नेपाल काष्ठ फर्निचर व्यवसायी संघमा कार्की 

196
Shares

उदयपुर ।

नेपाल काष्ठ फर्निचर तथा फनिसिङ्ग व्यवसायी संघ उदयपुरको दोस्रो जिल्ला अधिवेशन आइतबार गाईघाटमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन  गर्दै प्रमुख अतिथि कोशी प्रदेशका उपसभामुख सृजना दनुवारले प्रदेश सरकार कानुन निर्माणकै चरणमा रहेकाले असमान कर भए त्यसलाई पुर्नविचार गर्न सकिने बताइन् । उनले भनिन्, ‘राज्यलाई कर तिर्दिन भन्न चाहिँ पाईन्न, करका नाममा जथाभाबी भए, असमान र विभेद् भए त्यस विषयमा वार्ता र छलफलमार्फत कानुन निर्माण वा संशोधन गर्न सकिने छ ।

उनले थपिन, ‘कतिपय विषयवस्तुमा ऐन कानुनको अभावले पनि व्यवसायी मर्कामा परेको हुन्छ त्यस्तो अवस्थामा तपाईँहरूले सहयोग र सहजीकरण गर्नू पर्छ ।’ उनले बढ्दो युवा वेरोजगारलाई यस्ता खालका साना स्वरोजगारमुलक उद्योगले सहयोग पुग्ने भएकाले राज्यले प्रोत्साहन गर्नु पर्ने धारणा व्यक्त गरिन ।

त्यसैगरी त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले नगरपालिकाको आन्तरिक आम्दानी वृद्ध गर्नेक्रममा साना उद्योगी व्यवसायिलाई मर्कामा पर्ने गरी कानुनहरु बनाइएको भए सुधार गर्न सकिने बताइन् । केहि कानुनी जटिलताकै कारण साना व्यवसायीहरू मर्कामा परेको स्वीकार गर्दै उनले भनिन्,  ‘ऐलानी जग्गामा खोलिएका उद्योग, हर्जनाहरुका विषयमा सोच्न सकिन्छ । उनले सबैखालका व्यवसायिहरुलाई करको दायरमा ल्याउने नगरपालिकाको योजना रहेकाले यस विषयमा थप छलफल र संवाद गरिने बताइन्।

दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः योगराज कार्की चयन भएका छन् । संघको तेस्रो वार्षिक साधारणसभा तथा  अधिवेशनले कार्कीको नेतृत्वका १३ सदस्य कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्रकुमार शर्मा, उपाध्यक्षमा छोटु तामाङ्ग, महासचिवमा कुमारसिंह तामाङ्ग, सचिवमा चुविन्द्र राई, सहसचिवमा ताराकान्त चौधरी र कोषाध्यक्षमा बिन्दा राउत सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सन्तोषकुमार ठाकुर, कृष्णकुमार शर्मा, राजकुमार चौधरी, कौशल रेग्मी, लक्ष्मी शर्मा र बिनोद दनुवार रहेका छन् । तीन बर्षे कार्यकालको नेतृत्व गर्दै अध्यक्ष कार्कीले रोजगारमूलक साना उद्योगमाथि विभिन्न वहनामा लगाइएको विभेदकारी असमान कर खारेजी र पेशागत हकहितका निम्ति लडाई लडने बताए । कार्यक्रममा व्यवसायिहरुले व्यवसायहरु धरासय बन्दै गएको बेलामा राज्यले कर वृद्धि गर्दा अझ मर्कामा परेको गुनासो गरे ।