निसीखोला बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो

2k
Shares

बागलुङ।

बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएकाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ ।

मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।

घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकले भने, “घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएका छौं, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ ।”