सामाजिक उत्तरदायित्व बहन गर्न वित्तीय संस्थालाई सांसद तामाङको आग्रह

518
Shares

 रामेछाप ।

बैक तथा वित्तीय संस्थाहरुलाई सामाजिक उत्तरदायित्व बहन गर्न प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ्ग कान्छारामले आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले आयोजना गरेको बैंक तथा ईन्स्योरेन्सको सामाजिक उत्तरदायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वित्तीय संस्थाहरुले आफूले गर्नु पर्ने दायित्व बहन गर्नु पर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकको नीति अनुसार मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शिर्षक अन्र्तगत आफ्नो कार्यक्षेत्रमा खर्च गर्न पर्ने भएपनी यस अघि खासै नभएको भए पनी अबका दिनमा सो अनुसार खर्च गर्न आग्रह गरे । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ९ र मन्थली नगरपालिका वडा नम्बर १० मा आगोलागिबाट १५ वटा घर तथा १८ वटा गोठ जलेर नष्ट भएको अग्नि पीडितहरूलाई सकेको सहयोग गर्न समेत आग्रह गरे ।

सङ्घीय सरकारको अर्थ समितिका सदस्य समेत रहेका तामाङले अर्थ समितिमा समेत यस विषयमा छलफल गर्ने बताएका छन् । फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का, नेपाली कांग्रेसका उपसभापती लेख बहादुर कार्की, नागरिक उपभोक्ता मञ्चका अध्यक्ष रामचन्द्र कंडेल,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, लगाएत जिल्लामा सञ्चालित बैंक तथा ईन्स्योरेन्सका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पत्रकारहरुले बैंक तथा वित्तीय संस्थाहरुले गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत के के काम गर्नु भएको छ, शिक्षा, स्वास्थ्य, मानवीय सहयोग, तथा राहात, विश्व सम्पदा, वातावरण वित्तीय साक्षरता लगायतका क्षेत्रमा काम गर्नुपर्ने व्यवस्था भए अनुसार रामेछाप जिल्लामा के के काम भए जस्ता प्रश्न राखेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरुले केहि मात्रामा काम गरे पनी जति गर्न पर्ने हो सो अनुसार काम गर्न नसकेको भन्दै आगामी दिनमा त्यस्ता खाले कार्यक्रम माग भएर आएको अवस्थामा माथिल्लो निकाय संग अनुरोध गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।