पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश 

476
Shares

बुटवल । 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको ८३ करोड रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा दीपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

आइतबार रुपन्देही जिल्ला अदालतले पुनलाई ८ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शुक्रवार साँझ काठमाडौँमा पक्राउ गरेको थियो। पुनलाई प्रहरीले शुक्रवार राति नै बुटवल ल्याएको थियो । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन ।

 इलाका प्रहरी कार्यालय बुटवलले झन्डै एक महिनादेखि सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ । प्रहरीले यसअघि नै सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईंलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । उनीहरुको बयानका आधारमा पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले बताए ।

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ संकलन गरेकामा ८३ करोड रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरीमा उल्लेख गरिएको छ । प्रहरीकोमा आईतवारसम्ममा १ हजार ७३० जनाले उजुरी दिएको  प्रहरी नाउव उपरिक्षक पण्डितले बताए ।