नउपामा विवाद : सुदूरपश्चिम सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता  हुन रञ्जिताको निर्देशन 

952
Shares

 धनगढी। 

नागरिक उन्मुक्ति पार्टीभित्रको किचलो सतहमा आएको छ । रेशम चौधरी र रञ्जिता श्रेष्ठबिचको विवादले पार्टी अर्निणयको बन्दी बनेको छ । रेशम र रञ्जिता पतिपत्नी हुन ।

उनीहरुको विवादले सुदूरपश्चिम सरकार कसको बन्नेमा अन्योल देखिएको छ । सुदूरपश्चिम प्रदेश सभामा नाउपाका जना प्रदेश सभा सदस्य छन् । सरकार बनाउनका लागि उन्मुक्ति निर्णायक शक्ति हो।

केन्द्रमा नाउपा प्रतिपक्षमा बस्ने र प्रदेशमा कमल बहादुर शाह नेतृत्वको सरकारलाई नै समर्थन यथावत राख्ने पक्षमा रेशम छन् भने नयाँ गठबन्धनमा जाने र प्रदेशमा मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडानमा रञ्जिता छिन् ।

यसैबिच शुक्रबारराति रेशमको सहमतिमा मुख्यमन्त्री शाहले नाउपाका थप तीन जना सांसदलाई मन्त्री नियुक्त गरे । उनीहरुले रातीनै शपथ ग्रहण गरेर कार्यभार सम्हालेका छन् ।

उता नाउपा अध्यक्ष रञ्जिताले भने शाह नेतृत्वको सरकार आजै छोड्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएकी छिन ।

पार्टी अध्यक्षसँग कुनै सरसल्लाह नै नगरि शुक्रवार मध्यराती सरकारमा किन गएको भन्दै पार्टी अध्यक्ष चौधरीले संसदीय दलका नेता घनश्याम चौधरीलाई हप्काएर आजै सरकार छोड्न निर्देशन दिएकी हुन ।

अध्यक्ष चौधरीले भनिन, ‘कमल बहादुर शाह नेतृत्वको सरकारबाट फिर्ता हुन निर्देशन दिई सकेकी छु । आज संसदीय दलको बैठक बस्छ र सरकारबाट फिर्ता हुने निर्णय हुन्छ ।’

उनले सरकारमा जाने नजाने बारेमा पार्टी अध्यक्षसँग कुनै छलफल नै नगरिएको बताइन । ‘म बिरामी थिए, तर म सँग कुनै सरसल्लाह नै नगरि मन्त्रीको शपथ खाएका रहेछन् । पार्टी विधि विधानबाट चल्नुपर्छ’ उनले भनिन । ‘आजै सरकारबाट फिर्ता भएको निर्णय हुन्छ ।’

नाउपाका ७ जना प्रदेश सभा सदस्य मध्ये शुक्रबारको सरकार विस्तार पछि ३ जना मन्त्री र १ जना राज्यमन्त्री भएका छन् । शुक्रवार मध्य राती मुख्यमन्त्री कमल बहादुर शाहले उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, रञ्जीताको नजिक मानिएका खुसीराम चौधरीलाई विना विभागीय मन्त्री र ईन्द्रा गिरिलाई भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । उन्मुक्तिका रामेश्वर चौधरी सहित अहिले ४ जना सरकारमा गएका छन् ।

के हो विवाद ?

रेशम र रञ्जिता पतिपत्नी हुन । रेशमका दुई पत्नी मध्ये रञ्जिता जेठी पत्नी हुन । ९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटना पछि रेशम जेलमै भएका बेला नागरिक उन्मुक्ति पार्टीको जन्म भएको थियो ।

जेलमा भएकाले अध्यक्ष बस्न नपाउने भएपछि त्यतीबेला रेशमले श्रीमती रञ्जितालाई पार्टीको अध्यक्ष बनाएर आफू संरक्षक बसे । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा माफी मिनाहा दियो र रेशम जेलमुक्त भए । त्यसपछि उनले २०८० सालको पुस २६ गते टीकापुरमा पार्टीको भव्य महाधिवेशन गरे ।

प्रधानमन्त्री पुुष्पकमल दाहाललाई प्रमुख अतिथि बनाउने गरी आयोजना गरिएको महाधिवेशनमा दाहाल कार्यब्यस्तता भन्दै आएनन् भने रेशमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विशिष्ट अतिथि बनाए ।

महाधिवेशनको निर्वाचन प्रक्रियामा रेशमले अध्यक्षमा एकल उम्मेदवारी हाल्ने भनेपछि रञ्जिता त्यही दिन महाधिवेशन छोडेर गएको कुराले चर्चा पाएको थियो । रेशम निर्विरोध अध्यक्ष भए भने रञ्जिता रिसाएर महाधिवेशन छोडेर गएको चर्चा पछि उनले रञ्जितलाई सह अध्यक्ष मनोनित गरे । तर निर्वाचन आयोगले बिहीबार रेशमको अध्यक्ष पद र महाधिवेशन नै अवैध भन्दै रञ्जिता श्रेष्ठ चौधरी अध्यक्षताको पुरानो कार्यसमितिलाई नै मान्यता दिएको छ । त्यसपछि रेशम अहिले पार्टीको अध्यक्षबाट संरक्षकको भूमिकामा पुगेका छन् ।

रेशम बिहीबार बेलुकी नै धनगढी पुगेका थिए । बिहीबार बेलुकी ६ बजे रुबस होटलमा उनले पत्रकार सम्मेलन राखेका थिए। तर, लगत्तै निर्वाचन आयोगले उनलाई अध्यक्षको मान्यता नदिएको निर्णय आएपछि उनले पत्रकार सम्मेलन नै स्थगित गराएका थिए ।

शुक्रवार रेशम चौधरीले मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर समर्थन यथावत राख्ने र राप्रपाको समर्थन माग्न सुुझाएका थिए । रेशमले, आफ्नो पार्टीका तीन जनालाई मन्त्री बनाई हाले उनीहरु पनि यताउता नहुने भन्दै मुख्यमन्त्री शाहलाई शुक्रवार नै शपथ दिलाउन आग्रह गरेका थिए ।

मुख्यमन्त्री कमल बहादुर शाहसँग काँग्रेसका १८, उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी २६ जनाको समर्थन कायमै रहेको छ । राप्रपाले समर्थन गरे मुख्यमन्त्री शाहलाई बहुमत पुग्छ ।

माओवादी र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् ।

नयाँ सत्ता गठबन्धनसँग अहिले माओवादीका ११, एमालेका १० र समाजवादीका ४ गरी २५ जनाको बहुमत छ । नयाँ गठबन्धनले स्वतन्त्र सांसद डाक्टर तारादत्त जोशी पनि पूर्व एमाले भएकाले समर्थन गर्ने र नागरिक उन्मुक्ति २ जना आउने भएपछि २८ प्रदेश सभाको बहुमत हुने आँकलन गरिरहेको छ ।