महिला हकहितका लागि नारी दिवस



काठमाडौं ।

क्लारा जेटकिनको ठूलो प्रयासपश्चात् विश्वमा महिला हकहित र अधिकारका कुराहरू विभिन्न समयमा निस्किँदै आएका छन् । मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउँदै आएका छौं । सन् २०१३ मा विश्वभरि १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको थियो।

उन्नाइसौँ शताब्दीको शुरुदेखि नै नारी दिवस मनाउन थालिएको अनुमान लगाउन सकिन्छ । नारी सशक्तीकरण र हकहितको लागि शुरु भए तापनि हालसम्म आएर यसलाई एउटा पर्वको रुपमा मनाइन्छ। एक्काइसौं शताब्दीमा हरेक राष्ट्रले नारी दिवसलाई निरन्तरताको प्रयास अनुरुप सशक्त अनि सचेत भएर विश्वको नारी शक्तिलाई एकतामा बाँध्ने नवीन कार्यको शुरुवात भएको छ।

यसको उपलक्ष्यमा सम्पूर्ण नारीस्वरुप आमा, हजुरआमा, दिदी, बहिनी, साथीहरूमा मुरी–मुरी सम्मानको साथ शुभकामना छ। महिलाको आवाजलाई कदर गर्दै, महिला सम्मान गर्दै आठ मार्चको दिन विश्वको विभिन्न मुलुकमा सार्वजनिक बिदा दिने गरिएको छ। नारी र पुरुष एक रथका दुई पांग्रा एक–आपसका परिपूरक हुन्। नारीहरूको आवाज, अथक प्रयास, भेटघाट, भेला, छलफलस्वरूप विभिन्न क्षेत्रमा नारीको दायित्व, कार्य परिवर्तन भएको समाजले महसुस गरेको छ।

सामाजिक परिवर्तनमा शहरका अधिकांश महिलाहरू कामकाजी र व्यस्त छन् । शैक्षिक, मानसिक, सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा आफूलाई खार्दै–तिखार्दै महिलाहरू अघि बढिरहेका छन् । तर यही बेला हामीले ग्रामीण क्षेत्रको महिलाको जीवनस्तरको कुरा गर्दा यसको परिवेश भिन्न भेटिन्छ । नेपालको परिवेशमा ग्रामीण भेगका महिलाहरूको सवालको विषयमा कुराकानी गर्दा अझ पनि हामीले सोच्नुपर्ने विषयवस्तु धेरै नै छन् ।

विश्वभरिका हरेक क्षेत्रमा रहेका महिलाहरूलाई ८ मार्चको दिन अझ बढी शक्ति मिलोस् भन्ने शुभकामना । १७ औँ/१८ औँ शताब्दीतिर युरोपमा महिलाहरू कामकाजको लागि घरबाहिर निस्किन थाले । तर उनीहरूले पाउने उचित सुविधा, श्रमको मूल्यांकनमा शोषण भएपश्चात् नै महिला विभेद र अमानवीय व्यवहारहरूले गर्दा सबै श्रमिक जुटी आन्दोलनमा जानुपरेको इतिहास हाम्रो सामु छ ।

त्यति बेलादेखि बिस्तारै पटक–पटक विभिन्न राष्ट्रमा यसको प्रभाव फैलिँदै गएको थियो। फलस्वरूप श्रमिकहरूको मूल्यांकनबाट शुरु भएको आन्दोलन अहिले आएर उच्च ओहोदाका महिलाहरूको बीचमा एउटा खुशीको दिन मनाउने र एक–आपसमा शुभकामना साटासाट गर्ने अनि विभिन्न विषयमा छलफल गर्ने रूपमा चिनिएको छ।

वास्तवमा श्रम गर्ने महिलालाई नै थाहा छैन, यो दिनको महत्व र यो दिनको विशेष कुराकानी । अन्य क्षेत्रमा आबद्ध महिलाहरूको मार्च ८ एउटा पर्व बनेको छ । संसारको कुनाकाप्चा, देश–विदेश जुन ठाउँमा रहनुभएका जुन पेसामा संलग्न हुनुभएका हरेक महिलालाई अझ बढी तपाईंहरुको हकहित, अधिकार, श्रम र पसिनाको सम्मान हुँदै जाओस् ।

सबैलाई जानकारी हुने किसिमको विभिन्न ठाउँमा सचेतनाका कार्यक्रमहरू गरी महिला सशक्तीकरणको लागि अघि बढ्न सकौँ । हरेक महिला आर्थिक, सामाजिक, राजनीतिक, मानसिक रूपले सबल, सक्षम हुन जरुरी छ। यसको लागि शिक्षा, रोजगार, कामकाज, उचित वातावरणको आवश्यकता छ। र, कहीँ न कहीँ सीपमूलक, उत्पादनमूलक काम गरी समाजको पाटो परिवर्तन गर्ने कदम अघि बढाउन हरेक वर्ष आउने नारी दिवस काफी छ।

आगामी दिनमा उच्च चासो, सहभागिता, उत्सुकता, जोश र जाँगर बढोस्। हरेक क्षेत्रमा पहुँच उच्च रहोस् र सामाजिक कुरीति, भेदभाव, अपहेलनाको अन्त्य होस् । यस वर्षको नारी दिवस मनाइसकिएको छ । ढिलै भए पनि यही छ नारी दिवसको शुभकामना !

प्रतिक्रिया दिनुहोस्