राष्ट्रियता, शान्ति अभियान र विकासमा नेपाली सेना



काठमाडौं ।

नेपालको इतिहासको विभिन्न कालखण्डमा मुलुक र जनताको स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डता रक्षा अभियानमा नेपाली सेनाको भूमिका गौरवपूर्ण र चिरस्थायी रहेको छ।

इतिहासका सर्वकालिक शाश्वतताका प्रवाहमा नेपाली सेना मौलिक पहिचान विशुद्ध व्यावसायिक संस्थाका रुपमा कायम गर्न सक्नु आफैंमा महत्वको छ। राजनीतिक परिवर्तन र जनताका उभारको प्रतिकात्मक व्यवस्थापकीय रुपान्तरणमा नेपाली सेनाले आफ्नो व्यावसायिकता र जनभावनाको मूल्यलाई आत्मसात् गरी आएको छ । यो संस्थाको उत्कृष्ट पहिचान नै जनताको आस्थाको केन्द्रमा रहन सक्नुको थप पुष्टि हो।

नेपाल राष्ट्रको अखण्डता, स्वाधीनता र सार्भभौम नेपाली जनताको आस्थाको पहिचान र धरोहरका रुपमा नेपाली सेनाले आफ्नो भूमिकालाई कायम राख्ने दिशामा अघि बढ्न सक्नुपर्दछ।

नेपाली सेनाको भूमिकामा बहुआयामिकता पाइन्छ । राष्ट्रसंघीय शान्ति स्थापना कार्य, प्राकृतिक स्रोतको संरक्षण विशेषतः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापन, भौतिक पूर्वाधार विकास अन्तर्गत राजमार्ग तथा सडक निर्माणका कार्य जोडिन्छन्।

प्राकृतिक प्रकोप न्यूनीकरण र व्यवस्थापन तथा आपतकालिक उद्धार तथा राहतका कार्य, मानवीय तथा सामाजिक सेवाका कार्यहरु उदाहरणीय कार्यका फेहरिस्त हुन सक्छन् । विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघले अघि सारेको राष्ट्रसंघीय शान्ति मिसनको एक भरपर्दो सहयोगी राष्ट्रका रुपमा नेपालले उल्लेख्य कार्य गरी आएको छ ।

विगत ६ दशकभन्दा बढी समयदेखि विश्वका विभिन्न द्वन्द्वग्रस्त राष्ट्रहरुमा शान्ति स्थापना कार्यका क्षेत्रमा नेपाली सेनाको महत्वपूर्ण योगदान रही आएको छ । पछिल्लो तथ्यांक अनुसार शान्ति मिसनमा नेपाली सेनाको अग्रणी भूमिका रहेको छ। विश्वका विभिन्न मुलुकका शान्ति मिसनमा कार्यरत शान्ति सेनाको संख्यात्मक आधारमा ६ हजार ५ सयको हाराहारीमा नेपाली शान्ति सेना द्वन्द्वग्रस्त क्षेत्रमा क्रियाशील छन् र पहिलो योगदान राष्ट्रका रुपमा रही आएको छ।

नेपालपछि बांगलादेश र भारत रहेका छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत अफ्रिकी द्वन्द्वग्रस्त राष्ट्र दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई शान्ति स्थापनाको क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेबापत संयुक्त राष्ट्रसंघीय शान्ति अभियान अन्तर्गत राष्ट्रसंघीय पदक प्राप्त हुनु नेपाली सेनाको मात्र नभई नेपालकै उच्च मूल्यांकन भएको अनुभूति रहन्छ।

सन् १९५८ मा लेवनानमा शान्ति स्थापनाका लागि सानो मिसनमा सहभागी भएपश्चात् नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाको कार्यमा निरन्तर सहभागिता र योगदान पुर्‍याउँदै आएको छ। हालसम्म विश्वका विभिन्न द्वन्द्वग्रस्त तथा युद्ध भएका ४२ वटा शान्ति स्थापना मिसनमा नेपाली सेना सहभागी भई सकेको छ भने एक दर्जनभन्दा बढी द्वन्द्वग्रस्त क्षेत्रमा राष्ट्रसंघीय शान्ति मिसनमा क्रियाशील रहँदै आएको छ ।

विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघले अघि बढाएको शान्ति मिसनमा जुन गुणात्मक योगदान पुर्‍याएको छ, शान्ति मिसनमा नेतृत्वदायी भूमिकालाई अझ गहनताका साथ निर्वाह गर्छ भन्ने कुराको उद्बोध राष्ट्रसंघमा दिन सक्नुपर्दछ । यसमा हाम्रो असल कूटनीतिक पहल आवश्यक छ ।

प्राकृतिक प्रकोप व्यवस्थापन तथा प्रकोपपश्चात् उद्धार तथा राहतका कार्यलगायत मानवीयता तथा सामाजिक सेवाका कार्यलाई उदाहरणीय कार्यका रुपमा लिन सकिएला। पछिल्लो समयमा वि.सं. २०७२ को विनाशकारी भूकम्प, बारा तथा रौतहटको विनाशकारी आँधीपीडित जनताको उद्धार तथा पुनस्र्थापनालगायत बर्सेनि आउने बाढीपहिरो, हिमपहिरो आदि प्राकृतिक विपद्मा नेपाली सेनाको सहयोग उल्लेख्य कार्यका रुपमा लिन सकिन्छ।

यस्ता विपद् तथा आपतकालीन अवस्थामा उद्धार, राहत तथा बाढीपहिरो, हिमपात, हवाई दुर्घटनालगायतका बग्रेल्ती प्राकृतिक प्रकोपमा उदाहरणीय कार्य गरी आएको सन्दर्भमा यस्ता प्राकृतिक प्रकोपको सामना गर्न अझ व्यावसायिक तथा कार्यकुशलता आवश्यक छ । प्रकोप न्यूनीकरण र सचेतनाका पाटाहरुलाई अन्य सरोकारवाला निकायको सहकार्यमा समन्वयात्मक ढंगबाट अघि बढाउन सकिएको खण्डमा जोखिम न्यूनीकरण र मानवीय क्षतिलाई निकै हदसम्म कम गर्न सकिन्थ्यो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा नेपाली सेनाको महत्वपूर्ण भूमिका रही आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रहरुको संरक्षणको गहन जिम्मेवारी लामो समयदेखि नेपाली सेनाले लिई आएको छ । पर्यापर्यटन र लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिहरुको संरक्षण र व्यवस्थापन गरी आर्थिक विकास एवं पर्यटन क्षेत्रको संस्थागत विकासमा साझेदारी भूमिका रहन्छ। दिगो विकास र संरक्षण अभियानमा अझ प्रभावकारीरुपमा सेनाले आफ्नो उपस्थिति देखाउन सक्नुपर्दछ। संरक्षणका अभियानमा असल अभ्यासका आयामको उद्बोध भई सन्तुलित र वातावरणमैत्री मानवीय विकासका आयामलाई अझ प्रभावकारी गर्नुपर्नेछ।

नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, लाङ्टाङ राष्ट्रिय निकुञ्जलगायतका पर्यापर्यटन र पदयात्रा पर्यटनको उत्कृष्ट गन्तव्यका रुपमा रहेकाले तिनको साख र पर्यटकीय आकर्षणलाई गुणात्मक फड्को मार्ने सन्दर्भमा संरक्षण, व्यवस्थापन र उपयोगमा जीवजन्तुमैत्री प्राकृतिक वातावरण बनाउन सहकार्य आवश्यक छ ।

नेपाली सेनाले भौतिक पूर्वाधार विकास र निर्माणका क्षेत्रमा राजमार्ग, सडक तथा पुलको निर्माणका कार्यमा विगत लामो समयदेखि योगदान पुु¥याउन सकेको छ । प्रारम्भिक समयमा त्रिशूली–सोमदाङ सडक निमार्णको अभियानसँगै अघि बढेको सेनाको सडक निर्माणको अभियान पछिल्लो समयमा काठमाडौं–तराई द्रुतमार्गको निर्माणको कार्यसम्म आइपुग्दा यस क्षेत्रमा सेनाको कार्य निपुण व्यावसायिक तथा गुणस्तरीय हुन गइरहेको छ। अति विकट तथा कठिन भौगोलिक अवस्था र भौगर्भिक क्षेत्रमा सडक निर्माणको चुुनौतीपूर्ण कार्यमा नेपाली सेनाले काम गरेको छ।

यसको उदाहरणका रुपमा कर्णाली राजमार्गको निर्माणलाई लिन सकिन्छ । कर्णाली प्रदेशका अधिकांश विकट क्षेत्र, विकासका अवसरबाट राज्य र प्रकृतिबाटै हेपिएका जनताको जीवनरेखा, समग्र आर्थिक, सामाजिक रुपान्तरणमा यस्ता राजमार्गको निर्माण र सञ्चालनले विकास एवं एकतालाई जोड्ने सेतुको काम गर्न सकेको छ।

देशका अति विकट भौगोलिक क्षेत्रमा पर्ने सुर्खेत–जुम्ला, नाग्मा–गमगढी, बेंसीसहर–चामे, बाग्लुङ–बेनी–जोमसोम, जोमसोम–कोरला, छिन्चु–जाजरकोट, सल्यान–मुसिकोट, अबुवा–भच्चेक सडक निर्माण सम्पन्न हुनुको श्रेय सेनाको कार्यलाई जान्छ। यस्ता कार्यले समग्र देशको भौतिक पूर्वाधार विकासमा आमूल परिवर्तन र जनताको निम्नतम् आवश्यकता परिपूर्तिका दिशामा थप टेवा दिन्छ भने सन्तुलित प्रादेशिक विकासलाई मद्दत पुग्नेछ।

आन्तरिक सुशासन र पारदर्शिता सबै संगठित संस्थाको प्राथमिक आवश्यकता हो । केही समयअघि संसदीय समितिमा सेनाभित्रका अनियमितता र वित्तीय सुशासनका विषयले प्रवेश पाएको थियो। पछिल्ला समयमा नेपाली सेनाले संस्थागत व्यावसायिकताको मूल्य–मान्यताभित्र रही आर्थिक तथा व्यावसायिक कार्य र उपार्जनका कार्यमा ध्यान दिनुपर्दछ भन्ने कुरामा जनसरोकार रही आएको छ।

विशेषतः सैनिक कल्याणकारी कोषको रकमको यथोचित उपयोगका सन्दर्भमा कल्याणकारी भाव तथा सामाजिक उत्तरदायित्वका तत्वलाई प्राथमिकतामा कार्यक्रम र योजना अघि बढाउन सकिएमा प्रभावकारी हुने थियो। विशुद्ध सैनिक व्यावसायिक चरित्र र संस्थाको गरिमालाई कायम गर्ने सन्दर्भमा उच्च महत्व दिन सक्नुमा सम्बन्धित निकायको व्यवस्थापकीय ध्यान र जिम्मेवारी आवश्यकताको जनअपेक्षा छ ।

नेपाली सेना नेपाली जनताको आस्था र भरोसाको केन्द्रमा रहेको सुरक्षा निकाय हो । विश्वशान्ति र स्थायित्व तथा मानवतावादी विश्वसमाजको लागि संयुक्त राष्ट्रसंघको अभियानको एक महत्वपूर्ण हिस्साका रुपमा नेपाली सेनाले शान्ति स्थापना कार्यमा योगदान दिँदै आएको छ। राष्ट्रिय अखण्डता र स्वाधीनताका लागि नेपाली सेनाको गौरवशाली परम्परा भोलिका दिनमा प्रभावकारी र गुणात्मक हुन सकोस्।

(लेखक कार्की मानवशास्त्री तथा अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्