वर्षातको पानी संकलन र व्यवस्थापनमा मन्त्री बस्नेतको जोड 

70
Shares

काठमाडौँ। 

उर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण पानीका परम्परागत स्रोत सुक्दै गएकोले आगामी दिनमा पानीको समस्याबाट बच्नका लागि वर्षातको पानी संकलन र त्यसको व्यवस्थापन जरुरी रहेको बताए । ललितपुरमा सोमबारदेखि शुरु भएको वर्षातको पानी संकलन र व्यवस्थापन विषयक दुई दिने क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले वर्षातको पानी संकलनमा जोड दिएका हुन् ।

उनले पानीको सहज उपलब्धता हुनुपर्नेमा संयुक्त राष्ट्र संघीय दीगो विकासका लक्ष्यले जोड दिएको उल्लेख गर्दै पानीको संकट आएमा मानव समुदायमा मात्रै होइन, कृषि तथा जैविक विविधतामा समेत ठूलो असर पर्ने बताए । उनले भने– ‘जलवायु परिवर्तनको बढ्दो समस्याले पानीको मुहान सुक्ने खतरा बढिरहेको छ । पानीको स्रोत नै सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित रहँदैन ।’

कार्यक्रममा सम्मेलनको आयोजक समिति एवं स्मार्ट वास सोलुसन्स्का अध्यक्ष ई. रामदीप साहले पानीको अभाव हुन नदिन पारिवारिक, सामुदायिक, पालिकास्तरका साथै राष्ट्रिय योजना बनाएर वर्षातको पानी संकलन र व्यवस्थापनको कार्यान्वयन गर्नुपर्ने खाँचो औल्याए । उनले यो विधि विद्यालय र अस्पतालमा खानेपानी र सरसफाईमा अधिक पानी चाहिने स्थानमा वरदान नै साबित भएको र जमिनमुनिको पानी पुनर्भरणमा पनि उपयोगी भएको बताए ।

पूर्वमन्त्री एवं पानी विज्ञ ई. गणेश साहले नयाँ पुस्तालाई पानीको विज्ञानबारे जानकारी दिन जरुरी रहेको बताउँदै अब हरेक मुलुकको राष्ट्रिय सार्वभौमिकतामा पानीको अहम् स्थान हुने बताए ।

सम्मेलनमा पानी आपूर्तिका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, विज्ञ, वैज्ञानिक, प्राज्ञ तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ ।
सम्मेलनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट ३१ वटा कार्यपत्रहरू प्रस्तुत गरिने बताइएको छ ।