खुलेआम पैसा बाँडेर देउवाले चुनाव जित्ने गरेको आरोप

616
Shares

डडेल्धुरा। 

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म खुलेआम पैसा बाँडेर काँग्रेस सभापति शेरबहादुर देउवाले चुनाव जित्दै आएको डडेल्धुरामा अब एमालेले चुनाव लडेर जित्ने दाबी गरेका छन् ।

डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिकास्थित रंग मैदानमा सोमबार एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशनको समुद्घाटन गर्दै अध्यक्ष ओलीले देउवाले पाँच पटक प्रधानमन्त्री भएर पनि विकास निर्माण गर्न नसकेको जिकिर गरे ।

‘नेकपा एमालेले त यहाँ उम्मेदवारै उठाएन क्या हो,’ मञ्चमा रहेका अतिथिलाई जिज्ञासा राख्दै ओलीले भने, ‘एमालेले सघायो मात्रै । जब उठ्दै उठेको छैन त कहाँबाट जित्छ ? अब नेकपा एमाले कसैलाई सघाउन जानेभन्दा पनि उठ्ने, लड्ने र जित्ने काम गर्छ यहाँ । म साथीहरुलाई त्यो तयारी गर्न आग्रह गर्दछु ।’


गत निर्वाचनमा नेकपा एमालेले डडेल्धुरामा प्रतिनिधिसभातर्फ चक्रप्रसाद स्नेहीलाई उम्मेदवार बनाएको थियो । तर, अध्यक्ष ओलीले बिपी काँग्रेसका उम्मेदवार कर्णबहादुर मल्ललाई सघाउने भन्दै उम्मेदवारी फिर्ता गराएका थिए । ‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ । एउटा शेरबहादुरजीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नु हुन्छ । टेलीभिजनले खुलेआम देखाएको हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘सक्ताको दुरुपयोग गरेको हुन्छ । त्योभन्दा बढी के भनम्  ।’

२०७९ मंसिर ४ गते सम्पन प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको स्मरणगर्दै अध्यक्ष ओलीले भने, ‘सागर भन्ने एउटा बावु आएका थिए । तिनलाई समर्थन गर्न देखेको थिए, मिस पवी भन्ने । मिस पवीले जोड गरेकै हुन । विचारा एउटी मिस पवी के गरून ।’ डडेल्धुरामा एमालेको उम्मेदवार नउठेपछि जित्ने कुरा नभएको उनले बताए ।

अध्यक्ष ओलीले वर्तमान सरकार नयाँ अभियान र नयाँ जागरणका साथ अघि बढिरहेको जिकिर गरे । एमाले नवौँ महाधिवेशनपछि सबै तहमा अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णयअनुरूप डडेल्धुरामा पनि सुरु भएको नवौँ जिल्ला अधिवेशनबाट नेतृत्व चयन हुनेछ ।

एमाले डडेल्धुराको अध्यक्ष पदमा दुई नेता आकांक्षी देखिएका छन् । अध्यक्षका लागि हाल संयोजक रहेका गजेन्द्र शाही र चक्रप्रसाद स्नेहीले दाबी गरेका छन् । सहमतिमा नेतृत्व छनौट गर्न अध्यक्ष ओलीले निर्देशन दिएका छन् । अधिवेशनको उद्घाटन समारोहमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य गणेश ठगुन्ना, केन्द्रीय सदस्य पठानसिंह बोहरा लगायतका नेताहरूले सम्बोधन गरेका छन्।