कर्णाली पुलमा आवागमन बन्द



काठमाडौं ।

सोमबार भएको आगलागीबाट आंशिक रूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ। पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरिएको हो।

प्राविधिकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेर मात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ।

पुलमा तत्कालका लागी यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। कर्णालीको पुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासि आगलागी भएको थियो।

लम्किचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्