ट्राफिक प्रहरीको होली विशेष चेकिङ : ७८४ओटा सवारी साधन होल्ड

मापसे गरी सवारी साधन चलाउने १३५ र लापसे गरी सवारी साधन चलाउने १२ जना चालक  नियन्त्रणमा



काठमाडौँ। 

फागु पूर्णीमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ओटा सवारी साधनलाई होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

होली पर्वलाई मर्यादित एवं सुरक्षित बनाउने उद्देश्यले काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९० स्थानमा गरिएको विशेष चेकिङको क्रममा सवारी साधनलाई होल्ड गरिएको थियो  ।

होली पर्व मनाउने बहानामा मोटरसाइकलमा तिनजना चढ्ने, हेलमेट नलगाउने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतीपत्र साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उलङ्घन गर्ने ७६९ ओटा दुई पाङ्गे र १५ ओटा चार पाङग्रे सवारी साधनहोल्ड भएका हुन् । जसमा मदिरा पिएर सवारी साधन चलाउँने १ सय ३५ जना चालक रहेका थिए ।

 होल्ड गरिएका सवारी साधनलाई बेलुकी साढे ६ बजेपछि  चालकले ट्राफिक नियम उलङ्घन गरेअनुसारको उल्लेखित कारबाही गरेर छाडिएको प्रवक्ता श्रेष्ठले बताए।

होली पर्वलाई नै लक्षित गरी आजै नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय,लागुऔषध नियन्त्रण ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले विभिन्न स्थानमा गरेको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आएका सबै जनालाई आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयहरुमा पठाइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्