गृह सचिवमा अर्याल, चुनौतीका बीच गृहप्रशासनमा सुधारको अपेक्षा

210
Shares

काठमाडौं ।

सरकारले वरिष्ट र अनुभवी सचिव एकनारायण अर्याललाई गृहमन्त्रालयको सचिवमा सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्याललाई गृहमन्त्रालयमा सरुवा गरेको हो।

गृहमन्त्रालयमा सरुवा भएका अर्याल गृहका अनुभवी र निर्णय क्षमतामा अब्बल मानिनुहुन्छ। अर्यालले यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको रूपमा रहेर पनि प्रभावकारी कार्य गरिसक्नुभएको छ।

पछिल्लो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहँदा उहाँले सुशासन, विकास निर्माण र सेवा प्रवाह प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण कार्ययोजना ल्याउनुभएको थियो । त्यसैले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल उहाँसँग सन्तुष्ट रहनुभएको बताइन्छ।

यसै गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलेसमेत सुधारक र निर्णय क्षमता अब्बल मानिने सचिवको खोजी गर्दा अर्याल लामिछानेको रोजाइमा पर्नुभएको बताइएको छ।

अर्यालले सहसचिव हुँदासमेत काठमाडौंलगायत धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा सफलतापूर्वक कार्य गर्नुभएको थियो। यसअघि लामो समय गृह मन्त्रालयमा विताउनुभएका उहाँले गृह मन्त्रालयमै रहँदा गृह मन्त्रालय सुधारको मार्गचित्रसमेत बनाउनुभएको थियो। अर्यालको गृहमन्त्रालय आगमनसँगै गृह र प्रहरी प्रशासनमा व्यापक सुधारको अपेक्षा गरिएको छ।

कमजोर गृहसचिवका कारण केही समययता गृहप्रशासनसमेत कमजोर रहँदै आएको विश्लेषण गरिएको थियो । गृहमन्त्रालयको प्रशासनिक नेतृत्वमा लामो समयपछि गृहकै ‘क्याडर’ आएकाले गृह आवद्ध कर्मचारीहरू उत्साहित बनेका छन्।

यद्यपि, गृह प्रशासनलाई सुधार गर्न र बिग्रँदै गएको साख उच्च बनाउन भने अर्याललाई ठूलो चुनौती रहेको छ। निजामती प्रशासनमा जहाँ गए पनि सुधार गरेर देखाउन सक्ने हैसियत बनाएका र स्वस्छ छवि बनाएका अर्याललाई भावी मुख्य सचिवको रूपमा समेत हेर्ने गरिएको छ।