पूर्वीय नमस्कार पद्धतिमा स्वास्थ्य विज्ञान



काठमाडौं ।

हात जोडेर नमस्कार गर्दा हृदय, ध्वनि र हात एकैपटक प्रयोग हुन्छ । हृदयबाट भाव प्रकट हुन्छ र मुखबाट नमस्कार ध्वनि निस्कन्छ । दुवै हातका पञ्जा जोडेर झुक्दा हात हृदयसँगै टाँसिन्छ । यी सबै प्रक्रियाले नमस्कार प्रक्रिया पूर्ण हुन्छ ।

यस किसिमको नमस्कारलाई विश्वका अभिवादन प्रक्रियाहरुमध्ये उत्कृष्ट मानिएको छ । कोरोना प्रकोपको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत आगन्तुक पाहुनाहरुलाई हात जोडेर नमस्कार गरी पूर्वीय नमस्कार पद्धतिको महत्व झल्काएका थिए ।

हात जोड्नु उत्कृष्ट अभिवादन :

जे काम गर्दा पनि हात नै अगाडि सर्ने हुँदा हातमा भाइरस हुने सम्भावना अधिक हुन्छ । हात मिलाउँदा यसमा भएको भाइरस अर्को व्यक्तिमा सरी रोग निम्त्याउने हुन्छ । त्यसैले हात मिलाउने, आलिंगन गर्नेजस्ता कुराभन्दा दूरी कायम गरेर दुवैजनाले हात जोडी नमस्कार गर्नु उत्तम हुन्छ । अझ केही झुकेर गरिएको नमस्कारले झनै आदरभाव प्रकट गरेको हुन्छ ।

हाम्रो हातको हत्केलाले सम्पूर्ण जगत्को प्रतिनिधित्व गर्दछ भने पाँच औँलाले पृथ्वी, जल, तेज, वायु र आकाशको प्रतिनिधित्व गरेको हुन्छ । बूढी औँला आकाश, चोर औँला वायु, माझी औँला तेज, साहिँली औँला जल र कान्छी औँलाले पृथ्वी तत्वको प्रतिनिधित्व गरेका हुन्छन्। त्यसैले दुवै हातका औँला जोड्दा माथि बताइएका पञ्चमहाभूत एकै भएर विन्दुस्वरूपको आभास दिलाउँछ ।

यो सारा ब्रह्माण्ड नै विन्दुस्वरूप हो भन्नु नै अहं र घमण्ड नाश हुनु हो। त्यस्तै औँला भनेका दिमाग, आँखा र कानका दबाब विन्दु पनि हुन् । त्यसैले हात जोडेर झुक्दै नमस्कार गर्नु स्वास्थ्यका दृष्टिले उत्कृष्ट मानिन्छ ।

ठाडो पारामा वचनले मात्र ‘गुड मर्निङ’ भनेर कसैलाई अभिवादन गर्दा नमस्कार त हुन्छ, तर हात जेडेर गरिने नमस्कारजस्तो पूर्ण स्वरूप हुन सक्दैन । नमस्कार मन, वचन र शरीरका अंगले पनि गर्नुपर्छ । पूर्वीय दर्शन अनुसार नमस्कार गर्दा तीन थरीका अंग प्रयोग भएको हुन्छ । हृदय, बोली (शब्द) र हात एकैपटक प्रयोग हुन्छ । हृदयबाट भाव प्रकट हुन्छ । मुखबाट नमस्कार शब्द निस्कन्छ । दुवै हातका पञ्जा जोडेर हृदयसँगै टाँसिन्छ । अझ नमस्कार गर्दा केही झुकिन्छ । यी सबै प्रक्रियाले नमस्कार प्रक्रिया पूर्ण हुन्छ ।

केही झुकेर नमस्कार भन्दै हात जोड्दा पूर्णरुमा अभिवादन हुने, बोल्दा निस्केको श्वास र थुक नमस्कार फर्काउने व्यक्तिसम्म नपुग्ने, हात मिलाउँदाको जस्तो कीटाणु सङ्क्रमणको डर पनि नहुने पूर्वीय नमस्कार पद्धति निकै वैज्ञानिक छ ।

पश्चिमी जगत्मा समेत अनुशरण :

कोभिड–१९ महामारीको समयमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत अवलम्बन गरेपछि यस किसिमको नमस्कारले बढी नै महत्व पायो। सन् २०२० मार्च १२ मा अमेरिकाको भ्रमणमा आएका आयरल्यान्डका प्रधानमन्त्री लियो भराड्करसँग भेट्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै हात जोडेर नमस्कार गरे ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको प्रकोप भएको समयमा यस किसिमको नमस्कार जरुरी भएको कुरा उनलाई बताएको समाचार पनि प्रकाशमा आएको थियो । यसअघि राष्ट्रपति ट्रम्प भारत भ्रमणमा आउँदा उनले यस किसिमको नमस्ते सिकेको कुरा पनि चर्चामा आएको थियो ।

कोराना महामारीको समयमा फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोले स्पेनका राजारानीलाई पनि यसै गरी हात जोडेर नमस्कार गरेका थिए। त्यस्तै इजरायली प्रधानमन्त्री नेतान्याहुले हात मिलाउनुको सट्टा अबदेखि नमस्कार गर्न आग्रह गरेका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि हात जोडेर नमस्कार गरेको तस्वीर भइरल भएको थियो । त्यस समयमा कोरोना भाइरस सर्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले अभिवादनस्वरूप एक–अर्कामा हात मिलाउने कार्य रोक्न आग्रह नै गरेको थियो । यसको विकल्प भनेकै हात जोडेर नमस्कार गर्नु भएकाले पश्चिमा मुलुकमा पनि यसको अवलम्बन गरिएको हो ।

स्वास्थ्यका लागि सूर्य नमस्कार :

बिहान सूर्योदय हुँदा दुवै हात जोडेर सूर्यलाई नमस्कार गर्ने हाम्रो परम्परा हो। बिहान बाहिर निस्केर सूर्य नमस्कार गर्दा केही समय भए पनि सूर्यको किरण छालामा पर्छ। बिहानको सूर्यको किरण स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ। यस बेलाको सूर्यको किरणले हाम्रो शरीरको छालामा भिटामिन ‘डी’ निर्माण गर्न मद्दत पुग्छ। सूर्यको किरणबाट सोझै भिटामिन ‘डी’ प्राप्त हुने होइन कि यसको किरण छालामा परेपछि त्यहाँ रहेको एक तत्वको सहायताले भिटामिन ‘डी’ बन्ने हो।

भिटामिन ‘डी’ ले भोजनमा भएको क्याल्सियम शरीरमा शोषण गर्न मद्दत गर्छ । भिटामिन ‘डी’ भएन भने हामीले खाएको खानेकुराबाट क्याल्सियम शोषण हुन सक्दैन । यदि भोजनमा क्याल्सियम मात्र छ र भिटामिन ‘डी’ शरीरले प्राप्त गर्न सकेन भने भोजनमा भएको क्याल्सियमको शोषण हुन सक्दैन र हाडको जीर्णोद्धार प्रक्रिया कमजोर हुन्छ । त्यसैले बिहानको घामको किरण छालामा पर्ने गरी केही समय घाममा बस्न चिकित्सकहरू सल्लाह दिने गर्छन्।

३० मिनेटसम्म छालामा घाम प¥यो भने कालो छाला भएकाहरूको शरीरमा ८ देखि १० हजार, गहुँगोरो छालामा २० देखि ३० हजार र सेतो छाला भएकाहरूको शरीरमा ५० देखि ६० हजार युनिट भिटामिन ‘डी’ उत्पादन हुन्छ भन्ने कुरा वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ। यसका लागि सूर्य नमस्कारका नाममा केही समय बिहानको घाममा निस्कनु जरुरी छ।

प्रतिक्रिया दिनुहोस्