आँखाको ज्योति फर्किएको खुसी

140
Shares

दोलखा। 

दोलखाको मेलुङ गाउँपालिकाको विशेष पहलमा आयोजना भएको मोतिया विन्दुको शल्यक्रिया कार्यक्रमपछि ५० जना ज्येष्ठ नागरिकले आँखाको ज्योति फर्किएको खुसी साटेका छन् ।

मोतिया विन्दुको कारण झन्डै चार वर्षदेखि हरेक समय अन्धकारमा बिताएकी  मेलुङ गाउँपालिका वडा नम्बर– ३ घ्याङको ८९ वर्षिया  दिलकुमारी कार्कीले आफू खेलेको, कुदेको बनपाखा र आफ्ना आफन्त परिवारलाई देख्न पाउँदा असाध्य धेरै खुसी लागेको बताइन्  ।

अब मलाई चुला– चौका र यताउता गर्न सहारा नचाहिने भयो दिलकुमारीले भनिन्– यो खुसीको लागि गाउँपालिका र डाक्टरहरुलाई धन्यवाद छ ।
मेलुङ गाउँपालिका वडा नम्बर– ४ भेड्पुको कमला विकको खुसी पनि दिलकुमारीको भन्दा कम छैन । मोतिया विन्दुको कारण आँखाको ज्योति गुमेपछि आफूले हरेक दिन घाँस दाउरा गरेको बन पाखा पनि विरानो भएको थियो कमलाले भनिन्– शल्यक्रिया पछि आँखाको ज्योति फर्किएर त्यही वनपाखाका हरियाली देख्न पाउँदा मन साह्रै आनन्दित भएको छ ।

तिलगंगा नेत्र विज्ञान संस्थान काठमाडौँ, मेलुङ गाउँपालिका, लायन्स क्लब अफ दोलखा र दोलखा लायन्स सर्जिकल आँखा सेन्टरको आयोजना तथा हिमालयन मोतियाविन्दु परियोजनाको सहयोगमा सोमवारबाट तीन दिनसम्म भएको शल्यक्रियामा मेलुङ गाउँपालिकाको बिभिन्न वडाबाट आएका ५० जना बिरामी मध्य ४७ जनाको मोतिया विन्दुको शल्यक्रिया र तीन जनाको आँखामा मासु पलाएको शल्यक्रिया गरिएको तिलगंगा नेत्र विज्ञान संस्थानको डाक्टर लिना बज्राचार्यले बताइन् ।

त्यसरी शल्यक्रिया गरिएको मोतिया विन्दुको विरामीहरुमा २४ जना पुरुष र २६ जना महिला रहेको र त्यसमध्ये सात जना पुरुष र चार जना महिला गरी ११ जना ८५ वर्ष भन्दा माथिका रहेको वरिष्ठ नेत्र सहायक विप्लव खड्काले बताए ।

मोतिया विन्दुको शल्यक्रिया अघि गाउँपालिकाले सबै वडाहरुमा आँखा शिविर आयोजना गरेको र उक्त शिविरमा मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने विरामीहरु छनौट गरी सोमवारबाट तीन दिनसम्म मेलुङको त्रिभुवन माविमा शल्यक्रिया गरिएको मेलुङ गाउँपालिकाका प्रमुख हिरा कुमार तमाङ (थोकर) ले बताइन्।

मोतिया विन्दुको शल्यक्रिया सामान्य कुरा हो, तर गाउँघरमा चेतनाको अभाव, शल्यक्रियाबारे जानकारी नभएको र अस्पतालसम्म लगिदिने सहयोगीको अभावमा धेरै ज्येष्ठ नागरिकहरु अन्धकारमा बस्नुपर्ने अवस्था देखेर गाउँपालिकाको विशेष पहलमा आँखा शिविरसहित मोतिया विन्दुको शल्यक्रिया गरिएको पालिका प्रमुख तमाङको भनाई छ ।

गाउँघरमा मोतिया विन्दुको समस्या जस्तै महिलाहरुमा पाठेघरको समस्या पनि जटिल रहेको पाइएकोले गाउँपालिकाले पाठेघर सम्बन्धी शिविर र आवश्यकता अनुसार पाठेघरको शल्यक्रिया गर्ने योजना समेत बनाएको पालिका प्रमुख तमाङले बताए । शल्यक्रिया शिविर समापन कार्यक्रममा गाउँपालिकाको उपप्रमुख गायत्री आचार्य, त्रिभुवन माविका प्रधानाध्यापक सन्तोष श्रेष्ठ, तिलगंगा नेत्र विज्ञान संस्थानको नेत्र अधिकृत मनीषा थापा, मेलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरेराम चापागाईँ, नेत्र सहायक योगीना विक, अहेव कुमार राई, आँखा स्वास्थ्य कार्यकर्ता सावित्रा ओली, आँखा  कार्यकर्ता काजी बहादुर दर्जी लगायतको सहभागिता रहेको थियो ।