जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन  

84
Shares

काठमाडौँ।

जनकपुरमा छैटौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन भएको छ । सम्मेलनमा अमेरिका, भारत र नेपालका क्यान्सर रोग विशेषज्ञहरुले सहभागिता जनाएका छन् । उनीहरुले क्यान्सरको गुणस्तरीय उपचारका लागि चिकित्सकबीचको सहकार्य जरुरी भएको बताएका छन् ।

सम्मेलनमा क्यान्सर उपचारमा प्रयोग भइरहको नयाँ प्रविधि, विकास भएको पद्धति र उपचारका क्रममा प्राप्त अनुभव आदान प्रदान गरेका छन् । ’सम्मेलनका क्रममा वैज्ञानिक प्रस्तुति, त्यसपछि छलफल र त्यसको प्रभावका विषयमा छलफल भएको बताईएको सम्मेलनका निर्देशक तथा आयोजक विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले बताए ।

उनले उक्त सम्मेलनमा नेपालको जनकपुरमै गर्नुको महत्वपूर्ण अर्थ रहेको बताए । उनले  भने,नेपालको सबैभन्दा धेरै जनसंख्या भएको मधेश प्रदेशमा क्यान्सर उपचार केन्द्र छैन । हाम्रो लक्ष्य सबैलाई क्यान्सर उपचारको पहुँच बनाउनु हो ।’

दक्षिण एसियाको क्यान्सर उपचारलाई थप गुणस्तरीय बनाउने विषयमा समेत सम्मेलनमा छलफल भएको विनयतारा क्यान्सर ट्रस्टका अध्यक्ष समेत रहेका शिक्षण अस्पतालका क्यान्सर सर्जन डा वाइपी सिंहले बताए । उनले भने,  ’सम्मेलनमा विशेष गरी क्यान्सर रोग विशेषज्ञका अध्ययन, अनुसन्धान, उपचारका भोगाइ र त्यसका लागि गरिएको अभ्यासका विषयमा छलफल भएको छ ।’

नेपालको सबैभन्दा धेरै जनसंख्या भएको मधेश प्रदेशमा क्यान्सर उपचार केन्द्र नभएको विषय समेत सम्मेलनमा उठेको उनले बताए । त्यसका लागि विनयतारा फाउन्डेसनले गरिरहेको पहललाई मूर्तरूप दिन सरकार र सरोकारवालाले साथ दिनुपर्ने निष्कर्ष निकालिएको उनको भनाइ छ ।

सम्मेलनमा अमेरिकाबाट भर्जिनिया म्यासोन क्लिनिकका क्यान्सर रोग विशेषज्ञ डा डेभिड एबुलाफिया, अमेरिकाकै युनिभर्सिटी अफ क्यालिफोर्नियाका असिस्टेन्ट प्रोफेसर तथा फिजिसियन डा विप्लव यादव र फाउन्डेसनका चिफ डेभलपमेन्ट अफिसर जस्टि मार्कुको सहभागीता रहेको थियो ।  उनीहरुले आफूले अमेरिकामा गरिरहेको अभ्यास,  क्यान्सर उपचारमा अपनाइएको प्रविधि र पद्धतिका विषयमा वैज्ञानिक पेपरहरु प्रस्तुत गरेको  फाउण्डेसनले जनाएको छ ।

यसैगरी भारतबाट राजीव गान्धी क्यान्सर इन्सिच्युट हेमाटो अन्कोलोजी तथा बोनम्यारो ट्रान्सप्लान्ट विभागका निर्देशक दिनेश बुरानी, अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्स (एम्स)का प्रोफेसरद्वय डा  अल्पना शर्मा र डा सविता यादव सहभागी थिए ।

नेपालबाट चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का सहायक डिन डा अभिमन्यु झा, रक्त क्यान्सरका विशेषज्ञ डा अन्जन श्रेष्ठ,  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही, वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत डा राजीवकुमार देव, चिकित्सा शास्त्र अध्ययन संस्थानका मेडिकल अन्कोलोजिस्ट डा सौगात पौड्याल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एशोसिएट प्रोफेसर डा सोनिया दुलाल, नोबेल मेडिकल कलेजमा कार्यरत डा सञ्जिव ठाकुर, डा रुविना सुवाल र विनयतारा क्यान्सर सेन्टरमा कार्यरत फिजिसियन डा गोविन्दराज मण्डलले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनमा विशेषज्ञका साथै यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी थिए ।

क्यान्सरको उपचार थप प्रभावकारी बनाउन एक अर्काको ज्ञानसीप र अनुभव आदानप्रदान गर्ने थलो सम्मेलन हो । ऐतिहासिक तथा धार्मिक आस्था समेत जोडिएको जनकपुरमा नियमित यस्तो कार्यक्रम गरिने डा शाहले बताए ।

जनकपुरमा दक्षिण एशियाकै नमुना क्यान्सर सेन्टर बनाउने लक्ष्य आफूले लिएको उनले बताए । अहिले विनयतारा फाउन्डेसनको सहयोगमा कपिलेश्वर रोडमा २५ बेडको क्यान्सर सेन्टर सञ्चालनमा छ ।  चाँडै २ सय बेडको अस्पताल निर्माण प्रक्रिया अघि बढाउने उनले बताए । जसका लागि जनकपुर महानगरपालिकामा झन्डै ४ रोपनी जग्गा लिइसकिएको बताइएको छ । यो वर्षायामपछि उक्त सेन्टरको भवन निर्माण प्रक्रिया अघि बढ्नेछ ।

सम्मेलनमा विनयतारा फाउन्डेसले भारतीय क्यान्सर रोग विशेषज्ञ डा बुरानीलाई विशेष सम्मान गरेको छ । उनले फाउन्डेसनका साथै नेपाल र भारतका बिरामीको उपचारमा दिएको योगदानका लागि सम्मान गरिएको जनाएको छ । सोही सम्मेलनामा डा वाइपी सिंह नेतृत्वको नेपाल क्यान्सर एजुकेशन फाउन्डेसनले युवा वैज्ञानिक अवार्डबाट डा राजीव शर्मालाई सम्मान गरेको छ । फाउन्डेसनका अध्यक्ष डा वाइपी सिंहले १५ हजार रुपैयाँ नगद र सम्मानपत्रद्धारा सम्मान गरेका थिए ।