बालकुमारी वन क्षेत्रको सरसफाइ



ललितपुर ।

ललितपुर वन डिभिजन कार्यालयअन्तर्गत मच्छिन्द्र सबडिभिजन वन कार्यालयको सहयोगमा ललितपुर महानगरपालिका–१८ सैंबुस्थित श्री बालकुमारी सामुदायिक वन समूहले भञ्ज्याङ क्षेत्रमा रहेको सल्ला वनक्षेत्र सरसफाइ गरेको छ। पर्यापर्यटन विकास र वन क्षेत्रमा नयाँ प्रजातिका विरुवा संरक्षण गर्न सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।

सरसफाइ कार्यक्रममा बोल्दै सबडिभिजन कार्यालय प्रमुख दुर्गा कार्कीले ललितपुर महानगर क्षेत्रभित्रको महत्वपूर्ण एवं संरक्षित वन क्षेत्रको संरक्षणमा समूहले गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो।

बालकुमारी वन समूहको कार्य उत्कृष्ट रहेको उल्लेख गर्दै वन व्यवस्थापन र पर्यापर्यटन क्षेत्रको विकासमा समूहले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

‘नमूना वनसमूहको रूपमा परिचित बालकसमारी वन समूहसँग सहकार्य गर्न सबडिभिजन वन कार्यालय सधैं तयार रहेको छ’ – उहाँको भनाइ थियो। उहाँले पर्यापर्यटन विकास गर्न आग्रह गर्दै त्यसको लागि डिभिजन वन कार्यलयले सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा–१८ का अध्यक्ष दामोदर खड्काले वन क्षेत्र संरक्षण गर्न वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले भन्नुभयो–‘वन क्षेत्रभित्र पर्यापर्यटनको विकास गर्न कस्तो सहयोग आवश्यक छ, त्यसको लागि वडाले सहयोग गर्न तयार छ ।’ उहाँले वनक्षेत्रलाई पर्यापर्यटनको रूपमा विकास गर्न वडा कार्यालयले सक्दो सहयोग गर्ने वचनबद्धता जनाउनुभयो । यसअघि वडा कार्यालयले साहसिक खेल साइकल ट्रेल, खेल सामग्री राख्ने स्थान निर्माण र वृक्षरोपण गर्न सहयोग जारी राखेको छ ।

वन समूहका अध्यक्ष किशोर कुँवरले महानगरकै नमूनाको रूपमा रहेको यस वनक्षेत्रको विकास गर्न विभिन्न परियोजना तयार भएको बताउनुभयो।सरसफाइ कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १८, नेप्सेम्याक, श्री बालकुमारी सिर्जना क्लब, सैंबु खानेपानी तथा सरसफाइलगायत संघसंस्थाको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्