धारिलो हतियार प्रयोग गरी हजुरबुवा र नातिको हत्या गरेको आरोपमा २ जना  पक्राउ

700
Shares

काठमाडौँ।

प्रहरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गा.पा.वडा नं. ३ मर्चहवा स्थितमा गण्डक बाँधको जग्गामा कुटि बनाई बसेका  ७० वर्षीय  अक्षयलाल चमार र उनका नाति वर्ष १२ वर्षीय  गौचरण चमारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा २ जनालाई  पक्राउ गरेको छ।

 पक्राउ पर्नेमा  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुस्ता गा.पा.वडा नं. ३ मर्चहवाका २९ वर्षीय अजय कुमार धरिकार र सोही ठाउँका २० वर्षीय  चन्दन हरिजन रहेका छन्।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो र  इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको  संयुक्त टोलिले उनीहरुलाई शनिवार पक्राउ गरेको हो।

गत माघ २६ गते चन्दन हरिजनले  मा.प.से गरी  छिमेकीको मोटरसाईकलमा हानेपछि झगडा परेकोले इलाका प्रहरी कार्यालय बेलाटारीमा छिमेकिले  निवेदन दिएका थिए। सो बिषयमा माघ २८  गते इलाका प्रहरी कार्यालय बेलाटारीमा दुई पक्षलाई झिकाई छलफल भएपनि रिसईवी राखी  विपक्षीसंग बदला लिने योजनाले   माघ २९ गते बेलुकी अक्षयलाल चमारको घर नजिक गई झगडा भएको छिमेकीलाई  कुरेर बसेकोमा सो समयमा निजहरु नआएपछि योजना परिवर्तन गरी सोही स्थानमा बस्ने गरेका अक्षयलाल चमारलाई मारेमा त्यसको आरोप बिपक्षीलाई लगाउन सकिन्छ भन्ने मनसायले घटना घटाएको र संगै सुतेको नातिले देखेपछि   चिनेको हुँदा  नातिको समेत हत्या गरेको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग भएको  चक्कु १ थान, हाप पन्जाको अर्को जोडी पन्जा १ थान, प्रतिबादी अजय कुमार धरिकारले घटनामा लगाएको हुडी थान -१  समेत प्रहरीले बरामद गरेको छ।

पक्राउ  परेका उनीहरुलाई कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलाटारी, नवलपरासी (बर्दाघाट सुस्ता पश्चिम) मा बुझाइएको  प्रहरीले जनाएको छ।