एमाले अध्यक्ष ओलीले हेरे ‘महाजात्रा’

126
Shares

काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र ‘महाजात्रा’ हेरेका छन्। ‘महाजात्रा’ हेर्न ओलीसहितको टोली सोमबार काठमाडौंको सुन्धारास्थित सीटीसी सेन्टरमा पुगेको हो।

बेलुका साढे ५ बजेको शो हेर्न ओलीका साथमा श्रीमती राधिका शाक्य, उपाध्यक्ष ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंखर पोखरेल, कोमल ओलीसहित नेता हलमा पुगेका थिए। चलचित्र निर्माण पक्षका अनुसार उनीहरु आफैँले फिल्म हेर्ने प्रबन्ध मिलाएर हलसम्म पुगेका हुन्।

चलचित्र प्रदर्शनमा आएको दिन निर्माण पक्षलाई शुभकामना दिँदै ओलीले आफू पनि हेर्न आउने प्रतिबद्धता जनाएका थिए। चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको चलचित्र ‘महाजात्रा’लाई दर्शकले खुब मन पराएका छन्।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ।