊ अनावश्यक फाल्तु र फोकट गफमा समय फाल्दैन । हरेक फुर्सदको समय अध्ययन, लेखनमा नै लगाउँछ । ऊ योग, प्रणायाम, ध्यानमा लागेको पनि धेरै भइसक्यो । ६० कै दशकमा हो उसले यसबारे अध्ययन गरेको । दिमाग, मन शान्त पार्ने उसको उपाय भनेकै अब यही हो । त्यही भएर एकदिन आदर्शमा फ्ल्यासब्याक हुन्छ : संसार बदल्नुछ, सुरु आफैँबाट गर्नुछ । आहा ! क्या गजब भनाइ । स्वामी विकासानन्दले प्रतिपादन गरेको मनोक्रान्तिको यो नारा सुन्दा नै उसमा शान्ति छाउँछ । बिस्तारै शान्तालाई पनि योग, प्रणायाम, ध्यानमा जोडाउँछ ।

ऊ त योग गुरु भइसकेको रहेछ । उसको प्रवचन युट्युबमा पनि हालिँदोरहेछ । एक्कासी युट्यबमा आँखा पर्छ शान्ताको । आदर्श प्रवचन दिँदै थियोः श्रद्धेय योगी मन, दुःखको कारण नै अज्ञानता हो । बुद्धले भन्नुभए झैँ दुःख छ, दुःखको कारण छ र यसको निवारण पनि छ । उहाँले भन्नुभए झैँ हामी सबै बुद्ध नै हौँ तर हामी सुतेका बुद्ध हौँ, बुद्ध मात्रै उठेको बुद्ध हो । त्यसैले हामी पनि उठ्न जरुरी छ, लोभ, क्रोध, पाप, अहङ्कार, ईर्ष्याबाट । अरु कस्ता छन् भन्दा पनि आफू कस्तो हुने भन्ने कुरा प्रमुख हो । आफूलाई बाहिर होइन आफैँभित्र खोज्ने हो । बाहिर भन्दा सुन्दर संसार आफैँभित्र छ । आफूलाई नचिनेर दुनियाँलाई खोज्दै हिँड्दा आज बेकारमा दुःखी भइरहेको छ मान्छे । अरुले भ्रष्ट्राचार गर्छन्, लुट्छन्, अन्याय, अत्याचार गर्छन्, त्यो उनीहरूको कुरा हो । आफूलाई प्रकृतिले जस्तो बनायो, आफू कुन ‘इन्टलीजेन्स’ लिएर जन्मेँ भन्ने कुरा प्रमुख हो । त्यसैले कहिल्यै पनि आफू र आफ्नो परिवारलाई अरु र अरुको परिवारसँग तुलना गर्न हुँदैन । यसो गर्दा झन् पीडा हुन्छ । दुःखी भइन्छ ।
आदर्शको प्रवचन सुन्दा सुन्दै शान्ताको मन भावनाको सागरमा पौडिन थाल्छ । हिमालबाट हिँउ पग्लदैँ पानी बने झैँ उनको ह्दय पग्लिन थाल्छ । त्यो पग्ल्याइ आँखारुपी निकासबाट तपतप गर्दै बाहिरिएर हिमनदी बन्छ । अनि मनमनै कसम खान्छिन्, अब त म मेरो ‘राजा’सँग सबै कुरा गर्छु ।

शान्तालाई आदर्श कहिले आउला र मनको बह सबै पोखूँला जस्तो भइरहन्छ । आज शान्ता शान्त, पूरै शान्त छिन् । बादल हटेपछिको आकासजस्तै उजेलो छ उनको मोहडा । साँझ खाना खाएपछि आदर्श र शान्ताबिच भलाकुसारी सुरु हुन्छ ।  शान्ता माफी माग्दै भन्छिन्, हजुरलाई मैले नचिनेको होइन नि । के भयो भयो आफूलाई सम्हाल्नै सकिन त्यो दिन । अरुको कुरा सुन्दा, मिडिया, युट्युबका कुरा पढ्दा, दिदीभिनाजूको प्रगति आदिउदी, घरको अवस्था, बाबूनानीको सामान्य स्कूलको पढाइ, हाम्रो उही दिनचर्या आदि देख्दा मन एकोहोरिएछ । अस्ति मिडियामा अख्तियारले नक्कली भूटानी शरणार्थी, सुन तस्करी, ललिता निवास, टेरामेक्स के के प्रकरणमा को कोलाई समातेको समाचार पढेपछि मेरो मन फेरिँदै थियो, फेरि तपाईँ त योग, प्रणायाम, ध्यानको गुरु बनिसक्नुभएको रहेछ ।

आज यट्युबमा तपाईंको प्रवचन सुन्दासुन्दै भावुक भएँ । त्यसले मेरो दिव्य चक्षु नै खुल्यो । अज्ञानता नै दुख्ख रहेछ भन्ने थाहा पाएँ । हैट ! लाई अख्तियारले पक्रेको समाचार पढ्न परेको भा के हुन्थेँ होला म ? दुनियाँले हामीलाई के भन्दो हो ? यति दुःखकष्ट गरेर कमाएको इज्जत कहाँ पुग्दो हो ? वास्तवमा तपाईँले भनेको ठिक रहेछ । बेठिक त लुटेरा, डाँका, चोर, भ्रष्ट्राचारी, नियम कानुन नमान्नेहरू, माफिया, तस्करसँग सङ्गत गर्नेहरू, वर्ग बिर्सनेहरू, सहिद, घाइते, अपाङ्गता भएका, बेपत्ता र उनीहरूको परिवारलाई भजाएर खानेहरू पो हुन् । मैले त्यति तल्लो स्तरको शब्दले प्रहार गरेँ तपाईँलाई । चोट दिएँ । माफ दिनु ल । म पनि त अबुझ जीवनसाथी होइन नि ।

त्यस्तो भएको भए हिजो तपाईँलाई परिवर्तन हुन्छ भने भूमिगत हुनुस् भन्थिन नि ? हजुरसँग माफी माग्दा ममा कुनै ग्लानी छैन । मन हलुङ्गो पो भएको छ । फेरि मैले तपाईँलाई अन्तरआत्मादेखि त्यसो भनेको पनि होइन नि ? हिजो आवेगमा भनेको थिएँ । आज विवेकले यसो भन्दैछु नि ! आवेगमा भनेको कुरामा कुनै सत्यता हुँदैन नि ! ल, मैले फिर्ता लिएँ त्यो शब्द । अब बाहिर जो जो जे जे गर्छन् गरिरहुन्, हामी हाम्रै भित्री संसारमा रमाऔँ । नभन्दै अरुलाई बदल्न खोज्नू मूर्खता रहेछ । आफैँ बदलिनु महानता रहेछ ।

धेरैपछि आदर्शको आँखा टिल्पिलाउँछ । बिस्तारै त्यो आँसु हिमालरुपी दुई गालाबाट ओरालो लाग्छ । अनि भावुक स्वरमा शान्ताको केस मिलाउँदै भन्छ : होइन, मैले तिमीलाई त्यसरी लिएकै छैन, त्यो आवाज तिम्रो अन्तस्करणको हो भन्ने लागेकै छैन । तिमीले कुनै अपराध गरेकी छौ र ? माफी नै माग्नुपर्ने ? यहाँ कति अपराधीलाई त किलोको किलो फूलमालाले स्वागत गरिन्छ । पुरस्कार दिइन्छ । तिमी त मेरी प्राणप्यारी हौ । तिमी छौ र त म छु शान्ता ।

नारीमन झन् कोमल ! बर्बर आँसु झार्दै शान्ता आदर्शलाई अङ्गालो हाल्छिन् । दुवैजना अत्यन्तै गहिरो मायामा डुबेर चुम्बनले लठ्ठ हुन्छन् । अनि एकछिनपछि निद्राबाट ब्युँझिएर अर्कै संसारमा गए झैँ झुमिँदै नाच्छन्, जीवन विज्ञानको यो गीतमा,
कति रमाइलो हो कति रमाइलो ? आहा
जति जियो जिन्दगानी उति रमाइलो…….

प्रतिक्रिया दिनुहोस्