टर्की सुपर लिगमा हिंसा

1.3k
Shares

ट्राब्जोन्सपोरका समर्थकले आइतबार टर्की सुपर लिगको खेल समाप्तिपछि मैदानमै गएर फेनेरबाहचका खेलाडीमाथि आक्रमण गरेका छन् । फेनेरबाहचका खेलाडीले ३–२ को जितसँगै ट्राब्जनको पापारा पार्कमा खुशीयाली मनाउन लाग्दा सो घटना घटेको थियो ।

सो घटनापश्चात टर्कीका आन्तरिक मन्त्री अली येर्लीकायाले १२ जना समर्थक पक्राउ परेको बताए । उनले सामाजिक संजाल एक्स (पहिले ट्वीटर) मा पनि लेखे—फुटबल मैदानमा हिंसाले ठाउँ लिन कहिल्यै स्विकार हुँदैन । खेल भनेको भलादमीको हो । को मैदानमा आएर यस्तो घटना घटाए त्यसको छानबीन र पहिचान चाँडै नै हुनेछ ।

खेलको ८७ औं मिनेटदेखि तनाव शुरु भएको थियो । बाटशुआयीले गोल गरेपछि मैदानमा केही वस्तुहरू फयाँकिएको थियो । नाइजेरियाका विंगर ओसायी सेमुल्सले एक आक्रमणकारीलाई मैदानमै ढलाए । जबकी चेल्सीबाट खेलिसकेका बाटशुआयीले अर्को एकजनालाई लाती हाने । यसपछि यी दुबै खेलाडीलाई प्रतिद्वन्द्वी टोलीका समर्थकले घेरा हाले ।

टर्कीको लिगमा यस्ता हिंसात्मक घटना अक्सर घटिरहेको हुन्छ । यसअघि डिसेम्बरमा सुपर लिगअन्तर्गत खेलमा रेफ्री हलील उमुट मेलेरलाई एमकेई अन्कारागुचु क्लबका अध्यक्ष फारुक कोकाले अनुहारमै मुक्का हिर्काएका थिए । उनलाई सुपर लिगबाट निलम्बित पनि गरिएको थियो ।