नेपाल ट्रायथलन संघको ‘फेमिलियराइजेसन’ कार्यक्रम



काठमाडौं ।

नेपाल ट्रायथलन संघले आइतबार गण्डकी प्रदेश ट्रायथलन संघ र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ‘ट्रायथलन फेमिलियराइजेसन’ कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा वैशाख महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियन्सीप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेका हुन् । उनले ट्रायथलनका लागि सर्वश्रेष्ठ स्थान पोखरामा यस खेलको अपनत्व दिनका लागि यो कार्यक्रमको आयोजना गरेको भन्दै यस खेलको इतिहासबारे पनि जानकारी दिएका थिए । सो अन्तर्राष्ट्रिय प्रतियोगिता आगामी वैशाख १५ र १६ गते हुँदैछ ।

यसअघि वैशाख ८ र ९ गते पोखराकै स्थनीयहरुलाई लक्षित गरेर टेक्सिनकल अफिसर्स कोर्सको आयोजना गरेर २५ जनालाई प्रशिक्षण दिने निर्णय भएको छ । त्यसैगरी नेपाल ट्रायथलन संघले गण्डकी प्रदेशलाई लोकल आयोजक कमिटीको जिम्मेवारी दिएको छ । गण्डकी प्रदेशका अध्यक्ष डिल्लीराज सुवेदीले अबदेखि आफ्नो संघले पनि प्रतियोगिताको आयोजना गर्ने बताए ।

सो कार्यक्रममा नेपाल ट्रायथलन संघका सल्लाहकार विश्वशंकर पालिखे, नेपाल ट्रायथलन संघका उपाध्यक्षद्वय दीपक कोइराला र सुमन देवकोटा, कोषाध्यक्ष निरज श्रेष्ठ, कास्की जिल्लाका अध्यक्ष प्रमेश पराजुली, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्षका साथै एनएसजेएफ गण्डकी प्रदेश, पर्यटन बोर्डका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्