१ सय ३ वर्षका खेलाडी सवाङ



लन्डन, (एजेन्सी)

यदि स्वस्थ बन्न चाहना छ भने थाइल्यान्डका पाको खेलाडी सवाङ जानप्रामसँग प्रेरणा लिनुपर्छ । १ सय ३ वर्षको उमेरमा पनि उनी खेलिरहेका छन् । मान्छेहरु ६० वर्ष नाघेदेखि नै आफुलाई कमजोर ठान्ने गर्छन् र अब मर्ने बेला के गर्नु र भन्ने जस्ता नकारात्मक सोचका कुरा गरिरहेका हुन्छन् ।
तर, रायोङका सवाङ हालै मात्रै पनि २२ औं एशियाली मास्टर्स एथ्लेटिक्स प्रतियोगितामा सहभागि भए । फिलिपिन्सको क्लार्कमा आयोजित प्रतियोगितामा उनले १ सय १ देखि १ सय ४ वर्ष उमेरको समूहमा चार स्वर्ण जिते पनि ।

सवाङ दक्षिणपूर्वी एशियाली राष्ट्रका सबैभन्दा पाको धावकले समेत विश्वमा परिचित छन् । उनले एक वर्ष अघि यही मार्च महिनामै १ सय मिटर दौड २७.०८ सेकेण्डमा पुरा गरेका थिए । १ सय वर्षमाथिको उमेरको लागि यो समय कीर्तिमानी पनि थियो ।

थाइल्यान्डमा १९९६ मा मास्टर एथ्लेट्स प्रतियोगिता आयोजना हुँदा २ सय जनाको सहभागि हुन पनि गाह«ो भएको थियो । तर, अहिले ३५ देखि १ सय २ वर्षको उमेरका २ हजार भन्दा प्रतिस्पर्धी सहभागि छन् । एशिया मास्टर्स एथ्लेटिक्सका प्रमुख विवाट भिग्रान्टानोरोसले बताए—यहाँ प्रतियोगितामा सहभागि हुने सबैले उनीहरुको उमेर नै बिर्सन्छन् । जब मान्छेहरुले उमेर बिर्सन्छन्, उनीहरु खुशी हुन्छन् ।

१९१९ मे ८ मा जन्मेका सवाङले आफुलाई अहिलेसम्म स्वस्थ र तन्दुरुस्त राखिरहेका छन् । उनको एक मात्रै कमजोरी भनेको सुन्ने शक्ति कम भएको हो । उनले ४० वर्षअघि विद्यालय निर्देशकको जागिरबाट अवकाश लिएका थिए । त्यसपछि पनि उनले शरीरलाई तन्दुरुस्ती बनाइरहे, जुन अहिलेसम्म पनि जारी छ ।
सवाङले जागिरबाट अवकाश लिएपछि धेरै प्रतियोगितामा भाग लिएका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताम प्रतिस्पर्धा गरेका छन् । उनले चीन, सिंगापुर र मलेसियामा भएको सिनियर विश्व प्रतियोगिता भाग लिएका हुन् ।

सवाङले हालै मात्र पनि फिटनेस र दीर्घायुको लागि टिप्सहरु सार्वजनिक गरेका छन् । उनले सबैभन्दा पहिला धुम्रपान, रक्सी पिउनबाट टाढा रहनु पर्ने बताए । उनले उमालेको खानेकुराहरुमा विशेषगरी तरकारीहरु र माछा मन पर्ने बताए । तर, उनले भुटेको खाना नखान सल्लाह दिएका छन् ।

सवाङ प्रकृति प्रेमी हुन् । यसैले उनी रुख वरिपरि रहेर स्वस्थ हावा लिने गर्ने पनि बताए । यसले दिमागलाई सन्तुलित बनाउन मद्दत गर्ने पनि उनले बताए । उनले नियमित व्यायाम गर्ने, बिहान सबेरै हिँड्ने र दौडने गरेको पनि बताए । उनी उनकी ७० वर्षीया छोरी सिरिपानसँग दैनिक हिँड्ने गर्छन् ।

सवाङले एक अन्तर्वार्तामा बताएका थिए—खेलकुदमा लाग्दा मलाई बलियो र राम्रो बनाएको छ । व्यायामले मेरो पाचन शक्तिमा सुधार भएको छ र मैले राम्ररी खान सक्ने भएँ ।

प्रतिक्रिया दिनुहोस्