नृत्यदेखि फेस्टिभल मेनेजरसम्म कृष्णको कमाल

1.03k
Shares

काठमाडौं ।

रौतहट चन्द्रपुर नगरपालिकाका कृष्ण रसाल साँढे दुई दशकभन्दा लामो समयदेखि नृत्य कलाकार तथा नृत्य निर्देशकका रूपमा सक्रिय छन्।

बाल्यकालदेखि नृत्य भनेपछि हुरुक्कै हुने उनी स्कुलका कार्यक्रम, पूजा, एकादशी मेलाजस्ता कार्यक्रममा नृत्य गर्न अघि सरिहाल्थे। जसका कारण एसएलसी पार गर्दासम्म उनले विभिन्न पुरस्कार जितिसकेका थिए।

एसएलसी दिएर काठमाडौं आएका उनले नृत्यका लागि ललितकला क्याम्पसमा संगीत लिएर पढे। ‘सपना त हिरो बन्ने नै थियो। त्यही भएर सिनेमा हेरेर अनुहारको हाउभाउ मिलाएर नाच्थें, अभिनय गर्थें। नृत्य त रगतमै थियो । त्यसैैले बिजुलीबजारस्थित निर्देशक प्रताप सुब्बाको डाइमन्ड इन्स्टिच्युटमा नृत्य सिकें,’ कृष्णले सुनाए।

डाइमन्ड इन्स्टिच्युटमा उनलाई नृत्य निर्देशक कमल राईले नृत्य सिकाउँथे। पछि कमलकै साथ लागेर उनले विभिन्न फिल्ममा कोरस कलाकारका रूपमा नाच्न थाले। एभरेस्ट कल्चर ग्रुपमार्फत अन्नपूर्ण होटलमा सांस्कृतिक नृत्य गर्न थाले। नृत्यलाई अँगाल्दै जाँदा कृष्णले कमल राई, राजु शाह, वसन्त श्रेष्ठजस्ता नेपाली सिने क्षेत्रका कहलिएका नृत्य निर्देशकका साथ सयौँ गीतमा नृत्य गर्ने मौका पाए।

गर्दै जाँदा पिरती आफैं हुँदो रहेछ नामक फिल्ममा दिलिप रायमाझी र शिखर आरोहणमा क्षितिजा शाक्यसँग लिड डान्स गर्ने मौका पनि पाए। नृत्य निर्देशक कमल राईको सहायक निर्देशकको रूपमा करिब डेढ सय गीतमा काम गरेर खारिएपछि उनले पूर्णरूपमा आफैं नृत्य निर्देशन गर्न थाले। पहिलोपटक साडीको छेउ पञ्जाबी कुर्ता बोलको गीतको म्युजिक भिडियो निर्देशन गरेका उनले त्यतिखेर ईश्वर थापालाई लिएर अर्को म्युजिक भिडियो निर्देशन गरे।

आजको दिनसम्म आइपुग्दा कृष्णले दर्जनौं लोक दोहोरी गीतको म्युजिक भिडियोमा नृत्य गरेका छन् भने दुई दर्जनभन्दा म्युजिक भिडियोका लागि नृत्य निर्देशन गरेका छन्। भगवान भण्डारीको वनमा काँडा छ, रामचन्द्र काफ्लेको लाठी चार्ज नगर्, नवराज घोरासैनीको मलाई सम्झी बेसीमा झरहै, बिहे गरे हतारै हतारमा, गहिरो फेवा तालजस्ता चर्चित गीतमा नृत्य र मोडलिङ गरेका उनले बंगाली फिल्म सुनैनाको गीतसँगै, जी म्युजिक कम्पनीले प्रस्तुत गरेको इन्डियन अँइडल विजेता ज्योतिका टाँग्रेको कुछ तो हे, सलिम खान र सृष्टि खड्काको अभिनय रहेको तोरी पयालै, ओ लल्भलीलगायत गीतमा कोरियोग्राफी गरेका छन्।

‘राम्रो डान्स डाइरेक्टरले गीतले के भन्न खोजेको छ बुझेर कस्तो डान्स कस्ट्युम मागेको छ त्योअनुसार न्याय गर्नुपर्छ। म्युजिक भिडियो, फिल्म र स्टेजमा नचाउने तरिका फरकफरक हुन्छ। काम गर्दा म यी सबैलाई ध्यान दिन्छु,’ कृष्ण भन्छन्।

कृष्णले आफूलाई कुशल नृत्य कलाकार र नृत्य निर्देशकसँगै उस्तै फेस्टिभल मेनेजरका रूपमा पनि प्रमाणित गरेका छन्। केही अघिमात्र काठमाडौंलगायत विभिन्न जिल्लामा सम्पन्न १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा उनले आफूलाई कुशल फेस्टिभल मेनेजरका रूपमा प्रमाणित गरेका हुन्।

‘११ देशका तीन सय ५० कलाकार सहभागी मेलामा फेस्टिभल मेनेजर भएर कार्यक्रम सम्पन्न गर्नु आफैंमा चुनौतीको विषय थियो। तर, मैले मागौटा र सालैजोमा नृत्य प्रस्तुतिसँगै त्यो चुनौतीलाई अवसरका रूपमा उपयोग गरेँ। मेलामा सहभागी विदेशी कलाकारलाई नेपालका सांस्कृतिक स्थल वसन्पुर, पाटन दाङ लगेर नेपाली कल्चर र कल्चरल ड्रेससम्बन्धी जानकारी पनि गराएँ। विदेशी कलाकार नेपालको अलौकिक विषय देखेर दंग परेर फर्किएँ,’ कृष्णले सुनाए।