नयाँ गठबन्धनले एमालेको मिसन ८४ लाई डाइभर्ट गर्दैन : ईश्वर पोखरेल 

140
Shares

काठमाडौं । 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल देशमा सबल राष्ट्रिय शक्ति निर्माण आजको आवश्यकता रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं महानगरपालिका–५ नं वडा कमिटीको १२ औँ अधिवेशन उद्घाटन समारोहपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पोखरेलले सबल राष्ट्रिय शक्तिले नै एजेण्डामा आधारित भएर राष्ट्र, राष्ट्रिय हित, स्वाभिमान, स्वतन्त्रता, अखण्डताको पक्षमा काम गर्ने  बताए । जनताको हक हितको पक्षमा काम गर्न   सवालमा राजनीतिक दल एकजुट भएर जान पर्ने उनको धारणा छ । ‘यसको अगुवाइ नेकपा एमालेले गर्दछ’, उनले भने।

कुनै एउटा पार्टीले बहुमत नल्याउँदा राजनीतिक अस्थिरताको सिलसिला सुरु भएकोले त्यसलाई अन्त्य गर्न नेकपा एमालेले बहुमत ल्याउन आवश्यक रहेको पोखरेलले बताए ।  त्यसैलाई नेकपा एमालेले मिसन २०८४ भनेको उनले प्रस्ट पारे । ‘त्यो बहुमत आर्थिक विकास र समृद्धिको लागि, मुलुकमा राजनीतिक स्थायित्वको लागि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई अगाडि बढाउनको लागि, मुलुकमा सामाजिक सद्भाव कायम गराउनको लागि जरुरी छ’, पोखरेलले भने ।

नयाँ गठबन्धनले मिसन २०८४ लाई डाइभर्ट नगर्ने पोखरेलले प्रस्ट पारे। गठबन्धन मिसन ८४ को लक्ष्यलाई सहयोग पुर्‍याउने गरी एउटा स्टेपको रूपमा रहेको उनले बताए । मिसन २०८४ मा स्पष्ट बहुमत प्राप्त गर्ने लक्षका साथ एमाले अघि बढेको उनले प्रस्ट पारे  । अब एमाले कसैले धोका दिएर धोका नखाने उनले बताए।

मुलुकको राजनीतिक अवस्थालाई सकारात्मक दिशा तर्फ अघि बढाउनु अहिलेको मुख्य काम भएको उनले बताए । त्यसैले एमालेले अहिलेको सत्ता गठबन्धनमा मन्त्रालयको विषयलाई वास्ता नगरेको पोखरेलको भनाइ छ । २०७९ पुस १० गते जुन कुरा एमालेले प्रारम्भ गरेको  त्यही बिन्दुमा उभिएर अहिलेको सहमति अघि बढाएको पोखरेलले प्रस्ट पारे ।