सुन तस्करीका भुरा र ठूला माछाहरु



काठमाडौं ।

छट्टु स्यालको कथा धेरैलाई थाहा छ तर केही युवाहरु यो कथाबारे अझै अन्जान छन् । प्रायः ज्येष्ठ नागरिकहरुको तहमा पुगिसकेका व्यक्तिहरु जो त्यति बेला १० कक्षासम्म शिक्षा ग्रहण गर्ने अवसर पाएकाहरुले नेपालीमा दन्त्यकथा भन्ने किताबमा ‘छट्टु स्याल’ भन्ने एउटा कथा पढ्नुपथ्र्यो। त्यो किताबमा थुप्रै अन्य कथाहरु पनि समावेश भएका थिए।

सम्भवतः त्यति बेला पढ्न अल्छी गर्ने, पढाइमा ध्यान नजाने विद्यार्थीका लागि पनि नेपाली दन्त्यकथाको पुस्तक ज्यादै रोचक थियो। साँच्चै भन्ने हो भने, त्यो दन्त्यकथामा उल्लिखित सबै कथाहरु प्रायः सबैलाई कण्ठै आउँथ्यो । नेपाली, अंग्रेजी दुवै किताबहरुभित्र छट्टु स्यालको कथा समावेश थियो।

नेपालीमा पढ्नुपर्ने कथाको सारचाहिँ एकातिर गाउँलेहरुलाई चील आयो चील आयो भन्दै गाउँलेहरुलाई छक्याउँदै आकाशमाथि हेर्न लगाउने र गाउँलेहरुले आकाशमा हेरेको मौका पारेर गाउँलेको कुखुरा चोरी भाग्ने स्यालको धुत्र्याइँ छ भने अर्कोतिर त्यो सँगसँगै आकाशमा हेर्दा–हेर्दा आँखा टट्टाएपछि थकित भई गाउँलेहरुले भुइँतिर हेरेर जब आ–आफ्ना कुखुरा गन्न थाल्छन् । कुनै न कुनै गाउँलेको कुखुरा घटिसकेको पत्ता लागेपछि आफू मूर्ख बनेकोमा पश्चात्ताप गर्छन् ।

त्यस्तै खाले अंग्रेजीको ‘ब्लु ज्याकल’ अन्तर्गतको कथा पनि रमाइलै मानेर पढ्थे विद्यार्थीहरु । कुनै एउटा स्याल आहारा खोज्ने सिलसिलामा कतै जाँदा कुकुरद्वारा लखेटिन पुगेपछि लुक्नको लागि एउटा घरमा छिर्न पुग्छ । त्यहाँ नीर रंग भएको भाँडोमा डुबुल्की मार्न पुग्दा शिरदेखि पैतालासम्म निलाम्य हुन्छ । निलाम्य भएको कारणबाट जंगलमा छिर्दा आफ्ना वर्गलगायत अन्य जनावरहरुले विभिन्न शंका–उपशंका गर्ने भएकाले ऊ जुक्ति रच्छ । उसले आफूलाई भगवान्बाट आशिर्वाद अर्थात् वरदान प्राप्त भएकोले आफू यस रुपमा अवतरण भएको जनाउँदै जंगलमा भएका सबै जनावरहरुलाई सुख–शान्ति प्रदान गर्ने कुराको उद्घोष गर्छ । यसै क्रममा जंगलका राजा सिंहसमेतलाई छक्याउन ऊ सफल हुन्छ । छट्टु स्यालहरुसम्बन्धी कथाहरुको सार यही हो ।

हाम्रो देश दुई ठूला देशहरुको बीचमा अवस्थित छ। दुवै देशमा हुने सामान्य परिवर्तन तथा ती छिमेकी देशहरुबाट बेलाबेलामा लिइने नीतिहरुले हाम्रो देशमा ठूलो अर्थ राख्छ। ठूला छिमेकीहरु भएका साना देशहरुको विशेषता नै हो। यो विषय सत्ताधारीदेखि लिएर दलको अनावश्यक झोला बोक्नेसम्म र बौद्धिक जमातदेखि लिएर सामान्य जनजनसम्म विदित भएकै कुरा हो। यस मानेमा पनि यी दुई छिमेकी देशको नेपालप्रति आ–आफ्नो रणनीतिक स्वार्थ रहेको कुरा कतैबाट छिपेको छैन।

नेपाल, भारत र चीन तीनवटै देशहरु मात्र होइनन्, नेपालमा भैरहेको दृश्य वा अदृश्य खाले हस्तक्षेपबारे विश्व परिचित छ । नेपाली भूमि छिमेकी देशहरुको लागि मात्र होइन, विश्वशक्ति देशहरुको लागि पनि बेलाबेलामा क्रीडास्थल बनेको खबर बजारमा छताछुल्ल भैरहेकै छ । विभिन्न समयदेखि वर्तमानसम्मका परिघटनाहरुले यो कुरालाई प्रमाणित पनि गरिरहेका छन्। हाम्रो देश एउटा चेस बोर्डको रुपमा सदियौँदेखि रहँदै आएको कुरामा कतै विमति छैन।

नेपाली चेस बोर्डमा खेल्ने बाहुल्यता भने नेपालीको भन्दा अन्यको बढी देखिन्छ । पदमा वा सरकारमा को पुग्ला वा नपुग्ला, त्यो ठूलो समस्या होइन। समस्या अन्य देशको बहकाउमा आएर चेसमा परिकल्पना नै नगरिएको स्यालको प्रवेश र त्यसले मच्चाएको उधुमले चाहिँ देशलाई थिलथिलो बनाएको बनायै छ। हो, दुई ठूला छिमेकी मुलुकहरुको आ–आफ्नो रणनीतिलगायत अन्य स्वार्थ बाझिनेबित्तिकै दुवै देशले नेपालको चेस बोर्डमा स्याल छिराइदिएर आ–आफ्नो चाल चाल्न थाल्नु समस्याको जड हो। दृश्य, अदृश्यरुपमा बारम्बार देखिइरहने यो समस्याको सार्थक सम्बोधन गर्न सक्ने नेतृत्व आजको दिनसम्म पनि नदेखिनु विडम्बना हुन पुगेको छ।

हाम्रो देशको चेस बोर्डमा रहेको चौसठ्ठी कोठाहरुमध्ये प्रत्येक कोठामा छिमेकीहरुका आ–आफ्ना स्वार्थअनुरुप चल्नको निमित्त स्यालहरुको प्रवेश गराइएको बारेमा जुगौं साक्षी छ। चेसमा देखाइएका पात्रहरु पनि चेसको नियम अनुसार नचल्ने भएपछि स्याल छिर्नु र छिराइनु ठूलो कुरो भएन । प्रत्येक कोठामा थरी–थरीका स्यालहरुले विध्वंश मच्चाएको मच्चायै छन् । चेसका हरेक कोठामा सदैव नजर गाडेको गाड्यै छन् । थाहा पाएर पनि चेसका प्रमुख र त्यसका सदस्य एवं वर्गहरु त्यसलाई न्यूनीकरण गर्नतिर अझैँ दह्रोसँग लागिपरिरहेका छैनन् ।

अरु त परको कुरा, देशमा एउटा यातायात जामको व्यवस्थापन हुन सकेको छैन । सफा र शुद्ध पानी पाउनु त परै जाओस्, कतिपय घरहरुमा जडित धाराहरुमा अशुद्ध नै भएको पानी पनि आउँदैन । पानी नआएको धाराको पनि पैसा असुल्नचाहिँ लाज मान्दैनन् सत्ताधारीहरु । वर्तमानका ज्येष्ठ नागरिकहरु जो बाल्यावस्थामा खोलानालाहरुमा पौडी खेलेर त्यही खोलानालाको पानी पिई आजपर्यन्त दुःख–सुख जीवनयापन गरिरहेका छन् । आज तिनै ज्येष्ठ नागरिकहरु र तिनीहरुका सन्तानहरु खोलानालाको दुर्गन्धको श्वास लिएर विभिन्न रोगहरुसँग पौँठेजोरी खेल्दै बाँचिरहनुपरेको छ । यी र यस्ता कुराहरुमा सरकार पूरै बेखबर भएर मस्त निद्रामा निदाइरहेको छ । दलीय सदस्यहरु हुने नहुने जस्तो काम गरेर भए पनि धन जोड्नमै व्यस्त देखिएका छन् । अहिले पनि कतिपय स्थानीय निकायहरुबाट प्रदान गरिने कथित सेवाहरु यदि आफ्नो पक्षधर रहेनछ भने त्यो प्राप्त गर्न कति कठिनाइ हुन्छ भन्ने कुरा त्यो भोग्नेले अभिव्यक्त गरिरहेका छन् ।

यसै गरी दिनको हजारौंको संख्यामा खाडीलगायत विभिन्न मुलुकमा पलायन भैरहेका युवाहरु र तिनका परिवारका सदस्यहरुले सरकारले देशमा रोजगारीको वातावरण सिर्जना गरेको अनुभूति कहिल्यै गर्न पाएनन् । सरकार देशभित्रै रोजगार सिर्जना गर्नुभन्दा पनि अन्य मुलुकमा आफ्ना देशका युवाहरुलाई कसरी पठाउन सकिन्छ र रेमिट्यान्स भित्र्याउन सकिन्छ भन्ने धुनमै लागिपरेको छ । युवाहरुलाई देशभित्रै रोजगारी भन्ने राजनीतिक अंशियारहरुको भाषणलाई मापन र गणना गर्ने हो भने गन्न नसकिने अवस्था भैसकेको छ । अहिलेको सरकार यस्तो विन्दुमा उभिएको छ, जहाँ समस्या र कठिनाइ पर्दा समाउने कुनै हाँगो छैन । भएका केही हाँगाहरु भाँच्चिसकेको अवस्थामा छन्।

राज्य सामाजिक मूल्य, मान्यता र सामाजिक सद्भाव कायम राख्नेभन्दा आपसी द्वन्द्व निम्त्याउन लागिपरेको छ । वर्तमान अवस्थामा देशका महत्वपूर्ण तीनवटै हाँगाहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका छिन्नभिन्न पारिएका अवस्थामा छन् । उल्लिखित सबै हाँगाहरुमध्ये कुनै पनि हाँगा अहिले सद्दे अवस्थामा छैनन् । सबै भताभुंग अवस्थामा छन् । आपूmले चाहेको वैध अवैध जुनसुकै कुरा प्राप्त हुन नसकेमा यी तीन निकायहरुलाई थप भताभुंग पार्ने प्रयास राजनीतिक अंशियारहरुले यद्यापि जारी नै राखिरहेका छन् । विडम्बना यो छ कि राज्यका यी महत्वपूर्ण निकायहरुलाई भताभुंग पार्न भूमिका खेल्नेहरुलाई सामान्य पश्चात्ताप पनि छैन ।

पछिल्लोपटक देशमा सुन–सुन–सुन, त्यो मेरो सुन, त्यो उसको सुन, त्यो फलानोको सुन र त्यो ढिस्कानोको सुनले खबर बजार गर्माएको छ।

राज्यको गरिमामय पद सभामुखमा पुगिसकेका व्यक्ति र उनीहरुका सन्तान सुन तस्कर गरेको वा गर्न सघाएको वा तस्करहरुसँग मिलेमतो गरी उनीहरुलाई सजिलो बनाइदिएको आरोपमा समातिन्छन्। देशको उपराष्ट्रपति पदमा आसीन भइसकेका व्यक्तिका सन्तान सुन तस्करीको आरोपमा कार्यवाहीमा पर्छन्। त्यस्तै अन्य ठूला पदमा आसीन भएका/भैसकेका व्यक्तिहरु विभिन्न आरोपले घेरिन पुग्छन् र कारबाहीबाट जोगिन अन्तरकुन्तरमा लुकेर बस्छन् भने देशले कहिले समृद्धिको श्वास फेर्छ ? भन्ने प्रश्न ज्यूँका त्यूँ रहिरहेको छ।

अनुसन्धानको दायरामा ल्याई बृहत् अनुसन्धान गरी अपराध प्रमाणित भएमा कानुनी कठघरामा उभ्याएर कानुनी शासनको प्रत्याभूति दिनुपर्ने महत्वपूर्ण निकायका पदाधिकारीहरु नै आर्थिक स्वार्थ वा राजनीतिक दबाबका कारण आपैmँ थरीथरीका अपराधसम्बन्धी कार्यमा लागिपर्नु भनेको देशको लागि अभिशाप नै मान्नुपर्दछ ।

सुन तस्करी प्रकरणको आरोप खेपिरहेका कृष्णबहादुर महराले बोलेको एउटा भाषण वा कुराको युट्युब सामाजिक संञ्जालमा भइरल भइरहेको छ । युट्युब हेर्दा भर्खरैको हो कि पुरानो हो, छुट्याउन कठिन भए पनि उनले त्यो युट्युबमा बोलेको एउटा वाक्यले जनजन अचम्मसँग झस्किन पुगेका छन् । त्यो के हो भने, साना माछा र ठूला माछाको सन्दर्भमा बोल्दै जाँदा उनले आपूmलाई साना माछा मात्र होइन भुरा माछाको संज्ञा दिँदै ठूला र दिग्गज माछाहरु अन्तै रहेको भन्ने कुराको संकेत गरेका छन् । यो कुराबाट जनजन झस्किनसम्म झस्केका छन् ।

महराजस्ता उच्च ओहदामा पुगेका व्यक्ति आफूलाई भूरा माछामा परिभाषित गर्छन् भने दिग्गज र ठूला माछा को हुन सक्लान् भन्ने प्रश्नले झस्केका हुन् । उनको यो भनाइले पनि ठूला माछा देशभित्र र बाहिरका हुन् भन्ने कुरा स्पष्ट हुन्छ । उनले युट्युबको त्यो भनाइमा ठूला माछाहरु पनि केही समयको अन्तरालमा सार्वजनिक हुँदै जाने कुरा व्यक्त गरेका छन् ।

यदि उनको त्यो भनाइ सत्य हो भने अहिले अनुसन्धानको दायरामा रहेका बेला ठूला माछाहरुको नाम सार्वजनिक गरिदिएर अनुसन्धानमा सघाए भने आफूले गरेका गल्तीहरुको प्रायश्चित्त गरेको ठहरिनेछ र सँगसँगै अनुसन्धानकर्ताहरुले पनि ठूला माछाहरु को–को छन् भनी पत्ता लगाई तिनीहरुलाई पनि कानुनी दायरामा ल्याएर जनजनलाई सुशासनको अनुभूति प्रदान गर्न सके जनजन अनुगृहित हुने थिए।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्