सुत्केरी आमा र बच्चाको स्वास्थ्य परीक्षण सम्बन्धी तालिम 

1.32k
Shares

दोलखा । 

दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छो–रोल्पा जनरल अस्पताल प्रालिमा सुत्केरी आमा र बच्चाको स्वास्थ्य परीक्षण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । हेल्थ पाटर्नसिप नेपाल युकेको आयोजना तथा हेल्थ पार्टरसिप नेपाल र च्छो– रोल्पा जनरल अस्पताल प्रालिको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

सुत्केरी आमा र जन्मिसकेको बालबालिकामा हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्नुको साथै समयमा नै उपचार तथा रेफर गर्न सजिलो होस भन्ने उद्देश्यले सञ्चालन गरिएको तालिममा भीमेश्वर नगरपालिका कार्यक्षेत्र भई खोप सम्बन्धी कार्य गर्ने स्वास्थ्यकर्मी लगायत १५ जनाको  सहभागिता रहेको थियो ।

तालिमकका सहभागीहरुलाई हेल्थ पार्टनरसिप नेपाल युकेका डा. मिलेना, डा.अन्जनी र च्छो– रोल्पा जनरल अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालले  सुत्केरी आमा र बच्चाको स्वास्थ्य परीक्षण सम्बन्धी जानकारी गराएका थिए।

जन्मिसकेपछि एक वर्षसम्मको बालबालिकाको शारीरिक परीक्षण कसरी गर्ने, स्वास्थ्यकर्मीले बालबालिकामा हुने सम्भावित रोगहरुको पहिचान कसरी गर्ने, बालबालिका र सुत्केरी आमाहरुमा हुने सम्भावित रोगहरुको पहिचान कसरी गर्ने र रोग पहिचान भएका आमा र बच्चालाई कति समयमा प्रेषण गरिने लगायतका बारेमा प्रशिक्षण दिइएको च्छो– रोल्पा जनरल अस्पतालका प्रशासन प्रमुख शर्मिला बुढाथोकीले जानकारी दिइन्  ।

च्छो– रोल्पा जनरल अस्पताल प्रालिका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनाल, भीमेश्वर नगरपालिकाका स्वास्थ्य संयोजक श्याम खड्का र अस्पतालको प्रशासन प्रमुख शर्मिला बुढाथोकीले मन्तव्य व्यक्त गरेका थिए।