१९ देशका गैरआवासीय राजदूत लुम्बिनीमा, वैदेशिक लगानी भित्राउन अध्यक्ष ढकालको आग्रह

70
Shares

बुटवल। 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले  नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्राउन सहयोग गर्न १९ देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाइ आग्रह गरेका छन् ।

‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले  वैदेशिक लगानीका लागि नेपालमा अवसरहरू बढिरहेको भन्दै  राजदूतहरूको ध्यानाकर्षण गराएका हुन्  ।

अवैतनिक कन्सुलर कप्र्स नेपाल ( एचसिसिएन) का भाइस डीन समेत रहेका अध्यक्ष ढकालले पर्यटन,जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवर्द्धन गरिरहेकाले लगानीकर्ताहरु जुटाउन सामूहिक पहल गर्नु पर्ने समय आएको बताए ।

कानुन परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसरहरू सृजना भएको पनि अध्यक्ष ढकालको भनाइ थियो ।

सो अवसरमा अवैतनिक कन्सुलर कप्र्स नेपालका डिन विष्णु अग्रवालले भारतीय र अन्य देशका पर्यटकका लागि नेपालका हिल स्टेशनहरुमा पर्यटकीय पुर्वाधारले विदेशी पर्यटक आकर्षित गर्न सक्ने असीमित संभावना रहेको बताए ।

कार्यक्रममा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी थिए । विश्वमा शान्ति र समृद्धिको सन्देश दिन लुम्बिनीमा सम्मेलन गरिएको आयोजकले जनाएका छन् ।