एसईईमा ७७ हजार ५ सय जनशक्ति परिचालन हुने

182
Shares

काठमाडौं ।

यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा २ हजार ६४ केन्द्रका लागि ७७ हजार ५ सय जनशक्ति परिचालन हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सुरक्षाकर्मी र कार्यालय सहयोगीसहित ७७ हजार ५ सय जनशक्ति परिचालन हुने जानकारी दिनुभयो।

बोर्डले प्रतिकेन्द्र १ जनाका दरले २ हजार ६४ केन्द्राध्यक्ष, ४ हजार १ सय २८ सहायक केन्द्राध्यक्ष, २५ हजार २ सय २२ निरीक्षक, ५ हजार ५४ परीक्षा सहायक, १० हजार ८१ कार्यालय सहयोगी र प्रतिकेन्द्र १५ सुरक्षाकर्मीसहित ३० हजार ९ सय ४५ गरी ७७ हजार ४ सय ८५ जनशक्ति परिचालन गरिने भएको छ।

परीक्षामा प्रदेशगत रूपमा कोशीमा ३ सय ७८, मधेसमा २ सय ९५, वागमतीमा ४ सय ४१, गण्डकीमा २ सय १४, लुम्बिनीमा ३ सय ३८, कर्णालीमा १ सय ८६, सुदूरपश्चिममा २ सय ११ र जापानमा १ परीक्षा केन्द्र कायम गरिएको छ।

सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १ सय २७ केन्द्र कायम गरिएको छ भने मनाङ, मुस्ताङ र जापानमा गरी एक–एक परीक्षा केन्द्र कायम गरिएको छ। जापानमा २३ विद्यार्थीले परीक्षा दिँदै छन्।

परीक्षा नियन्त्रक पौडेलका अनुसार सबैभन्दा बढी परीक्षार्थी पनि काठमाडौंमा ३८ हजार ८ सय १३ विद्यार्थीले परीक्षा दिँदै छन्। परीक्षामा परीक्षा केन्द्र साटफेर वा चलखेल हुन नदिन करिब एक साताअघि मात्र केन्द्र सार्वजनिक गरेको हो।

एसईईमा देशभरबाट ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले परीक्षा फाराम भरेका छन्। गत वर्षको परीक्षाको तुलनामा करिब १० हजार संख्या घटेको हो। यो वर्षको परीक्षामा रजिस्ट्रेसन फारम भर्ने छात्रको संख्या २ लाख ५३ हजार ६ सय २७ रहेको छ। छात्राको संख्या २ लाख ५० हजार ७ सय ७२ जना रहेका छन् । त्यसै गरी यो वर्ष १५ जना अल्पसंख्यक विद्यार्थीले आवेदन दिएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पुगिसकेको बताउनुभयो। उहाँले उपत्यकाको हकमा आजबाट प्रश्नपत्र पु¥याउने व्यवस्था भएको तथा प्रश्नपत्र केन्द्र नजिकै रहेको प्रहरी कार्यालयमा राखिने बताउनुभयो। उहाँका अनुसार प्रत्येक विषयको परीक्षाका दिन परीक्षा शुरू हुनु केही समय अगाडिमात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइने व्यवस्था मिलाइएको छ।

परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको छ। परीक्षा व्यवस्थापन सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले गर्नेछ।

परीक्षामा सुरक्षाकर्मीदेखि कर्मचारी परिचालन गर्न प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरेको छ।

यस वर्ष नयाँ लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा आएपछि पहिलोपटक बोर्डले एसईई गर्न लागेको हो। यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् २७ र प्रयोगात्मकमा ४० प्रतिशत अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको छ।

नतिजाअनुसार कुनै दुई विषयमा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन्। दुईभन्दा बढी विषयमा ३५ प्रतिशत नल्याउने विद्यार्थी ननग्रडेड (एनजी) मा पर्ने हुँदा अर्को वर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ।

चैत १५ गतेबाट हुने परीक्षा चैत २७ मा सकिने छ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुनेछ। करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक पौडेलले यो वर्ष कोशी प्रदेशमा ३९ हजार, ६ सय ७५ छात्र र ४० हजार ४ सय ८४ छात्रा, मधेसमा ४२ हजार ४ सय ६ छात्र र ४० हजार ७ सय ७९ छात्रा, वागमतीमा ५३ हजार ३७ छात्र र ५० हजार ४ सय २० छात्रा, गण्डकीमा २१ हजार ६ सय ३६ छात्र र २० हजार ८ सय ५३ छात्रा सहभागी हुने जानकारी दिनुभयो।

लुम्बिनीबाट ४५ हजार २ सय २१ छात्र र ४५ हजार ८ सय ५२ छात्रा, कर्णाली प्रदेशबाट १६ हजार २ सय छात्र र १६ हजार ३ सय १८ छात्रा र सुदूपश्चिम प्रदेशबाट २७ हजार ८ सय ९ छात्र र २८ हजार ७ सय १६ छात्रा सहभागी हुनेछन्।

बोर्डले परीक्षाको प्रश्नपत्र निर्माण र परीक्षाफल प्रकाशित गर्नेछ। प्रदेश मन्त्रालयको सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा हुने परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले परीक्षा सञ्चालन गर्नेछ।