एमाले ललितपुर अधिवेशन : १५ गते एकैदिन सबै प्रतिनिधि छनोट गरिने



ललितपुर।

 यही चैत्र २३ देखि २५ सम्म आयोजना हुने नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) को  नवौँ जिल्ला अधिवेशनको तयारी तीव्र हुँदै छ ।

बुधवार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले अधिवेशनका लागि तयार पारिएको प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ । बैठकले आगामी चैत्र १५ गते एकैदिन ७१ वटै वडाबाट प्रतिनिधि टुङ्ग्याउने निर्णय गरेको छ । साथै १६ गते सबै प्रतिनिधिको रेकर्ड जिल्ला पार्टी कार्यालयमा पठाउनु पर्ने बताइएको छ ।

प्रतिनिधि छनोटको लागि भूगोल तर्फ सबै वडा निर्वाचन क्षेत्र हुनेछ भने समावेशी तर्फ पालिका निर्वाचन क्षेत्र हुनेछ । प्रतिनिधि चयनको मापदण्ड अनुसार भूगोल तर्फ प्रत्येक १५ सङ्गठित सदस्य बराबर १ जना प्रतिनिधि र बाँकी ५० प्रतिशत कटेमा थप १ प्रतिनिधि निर्वाचित हुनेछन्।

 यसैगरी समावेशी तर्फ प्रत्येक १० सङ्गठित सदस्य बराबर १ प्रतिनिधि निर्वाचित हुनेछन् । साथै अनुसूची १ को जनसंगठनबाट ३ जना तथा अनुसूची २ को जनसंगठनबाट २ जना प्रतिनिधि चयन हुनेछन् ।

तीन दिनसम्म चल्ने अधिवेशन इमाडोलको आँगन पार्टी प्यालेसमा हुनेछ  । यसपटक उद्घाटन सत्र समेत खुल्ला स्थानमा नगर्ने जिल्ला कमिटिले निर्णय गरेको छ । जिल्ला कमिटी बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज शेरबहादुर तामाङले नवौँ जिल्ला अधिवेशनलाई एकता अधिवेशनको रुपमा सम्पन्न गर्न र सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।  दीर्घकालसम्म पार्टी एकढिक्का बनाएर लानको लागि तयारी गर्न समेत उनको निर्देशन छ ।

जिल्ला कमिटी बैठकमा अध्यक्ष पुरुषोत्तम आचार्यले प्रतिवेदन पढेर सुनाएका थिए । उक्त बैठकमा स्थायी कमिटी सदस्य तामाङ सहित पोलिटब्युरो सदस्य सुशीला नेपाल,केन्द्रीय सदस्य हरिकृष्ण व्यन्जनकार, बाबुराम थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्