त्रियुगा ६ मा सिँचाइ कुलो शिलान्यास



उदयपुर ।

उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताको पटेरुवा गाउँमा बिहीबार सिँचाइ कुलोको  शिलान्यास गरिएको छ। कोशी प्रदेश सभाकी उप सभामुख सिर्जना दनुवारले एक कार्यक्रमकाबीच  सिँचाइ कुलोको  शिलान्यास गरेकी हुन्।

 शिलान्यास  कार्यक्रम बोल्दै  प्रमुख अतिथि उप सभामुख दनुवारले गाउँबाट युवाहरु वैदेशिक रोजगारमा जान छाडेर अब गाउँमा नै कृषिकर्म गरेर समृद्धिको बाटोमा लाग्नु पर्ने बताइन्  । कृषि कर्म हाम्रो पुर्खाले अपनाउँदै आएको पेसा भएको बताउँदै उनले  यो पेसाले समाज राष्ट्र नै धानिरहेको हुँदा परम्परागत पेसालाई आधुनिक तवरले चलाउनु आवश्यक भएको बताइन।  यसबाट नै समृद्धि सम्भव भएकोले सरकारले पनि प्राथमिकता दिएर सिँचाइको व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राईले नगरपालिकाले कृषि क्षेत्रको विकासमा प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिँदै कृषिमा गरेको लगानीले देशमा समृद्धि आउने भएकोले र रोजगार खोज्न बाहिर जानु नपर्ने भएकोले कृषिमा सरकारले लगानी गरिरहेको बताइन् ।

त्रियुगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष योगेन्द्र बहादुर दाहालले ६ नं वडामा खेती योग्य जमिन प्रशस्त छ तर सिँचाइको अभावले खेतबारी बाँझो राखिएको अवस्था रहेकोले बाँझो खेतबारकिो सही तरिकाले सदुपयोग गर्न सिँचाइको व्यवस्था गरिएको बताए ।

कोशी प्रदेश सरकारको खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयले उपलब्ध गराएको  २५ लाखको लागतमा १ सय ६० मिटर कुलो मुहान निर्माण गरी पुरानो कुलामा जोडेर करिब ३० बिघा जमिनमा सिँचाइ पुग्ने गरी  निर्माण गर्न लागिएको ६ नं वडाध्यक्ष दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्